सुनको मूल्य प्रतितोला १ लाख पुग्नै लाग्यो, आजपनि प्रतितोला ३ सय रुपियाँ बढ्यो

Advertisement

काठमाडौँ । सुनको मूल्य प्रतितोला १ लाख रुपियाँको नजिक पुगेको छ । केही दिन यता सुनचाँदीको मूल्य निरन्तर उकालो लागि रहेको छ । हिजोको तुलनामा आजपनि सुन प्रतितोला ३ सय रुपियाँ बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९९ हजार ३ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९८ हजार ८ सय ६५ रुपियाँ र चाँदी प्रतितोला एक हजार २ सयमा कारोबार भइरहेको छ । सुनको मूल्य बढे पनि चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रुपियाँ घटेर किनबेच भइरहेको महासंघले जनाएको छ । 

Advertisement

हिजो भने छापावाल सुन प्रतितोला ९९ हजार, तेजावी सुन प्रतितोला ९८ हजार ५ सय ६० रुपियाँ र चाँदी प्रतितोला एक हजार २ सय २५ रुपियाँमा कारोबार भएको थियो । 

किन बढ्दैछ सुनको मूल्य ? 
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले स्थानीय बजारमा पनि त्यसको प्रभाव देखिएको महासङ्घका अध्यक्ष मोहनकुमार सुनारले बताए । अन्तर्राष्ट्रिय बजारमा पनि पहेँलो धातुको मूल्य निरन्तर उकालो लागिरहेको छ । अध्यक्ष सुनारले अन्य क्षेत्रको तुलनामा सुनप्रति लगानीकर्ताको आकर्षण देखिँदा पनि सुनको मूल्य बढेको बताए । दैनिक सुनको मूल्य निरन्तर वृद्धि हुँदै गएपछि कारोबार भने ठप्प भएको छ । 

“नेपाली बजारमा मुख्यतः कोरोनाको असरका कारण कारोबार शून्य भएको हो”, उनले भने । तत्काल सुनको मूल्य घट्ने सङ्केत आफूले नपाएको उनले बताए । देशभरका सुनचाँदी व्यवसायीले सुनको कारोवार ठप्प भएको आफूलाई जानकारी गराएको उनले बताए । “अहिले सुन पसलले ‘बोहोनी’ पनि नभएको बताएका छन्”, अध्यक्ष सुनारले भने ।

Advertisement

Advertisement