बंगलादेशको आर्थिक विकास प्रसंसनीय छ, हामीले पनि तपाईंहरुबाट सिकेका छौंः अर्थमन्त्री

Advertisement

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले बंगलादेशले राम्रो आर्थिक विकास गरेको भन्दै उसको प्रसंशा गरेका छन् । नेपालका लागि बंगलादेशकी राजदूत मास्फी बिन्ते साम्ससँगको कुराकानीमा उनले आफूहरुले पनि बंगलादेशको विकासलाई आत्मसाथ गरेको बताए । 

आफ्नो ७ वर्षे कार्यकाल पूरा गरी बंगलादेश फर्कन लागेकी बिन्तेसँग कुरा गर्दै खतिवडाले नेपालले पनि धेरै विषयहरुलाई बंगलादेशबाट आत्मसाथ गरी आर्थिक विकासको गति अघि बढाईरहेको बताए । लघुवित्त, वित्तीय साक्षरता, वित्तीय पहुँच, मोवाइल बैंकिङको विस्तारमा नेपालले बंगलादेशबाट धेरै सिकेको खतिवडाको भनाई छ । 

Advertisement

अर्थमन्त्रीले कोभिड– १९ ले ल्याएको चुनौति र अवसरलाई मध्यनजर गरी सहयोगका नयाँ क्षेत्रमा सहकार्य गर्न उनले राजदूत साम्ससँग आग्रह पनि गरे । नेपाल र बंगलादेश बीच ५ दशकभन्दा लामो सम्बन्ध रहेको र द्विपक्षीय व्यापार, उर्जा र लगानीका विविध आयाममा दुवै देश बीच सहकार्य भइरहेको बताउँदै खतिवडाले दुवै देश प्राकृतिक, मानव संशाधन लगायतका स्रोतबाट सम्पन्न भएकोले यसको उपयोगबाट द्रुत आर्थिक विकास गर्न सकिने बताए । 

अर्थमन्त्री खतिवडाले नेपाल र बंगलादेशले अतिकम विकसित मुलुकको मञ्च, सहस्राब्दी विकास लक्ष्य र दिगो विकास लक्ष्य निर्माणको चरणमा सहकार्य गरेको स्मरण पनि गरे । अन्तर्राष्ट्रिय र क्षेत्रीय सवालमा समान धारणा राख्ने राष्ट्र भएकोले दुवै देशबीच सहकार्य र साझा विषयमा हातेमालो गर्दै अगाडि बढ्नुपर्नेे उनले बताए । 

खतिवडाले दुवै देशले विपद् व्यवस्थापन, जलवायु परिवर्तन, श्रमिकको सुरक्षा, बसाईसराई, मानवीय सहयोग, श्रम व्यवस्थापन र शरणार्थीको व्यवस्थापन जस्ता विषयमा सहयोग र सहकार्य गर्नसक्ने अवस्था रहेको बताए । उनले सार्कको माध्यमबाट क्षेत्रीय सहयोग तीव्र गतिमा अघि बढाउन समान भाषा र संस्कृति भएका नेपाल, भारत, बंगलादेश र भुटान बीचको उपक्षेत्रीय इकाई महत्वपूर्ण हुन सक्ने बताए । 

राजदुत साम्सले बंगलादेश नेपालसित क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चमा संगै अघि बढ्ने बताइन् । उनले दुई देशबीच व्यापार, उर्जा सहयोग, लगानी लगायतका क्षेत्रमा सहकार्य गर्न आवश्यक रहेको धारणा राख्दै सहुलियतपूर्ण र सौविध्य प्राप्त व्यापारको माध्यमबाट समृद्धिका लागि कार्य गर्न सकिने बताइन् । 

वातावरणीय संवेदनशिलता सम्बन्धी मञ्च, कोलम्बो मञ्च, सगरमाथा सम्बाद जस्ता मञ्चको उपयोग गरी द्विपक्षीय हितमा कार्य गर्न अनुरोध गर्दै उनले नेपाल बंगलादेश बीचको पाँच दशक लामो साझेदारी र सहकार्यलाई थप सुदृढ गर्न सकिने बताइन् । 

Advertisement

Advertisement