पृथ्वीनारायणको सन्तान भएर ज्ञानेन्द्र शाहले डराउन हुन्न, जनतालाई विश्वास गर्नुपर्छ
फाइल फोटो

Advertisement

काठमाडौं । पब्लिक इनोभेटरको रुपमा परिचित इन्जिनियर दिपेन्द्र कँडेलले विकास र राजनीतिक सुधारको योजनासहित पूर्वराजा ज्ञानेन्द्र शाह जनतामाझ आउनुपर्ने तर्क अघि सारेका छन् । 

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले पृथ्वीनारायण शाहको सन्तान भएर ज्ञानेन्द्र शाहले दलहरु र नेताहरुले के भन्छन् ? भनेर डराउनु हुन्न, जनतालाई विश्वास गर्नुपर्छ भन्दै आमजनता राजसंस्थाकै पक्षमा रहेको बताए । 

Advertisement

भिजनसहित राजा मैदानमा आउने हो भने लाखौं जनता सडकमा आएर समर्थन गर्ने कँडेलको दावी छ । राजा गद्दीमा आउने हो भने हिन्दु सम्राटको रुपमा मात्रै आउन नहुने उनले बताए । कँडेलले विकाससँगै दलहरुले बिकृत बनाएको देशको राजनीतिक अवस्थालाई सुधार गर्ने योजनासहित राजा ज्ञानेन्द्र आउँदा जनताले नै उनलाई गद्दीमा राख्ने कँडेलको विश्लेषण छ । 

उनले भने, ‘नेपालमा धेरै राजनीतिक परिवर्तन भयो, तर जनताले खोजेकोे विकास र शान्ति हो । गणतन्त्र विकासका लागि थियो भने जनताले स्वीकार गर्थे होलान् । तर, विकासका लागि रहेनछ । त्यो कुरा देखिएन् । गणतन्त्र आएको पनि डेढ दशक हुन लागिसक्यो । यो बीचमा विकास हुन लाग्यो भन्ने केही न केही आधार त देखिनुपथ्र्यो । त्यो छैन् ।’

कँडेलले थपे, ‘यदि कसैले काम गरेन भने दुई वटा विकल्पमा मानिसको ध्यान जान्छ, त्यो के भने यो भन्दा पहिलाकोले राम्रो गरेको थियो, नभए नयाँ आउनेले राम्रो गर्छ । नेपालमा नयाँले राम्रो गर्ला भन्दा भन्दै धेरै परीक्षण भइसकेको अवस्था छ । त्यो भन्दा हिजो राजासहितको राजनीतिमा राम्रो थियो भन्ने आम जनताको विश्वास स्थापित देखिन्छ । सामाजिक सञ्जाल हेरियो भने पनि त्यो कुरालाई सहजै अनुमान लगाउन सकिन्छ ।’

राजा ज्ञानेन्द्रले सामाजिक सञ्जालमा गरेका टिप्पणी हेर्दा र जनताले अवसर दिए नेतृत्व लिन तयार छु भनेकाले उनको इच्छालाई उजागर गर्छ भन्दै कँडेल तर उनलाई फर्काउन जनता नै सडकमा आउनुपर्ने बताउँछन् । भारतले वा नेपालका राजावादी हुँ भन्नेहरुले राजालाई राजगद्दीमा फर्काउन नसक्ने उनको विश्लेषण छ । 

राजसंस्था कायम राख्ने विभिन्न मोडलहरु अपनाउन सकिने उनले बताए । तर नेपालमा राजाको विकल्प नरहेको कँडेलले बताए । उनले ज्ञानेन्द्र शाहलाई राजगद्दीमा फर्किने इच्छा हो भने आफ्नो भिजनका साथ जनतामा आउनुपर्ने बताए । राष्ट्रलाई बलियो बनाउने एउटा माध्यम भनेको विकास पनि हो भन्दै उनले राजाले श्रीपेच मात्रै लगाउने इच्छा नगरेर देश र जनतालाई कसरी संवृद्ध बनाउने ? भन्ने सोचका साथ प्रस्तुत हुनुपर्ने तर्क गरे । 

Advertisement

Advertisement