निगमले किस्ता तिर्न सकेन्, संस्था सुधार्न कार्यकारी अध्यक्ष बनाइएका घिमिरे सरकार गुहार्दै

Advertisement

काठमाडौं । कोभिड–१९ सङ्क्रमणका कारण नियमित उडान बन्द भएपछि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको आम्दानी मात्र घटेको छैन जहाज खरिदका लागि लिएको ऋणको किस्ता दायित्वले थप समस्यामा परेको छ ।

पछिल्लोपटक गत पुस मसान्तमा त्रैमासिक किस्ता तिरेको निगमले त्यसयता सम्झौताअनुसार तिर्नुपर्ने दुईवटा त्रैमासिक किस्ता तिर्न सकेको छैन । अझै थप केही दुई/तीनवटा किस्ता समयमै तिर्न नसकिने अवस्थाबाट समेत ध्वजावाहक गुज्रिएको छ ।

Advertisement

उडान नहुँदा किस्ता तिर्नै समस्या भएपछि निगमले अर्थ मन्त्रालयसमक्ष पाँचवटा जति किस्ता भुक्तान गरिदिनसमेत प्रस्ताव गरेको छ । निगमले कर्मचारी सञ्चय कोषलाई तिर्नुपर्ने किस्ता सरकारले लिएर त्यसबाट निगममा स्वामित्व बढाओस् भन्ने ढङ्गबाट मन्त्रालयमा प्रस्ताव लगिएको निगमका कार्यकारी अध्यक्ष सुशील घिमिरेले बताए ।

सरकारले केही किस्ता तिरिदिए त्यसपछि आफ्नै आम्दानीबाट तिर्नसक्ने अवस्था रहने उनले बताए । तत्कालका लागि हाम्रा ‘डिफल्ट’ किस्ताहरू चाहिँ नेपाल सरकारले आफ्नो हिस्सामा लिएर आफ्नो ‘इक्विटी’ निगममा बढाओस् भन्ने चाहेको हो, उनले भने।

जहाज खरिदसहित सरकार तथा अन्य निकायबाट समेत गरेर निगमले ३७ अर्ब रुपियाँभन्दा बढी ऋण लिएको छ । यसमध्ये ठूलो रकम जहाज खरिदकै छ । अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका एयर बस कम्पनीका दुई थान न्यारोबडी (ए ३२०) जहाज र पछिल्लोपटक थपिएका एयर बसकै दुई थान वाइडबडी जहाज (ए ३३०) गरी निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट करिब ३४ अर्ब रुपियाँ ऋण लिएको थियो ।

न्यारोबडी जहाजका लागि निगमले सञ्चय कोषबाट वार्षिक १०.५० प्रतिशत ब्याज दरमा आठ अर्ब ८७ करोड १६ लाख रुपियाँ ऋण लिएको थियो । यस हिसाबले न्यारोबडी जहाजको वार्षिक ब्याज दायित्व मात्रै ९३ करोड १५ लाख रुपियाँ हुन आउँछ । सावाँ र ब्याजसमेत गरेर मासिक किस्ता ११ करोड रुपियाँ न्यारोबडीकै ऋणबापत बुझाउनुपर्ने दायित्व निगमको छ ।
वाइडबडी जहाजका लागि सञ्चय कोषसँगै १०.५० प्रतिशत ब्याजमा निगमले ११ अर्ब ९९ करोड ६१ लाख रुपियाँ ऋण लिएको थियो । यस हिसाबले वार्षिक ब्याज नै एक अर्ब २५ करोड रुपियाँ हुन आउँछ । त्यस्तै अर्को वाइडबडी जहाजका लागि नागरिक लगानी कोषसँग वार्षिक १०।५० प्रतिशत ब्याजमा १२ अर्ब रुपियाँ ऋण लिएको थियो जसको वार्षिक ब्याज एक अर्ब २६ करोड रुपियाँ हुन आउँछ ।

यी दुवै वाइडबडी जहाजको सावाँ र ब्याजसमेत गरेर मासिक किस्ता करिब २१ करोड रुपियाँ हुन आउँछ तर निगमले त्रैमासिक रूपमा किस्ता बुझाउँदै आएको छ ।

Advertisement

Advertisement