मुलुकभर नौ लाख २३ हजार व्यवसायमध्ये आधा थोक र खुद्रा व्यापारी

Advertisement

काठमाडौं । मुलुकमा सञ्चालितमध्ये आधाभन्दा धेरै थोक तथा खुद्रा व्यापार, गाडी तथा मोटरसाइकल मर्मतसम्बन्धी व्यवसाय रहेको तथ्यांकले देखाएको छ । कुल नौ लाख २३ हजार ३५६ वटा प्रतिष्ठानमध्ये झन्डै ५४ प्रतिशत अर्थात् चार लाख ९८ हजार ६९ वटा प्रतिष्ठानले यही क्षेत्रको व्यवसाय गर्छन् । दोस्रो स्थानमा आवास सुविधा तथा खाना व्यवस्थाको क्रियाकलाप रहेको छ । यस क्षेत्रमा कुल एक लाख ३० हजार ५४० वटा प्रतिष्ठान रहेका छन् । यो कुल प्रतिष्ठान संख्याको १४ दशमलव १ प्रतिशत हो । तेस्रोमा औद्योगिक उत्पादन प्रतिष्ठान रहेका छन् । कुल प्रतिष्ठानको ११ दशमलव ३ प्रतिशत यस क्षेत्रमा रहेका छन् । औद्योगिक उत्पादनमा कुल एक लाख ४ हजार ५८ प्रतिष्ठान छन् । 

त्यसपछि क्रमशः चौथोमा शिक्षासँग सम्बन्धित प्रतिष्ठान ४० हजार ८३९ छन् । यो कुल संख्याको ४ दशमलव ४ प्रतिशत हो । पाँचौँमा कृषि, वन तथा माछापालन व्यवसाय आउँछ । कुल व्यवसाय संख्यामा यस क्षेत्रको योगदान २ दशमलव ६ प्रतिशत छ । कुल व्यवसाय संख्या भने २४ हजार २२९ छ । यस क्षेत्रमा दर्ता गरिएका संस्थाको मात्र गणना गरिएको केन्द्रीय तथ्यांक विभागका आर्थिक गणना शाखाका निर्देशक अनिल शर्माले जानकारी दिए । 

Advertisement

नेपालमा सञ्चालित व्यवसायमध्ये करीब एक चौथाइ मात्रै महिलाको स्वामित्वमा रहेको रहेको पनि आर्थिक गणनाले देखाएको छ । नेपालमा सञ्चालित व्यवसायमध्ये दुई लाख ४७ हजार ८८० वटा फर्मका मालिक महिला छन् । यो कुल व्यवसायको २६ दशमलव ८४ प्रतिशत हो । देशमा सञ्चालनमा रहेका व्यवसायमध्ये आठ लाख ३० हजार ५९७ वटा निजी स्वामित्वमा छन् । आर्थिक गणनाले देशभर पुरुषको स्वामित्वमा पाँच लाख ८२ हजार ७१७ वटा व्यवसाय रहेको देखाएको छ । यो निजी स्वामित्वमा व्यवसायको ७० प्रतिशत हो ।

नयाँपत्रिका दैनिकबाट । 

Advertisement

Advertisement