बजेट र मौद्रिक नीतिमा गरिएको व्यवस्था कार्यान्वयन गर्न अर्थमन्त्रीले दिए निर्देशन

Advertisement

काठमाडौँ । उच्चस्तीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट बक्तव्य एवं मौद्रिक नीतिमा उल्लिखित व्यवस्था कार्यान्वयनका विषयमा आज छलफल भएको छ । 

अर्थ मन्त्रालयमा आज भएको छलफल घरेलु साना तथा मझौला उद्यम एवं कोरोना प्रभावित पर्यटन व्यवसायमा श्रमिक–कर्मचारीको पारिश्रमिक भुक्तानी र व्यवसाय सञ्चालनका लागि खडा गरिने कोषका विषयमा केन्द्रित रहेको थियो । 

Advertisement

अर्थमन्त्री डा युवराज खतिवडाको अध्यक्षतामा भएको छलफलमा नेपाल राष्ट्र बैंकबाट सञ्चालनमा आउने पुनर्कर्जा कोषको व्यवस्थापन र सञ्चालन, लघु बीमा तथा कोरोना रोगको बीमासम्बन्धी विषयलाई प्रमुख प्राथमिकतामा राखिएको अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

सरकारी ऋणपत्रको अभौतिकीकरण एवं दोस्रो बजार कारोवार तथा नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्स्चेञ्ज तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडको पुनःसंंरचना, सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि एवं हेजिङसम्बन्धी नियमावली संशोधनका विषय समावेश गरिएको अर्थ मन्त्रालयले जनाएको छ । 

नेशनल पेमेन्ट गेटवे सञ्चालनलगायत विषयको यथासीघ्र कार्यान्वयनका लागि सबै निकायले आआफ्नो जिम्मेवारीको कार्य सम्पन्न गरी अर्को बैठकमा प्रगति उपस्थित हुने बारेमा अर्थमन्त्री डा खतिवडाले निर्देशन दिएका छन् ।  

सबै निकायले गत वर्षको समीक्षासहित चालू आवको शुरुआती प्रगतिका बारेमा बैठकमा जानकारी गराएका थिए । बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर, सचिव (राजश्व), धितोपत्र बोर्डका अध्यक्ष, बीमा समितिका अध्यक्ष, नेपाल बैंकर्स सङ्घका अध्यक्ष, सहकारी विभागका रजिष्ट्रार तथा कम्पनी रजिष्ट्रार कार्यालयका रजिष्ट्रारलगायत पदाधिकारीको उपस्थिति थियो ।

Advertisement

Advertisement