एनसेलको एनप्याब्सन र प्याब्सनसँग सहकार्यः  अनलाइन कक्षाका लागि विशेष मासिक योजना

काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) र निजी तथा आवासीय विद्यालय संघ (प्याब्सन)सँगको सहकार्यमा कोरोना भाइरसको महामारीले गर्दा विद्यालयहरु बन्द भई अध्ययन अध्यापनमा असर परिरहेको हालको अवस्थामा अनलाइन कक्षा तथा सिकाइका लागि मासिक योजना ल्याएको छ । 

यो योजना अनलाइन कक्षाका लागि एनसेलको मोबाइल कनेक्टिभिटी प्रयोग गर्ने एनप्याब्सन र प्याब्सनको समझदारीका आधारमा ल्याएको हो । यस सहकार्यले विद्यार्थी, शिक्षक तथा शिक्षिका र विद्यालयलाई मोबाइल ब्रोडव्याण्डमा पहुँच सुनिश्चित गर्ने उद्देश्य लिएको कम्पनीले जनाएको छ । 

यस मासिक योजनामा विद्यार्थी तथा शिक्षक तथा शिक्षिकाले भ्वाइस, डेटा र एसएमएसको बन्डल सेवा प्राप्त गर्दछन् । विद्यार्थीले करबाहेक मासिक रु २५० मा अनलाइन कक्षाका लागि आवश्यक पर्ने जुम, गुगल मिट र माइक्रोसफ्ट टिम्स प्रयोगका लागि २० जिबी डेटा, १ जिबी थ्रिजी तथा फोरजी डेटा, २ जिबी फोरजी डेटा, सीयूजी नम्बरमा कल गर्न हरेक दिन १२० मिनेट टकटाइम, ५० मिनेट अन नेट टकटाइम र ५० अन नेट एसएमएस सेवा प्राप्त गर्दछन् । 

यस सहकार्यअनुसार एनप्याब्सन र प्याब्सनको सिफारिस पत्रका आधारमा सम्बन्धित विद्यालयका विद्यार्थी, शिक्षक तथा शिक्षिकाहरूले यो योजनाबाट फाइदा लिन सक्छन् । सिमको स्वामित्व विद्यार्थी वा सम्बन्धित शैक्षिक संस्थाको नाममा राख्न सकिनेछ ।