काठमाडौंवासीको आशा मेलम्ची फेरि अन्योलमा, प्राविधिक जाँचका नाममा फेरि बर्षौं बित्ने संकेत

Advertisement

काठमाडौँ । ‘कहिले यो दसैं, कहिले अर्को दसैं । कहिले यो आर्थिक वर्ष, कहिले अर्को वर्ष । यो सुन्दा–सुन्दा हामी दिक्क भइसकेका छौं,’ सांसद अनिता देवकोटाले गत बुधबार राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा मेलम्चीबारे प्रश्न गरिन्, ‘सचिवज्यू भन्दिनुस्, पानी आउने दसैं र अर्को आर्थिक वर्ष कहिले आउँछ ?’

राजधानीवासीलाई खानेपानी उपलब्ध गराउने ३० वर्षअघिको सपना पूरा हुनै लाग्दा मेलम्ची सुरुङको ढोकै भत्केपछि सांसद देवकोटाले खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेसँग व्यंग्यात्मक शैलीमा यस्तो प्रश्न राखेकी हुन् ।

Advertisement

परीक्षणकै क्रममा गत असार ३० गते सुरुङको ढोका भत्केर हेलम्बुस्थित मुहानको फ्लसिङ अडिटबाट पानी बाहिर निस्केपछि सांसद मात्र होइन, सर्वसाधारणमा पनि मेलम्चीको पानी अब कहिले आउँछ भन्ने प्रश्न फेरि उब्जिएको छ । खानेपानीमन्त्री विना मगरले अब तत्कालै राजधानीवासीले मेलम्चीको पानी पिउन पाउने घोषणा गरेको १० औं दिनमा सुरुङको ढोका फुट्यो । अब यसको प्राविधिक जाँचमै समय बितिरहेको छ । ढोका खुलेको घटनालाई आधार बनाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कागजपत्र झिकाएर छानबिन सुरु गरेपछि आयोजनाको निर्माण कतिन्जेल अवरुद्ध होला भन्नेमा अन्योल देखिएको खानेपानी मन्त्रालयका अधिकारीले बताए ।

ढोकाको डिजाइन नै परिवर्तन गरेर भित्र खुल्नुपर्नेमा बाहिर खुल्ने बनाउनु दुर्घटनाको पहिलो कारण भएको मन्त्रालयले गठन गरेको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । आयोजनाको २७ किमि सुरुङको अन्य तीन ठाउँमा यस्तै ढोका जडान गरिएको छ । उक्त समितिले डिजाइन, गुणस्तर र जडानमा गम्भीर त्रुटि भएको भन्दै सुरुङका ती ढोकाको पनि जाँच हुनुपर्ने सुझाव दिएको छ । समितिले बनाएको प्रतिवेदन नै अख्तियारले लगेकोले आयोजनाको गुणस्तरमाथि छानबिन हुने सम्भावना देखिएको सरोकारवाला प्राविधिकको भनाइ छ ।

कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement