प्रहरीले भेटेको १५ किलो सुन एक साता नबित्दै चाँदी भयो

Advertisement

काठमाडौं । प्रहरीले कमलादीमा सुरक्षा जाँच गरिरहेको थियो। त्यही बेला बा.६च ५५१९ नम्बरको सेतो रङको स्कर्पियो प्रहरीले रोक्न खोज्यो। तर गति बढाएर गाडी भाग्यो। प्रहरीले पिछा गर्‍यो। त्यसको सुइँको पाएपछि कपडाको झोला फ्याँकेर गाडी भागेको प्रहरीले जनाएको थियो।

यो घटना गत मंगलबारको हो। तत्काल काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले पत्रकार सम्मेलन गरी १५ किलो सुनसहित हतियार फेला पारेको जानकारी दिए। उनले थप अनुसन्धान भइरहेको बताए। तर, प्रहरीले सुन भनेको धातु पछि जाँच गराउँदा साढे १४ किलो चाँदी पुष्टि भयो। आधा किलो मात्र सुन भएको प्रहरीले बतायो ।

Advertisement

प्रहरीको कडा सुरक्षा भएको ठाउँबाटै गाडी कसरी उम्कियो रु यसमा गम्भीर प्रश्न उब्जिएको छ। प्रहरीकै मिलेमतो भएको हुन सक्ने आशंका गरिएको छ। उक्त घटनाको छानबिन गर्न महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापाको संयोजकत्वमा समिति गठन गरिएको थियो। तर, काठमाडौं प्रहरी प्रमुख ज्ञवाली र अपराध माहाशाखा प्रहरी प्रमुख थापाबीच समन्वय अभावका कारण दोस्रो दिनमै समिति संयोजक फेरिए। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी सुनीलकुमार यादवलाई संयोजक बनाइयो ।

लुटपाटको १० लाख नगदसहित न्युरोडबाट घुमुवा प्रहरीसहितलाई पक्राउ गरेको घटनाको जस कसले लिने भनेर ज्ञवाली र थापाबीच हानथाप रहेछ। त्यही विषयमा उनीहरूबीच समन्वय अभाव थियो। त्यसैले ज्ञवालीको आग्रहमा समितिको संयोजक परिवर्तन गरिएको स्रोतले जनाएको छ। 

अन्नपूर्ण पोष्ट दैनिकबाट । 

Advertisement

Advertisement