‘उर्जाशील जनशक्ति मुलुकभित्र राख्न नसक्नु सरकारको मात्रै होइन, निजी क्षेत्रको पनि कमजोरी हो’

Advertisement

काठमाडौं । उद्यमी सौरभ ज्योतिले उर्जाशील युवा जनशक्तिलाई मुलुकभित्रै राख्न नसक्ने सरकारको मात्रै नभएर निजी क्षेत्रको पनि कमजोरी भएको बताएका छन् । 

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले भने, ‘हामीले हाम्रो उत्पादनमूलक जनशक्तिलाई बाहिर पठाउन जब सुरु गरियो । त्यो गलत थियो । यसमा सरकारको पनि कमजोरी छ । र निजी क्षेत्रको पनि कमजोरी छ । हामी उत्पादन बढाउने, आत्मनिर्भर हुने, व्यापार घाटा कम गर्ने कुरा गर्छौं भने युवाहरुलाई स्वदेशमै रोजगारी दिने वा स्वरोजगार बन्ने बाताबरण बनाउनुपथ्र्यो । 

Advertisement

नेपाल उद्योग बाणिज्य महासंघको आसन्न निर्वाचनमा एशोसियट उपाध्यक्षको उम्मेदवार रहेका ज्योतिले नेपालमै काम गर्ने, पुँजी सिर्जना गर्ने बाताबरण बनाएको भए युवाहरु पलायन हुने अवस्था हुन्थेन भने । पलायन हुन नदिनु थियो, भइहाल्यो, उनीहरुले नै पठाएको रेमिटान्सले कुल ग्राहस्थ उत्पादन (जीडीपी)मा २८ प्रतिशत योगदान दिइरहेको अवस्थामा, त्यो लगानी र युवाहरुले सिकेको सीप नेपालमा लगानी गर्न सकेको भए त्यसले अर्थतन्त्रमा निकै ठूलो महत्व राख्थ्यो भन्दै उनले त्यो नहुन नसकेकोमा आफूलाई दुःख लाग्नेगरेको बताए । युवा पलायनले नोक्सान राज्यलाई मात्रै नभएर निजी क्षेत्रलाई भइरहेको उनले स्वीकार गरे । 

व्यवसायिक घराना ज्योति समूहका एक सक्रिय सदस्य सौरभले युवा भनेको यो देशको सबैभन्दा ठूलो सम्पत्ति हो भन्दै तर, त्यो सम्पत्तिको पहिचान हुन नसकेको बताए । उनले अन्य मुलुकमा भन्दा धेरै युवा जनशक्ति नेपालमा रहे पनि उनीहरुलाई स्वदेशमै राखेर सिर्जनात्मक एवं उद्यमशील कार्यमा लगाउनुको सट्टा रेमिटान्सको लोभमा बाहिर पठाउनु गलत थियो भने । 

सौरभ ज्योतिले रेमिटान्सले अर्थतन्त्र धान्नखोज्नु राम्रो होइन् भन्दै आफ्नै अर्थतन्त्र बलियो बनाउन निजी क्षेत्र बलियो हुनुपर्ने र सरकारले यस क्षेत्रलाई विश्वास गर्नुपर्ने बताए । उनले भने, ‘युवाहरुलाई बिदेश नपठाउनु पठाइहाल्यो, यदि पठाउने हो भने सीप सिकाएर दक्ष बनाएर पठाउनुपर्यो । त्यो गर्दा रेमिटान्स आयमा गुणात्मक वृद्धि हुन्छ । जाने युवाहरुको आय पनि राम्रो हुन्छ । किन हामी डाक्टर इन्जिनियर उत्पादन गरेर पठाउन सक्दैनौं ? किन हामी अर्धदक्ष र अदक्ष कामहरुहरु पठाइरहेका छौं ?’

व्यवसायी सौरभ ज्योतिले कोरोनाको विश्वव्यापी महामारीका कारण विदेशिएका युवाहरु झण्डै डेढ लाख युवाहरु फर्किएको र अरु पाँच लाख फर्किने अनुमान गरिएको सन्दर्भमा उनीहरुले सिकेको सीप र कमाईलाई नेपालमा लगानी गर्ने बाताबरण भने सरकारले बनाउनुपर्ने बताए । त्यसमा उद्योग बाणिज्य महासंघले पनि सहजीकरण गर्नुपर्ने बताउँदै यसका लागि आफूहरु तयार रहेको उनले बताए । 

युवाहरु फर्किने कुरालाई समस्याको रुपमा हेर्न नहुने ज्योतिको भनाई छ । उनले उत्पादनमूलक क्षेत्रबाहेक पूर्वाधार विकासदेखि प्रविधिका क्षेत्रमा नेपालले धेरै काम गर्न बाँकी रहेको बताउँदै युवा जनशक्तिलाई त्यसलाई कसरी परिचालन गर्ने ? भन्नेतर्फ राज्यको ध्यान जानुपर्छ भने ।  ज्योतिले भने, ‘म के भन्न चाहान्छु भने युवा भनेको यो देश बनाउने भीभीआईपीहरु हुन् । उनीहरुलाई लक्षित गरेर सरकारले धेरै योजना बनाएको छ । धेरै कुरा दिन्छु भनेको छ । त्यो कुराहरु अब कार्यान्वयन हुनुपर्छ । उनीहरुलाई सकेसम्म काम गर्न बाहिर जान बाध्य बनाउनु हुन्न । मुलुकमै बस्न प्रोत्साहन सबैले गर्नुपर्छ ।  

 
 

Advertisement

Advertisement