युरोपियन च्याम्पियन्स लिग फुटबल यसैसाता शुरु हुँदै, कसले मार्ला बाजी ?

Advertisement

काठमाडौं । कोरोनाभाइरसका कारण करिब पाँच महिना स्थगित गरिएको युरोपेली च्याम्पियन्स लिग र युरोपा लिग फुटबल यसैसातादेखि पुनः शुरु हुँदैछन् । युरोपेली मुलुकहरुमा कोरोनाभाइरसको महामारी तिब्र भएसँगै दुवै प्रतिस्पर्धा गत मार्चमा एकाएक स्थगित गरिएका थिए । 

युरोपेली फुटबलको सर्वोच्च निकाय (युइएफए)ले युरो–२०२० लाई एक वर्ष पछि सार्ने निर्णय गरे पनि क्लबस्तरीय दुई प्रतिष्ठित प्रतियोगिताहरु च्याम्पियन्स लिग र युरोपा लिगका बाँकी खेल संचालन गर्ने वा नगर्ने अन्यौल थियो । अन्तमा युरोपेली फुटबल महासंघले एउटा जुक्ती निकालेको छ । दुबै प्रतिस्पर्धालाई अब निर्धारित एक रंगशालामा सबै खेल खेलाइनेछ । यी खेलहरुमा दर्शकलाई प्रवेश गराइने छैन ।

Advertisement

च्याम्पियन्स लिग आगामी अगस्ट १२ मा शुरू हुनेछ र अन्तिम आठका सबै खेल पोर्चुगलको लिस्बनमा खेलाइनेछ ।  फाइनल खेल भने अगस्ट २३ मा बेनिफिकाको खेल मैदान एस्टाडियो डा लुजमा हुनेछ । यस्तै, युरोपा लिगका सबै खेल जर्मनीका विभिन्न रंगशालामा यही अगस्ट १० देखि खेलाइनेछ र फाइनल खेल अगस्ट २१ मा कोलोनमा हुनेछ । 

युइएफएका अध्यक्ष अलेक्सान्डर सेफेरिनले अर्को सूचना नभएसम्म दर्शकहरू बिना नै दुबै प्रतिस्पर्धा आयोजना गरिने बताउँदै आफूहरु कुनै जोखिम लिने स्थितिमा नरहेको जानकारी दिए । यसपाली स्पेशनिस क्लब बार्सा र रियल लगायतका क्लबहरु उपाधि दावेदारका रुपमा कायमै छन् । त्यस बाहेक पेरिस सेन्ट जर्मेन(पीएजी), युभेन्टस, म्यानचेष्टर युनाइटेड लगायतका क्लब पनि दावेदार देखिएका छन् ।

Advertisement

Advertisement