पुनः लकडाउनले देश वर्वादीतर्फ धकेलिन्छः व्यवसायी

Advertisement

काठमाडौं । सरकारले पुनः लकडाउन गर्न लागेको चर्चा चलेसँगै व्यवसायी भने त्यसको विपक्षमा उभिएका छन् । व्यवसायीहरुले पुनः लकडाउन गर्न नहुने बरु स्वयं व्यवस्थापनका उपाय खोजिनुपर्नेमा जोड दिएका हुन् ।  नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले पुनः लकडाउन विकल्प हुनै नसक्ने बताए ।

उनले एक हप्ता राजश्व नउठ्दा देश चलाउन नसक्ने अवस्था रहेकाले पनि पुनः लकडाउनमा जान नसकिने स्पष्ट पारे । ‘लकडाउन समस्याको समाधान हो भन्ने सरकारलाई लाग्छ भने गरोस्, पाँच दिन राजश्व नउठ्दा सरकार चल्नै नसक्ने अवस्था छ, त्यसकारण हामीले कोरोनासँग बाच्न सिक्नुपर्छ, सरकार कडा हुनुपर्छ, नागरिक सचेत हुनुपर्छ’, श्रेष्ठले भने । उनले बाटोमा अंगालो मार्दै हिड्नेहरुलाई सरकारले कारवाही गर्नुपर्नेमा पनि जोड दिए । 

सार्वजनिक सवारी साधनहरुमा पनि मानिस कोचिएर हिड्न दिनु नहुने पनि बताए । ‘पुनः लकडाउन विकल्प होइन, नलगाउनु पर्ने समयमा लकडाउन लगाइयो, ३ जना संक्रमित हुँदा लकडाउन भयो, लगाउने बेलामा खोल्यो, मध्य बैशाख वा जेठको पहिलो हप्ताबाट मात्रै लकडाउन गरेको भए हुने थियो’, श्रेष्ठले भने । उनले आवश्यक पूर्व तयारी नगरि सरकारले हतारमा लकडाउन गरेको आरोप पनि लगाए । 

महासंघका केन्द्रिय सदस्य तथा नाडा अटोमोबाइल एसोसियसनका अध्यक्ष कृष्ण दुलालले पनि कुनै हालतमा पुनः लकडाउन गर्न नहुने बताए । ‘कुनै पनि हालतमा पुनः लकडाउन हुनुहुन्न, उल्टो बाटोमा हिड्नु हुन्न, देश बर्वादीतर्फ जान्छ, आर्थिक स्थिति खत्तम हुन्छ, सरकारले एक पटक कर उठाएर पुग्दैन्, देशलाई अन्धकारतिर धकेल्नु हुन्न, पुनः लकडाउन नगरि सचेत भएर अघि बढ्नुपर्छ’, दुलालले कर्पाेरेट नेपालसँग भने । 

महासंघका अर्का कार्यसमिति सदस्य तथा बस्तुगत संघ तर्फका उपाध्यक्ष उम्मेदवार अञ्जन श्रेष्ठले पनि पुनः लकडाउन गर्नै नहुने बताए । ‘पुनः लकडाउनले सम्पूर्ण अर्थतन्त्रलाई ब्रेकडाउन गराउन सक्दछ, लकडाउनलाई स्वस्फुर्त रुपमा स्वयं व्यवस्थापन गर्ने तर्फ लागौं । सम्पूर्ण जनमानस सचेत होऔं । जागरुकताका साथ स्वास्थ्य र सुरक्षाको उपाय अवलम्बन गरौं ।’, श्रेष्ठले आफ्नो ट्वीटरमा लेखेका छन् । 

सरकारलाई जनस्वास्थ्य विदहरुले लकडाउन गर्न सुझाव दिईरहेका बेला उद्यमी व्यवसायीहरु भने त्यसको विपक्षमा उभिएका हुन् । पुनः लकडाउन गर्दा देश वर्वादी तर्फ धकेलिन सक्ने चेतावनी पनि उद्यमी व्यवसायीहरुले दिएका छन् । स्वास्थ्यका मापदण्ड पुरा गर्ने, अनावश्यक भिडभाड कम गर्ने उपाय अपनाएर कोरोनासँग जुध्दै अघि बढ्नुको विकल्प नभएको निष्कर्ष पनि उनीहरुले निकालेका छन् ।

Advertisement

Advertisement

Advertisement