काठमाडौं महानगरपालिकाभित्र मनोरञ्जन, जलपान, घुमघाममा करोडौं खर्च

Advertisement

काठमाडौं । जनसंख्या, आम्दानी र बजेटका हिसाबले देशको सबैभन्दा ठूलो स्थानीय तह काठमाडौं महानगरपालिकामा आर्थिक बेथिति पनि भयावह छ ।

आर्थिक वर्ष ०७५।७६ मा विनियोजित १२ अर्ब बजेटमध्ये महानगरले करिब ६ अर्ब मात्रै खर्च गर्न सक्यो, त्यसमा पनि झन्डै डेढ अर्ब बेरुजु देखिएको छ । त्यही वर्ष मेयरसहितका पदाधिकारीहरूले कानुनविपरीत पोसाक खर्च बुझ्ने मात्रै होइन, व्यक्तिगत मनोरञ्जनका लागि गरेका घुमघामको खर्च पनि महानगरबाट भुक्तानी गरे । 

Advertisement

आव ०७५।७६ का लागि महानगरले १२ अर्ब चार करोड ११ लाखको बजेट पास गरेको थियो । तर, खर्च भने पाँच अर्ब ९९ करोड ९२ लाख ६० हजार मात्रै भयो । त्यसमा पनि महालेखापरीक्षकको कार्यालयले एक अर्ब ४४ करोड बेरुजु देखाएको छ ।

८४ करोड १३ लाख असुल गर्नुपर्ने, ३५ करोड ११ लाख नियमित गर्नुपर्ने, १३ करोड प्रमाण कागजात पेस गर्नुपर्ने र ११ करोड ६२ लाख पेस्की कायम भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । महानगरको बजेट अनुमान र खर्च व्यवस्थापन क्षमता कमजोर रहेको भन्दै प्रतिवेदनमा भनिएको छ, ‘५० प्रतिशत मात्र खर्च भएको अवस्थाले महानगरको बजेट अनुमान र खर्च व्यवस्थापन क्षमता कमजोर देखियो ।’ 

जलपान खर्चमै डेढ करोड 

महालेखाको प्रतिवेदनअनुसार महानगरले जलपानमा मात्रै नियमविपरीत एक करोड ४२ लाख ७७ हजार खर्च गरेको छ । प्रत्येक वडा कार्यालयहरूबाट वार्षिक दुई लाख, महानगरका हरेक विभागबाट मासिक पाँच हजार र प्रत्येक इकाइबाट मासिक दुई हजारका दरले जलपान खर्च गरिएको छ । विभाग तथा इकाइमा निर्धारित सीमाभन्दा बढी खर्च गरिएको महालेखाले औँल्याएको छ ।

त्यस्तै, मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको सचिवालयले पनि जलपान शीर्षकमा ठूलो रकम खर्च गरेका छन् । जब कि तीनैजनाको सचिवालयमा यो शीर्षकमा खर्चको सीमा निर्धारणसमेत गरिएको छैन । महालेखाले खर्चको सीमा निर्धारण गरेर मितव्ययिता कायम गर्न भनेको छ । 

मनोरञ्जनका लागि गरिएको भ्रमणको खर्च ५२ लाख १९ हजार 

महानगरपालिकाका पदाधिकारी र कर्मचारीले व्यक्तिगत रमाइलोका लागि गरेका घुमघामको खर्चको भुक्तानी पनि महानगरबाट गरिएको छ । त्यसरी ५२ लाख १९ हजार खर्च गरेको देखिन्छ । यसमा महालेखाले गम्भीर प्रश्न उठाएको छ । 

नयाँपत्रिका दैनिकबाट । 

Advertisement

Advertisement