सम्वन्ध चिस्सिएको बेला भारतीय सेनाले नेपाली सेनालाई दियो १० आईसीयु भेन्टिलेटर उपहार

Advertisement

काठमाडौं । भारतीय सेनाले नेपाली सेनालाई १० वटा आईसीयु भेन्टिलेटर उपहारस्वरुप दिएको छ । जंगी अड्डामा आइतबार आयोजित कार्यक्रममा ती उपकरणहरु हस्तान्तरण गरिएको हो । 

कार्यक्रममा भारतीय राजदूत विनयमोहन क्वात्रा पनि जंग्गी अड्डा पुगेका थिए । सो अवसरमा क्वात्रा र सेनापति पूर्णचन्द्र थापाबीच भेटवार्ता पनि भएको थियो । विद्यमान विश्वव्यापी महामारी कोभिड–१९ विरुद्घ लड्न सहयोग पुर्याउने प्रयासअनुरुप भारतीय सेनाले नेपाली सेनालाई दशवटा आइसीयु भेन्टिलेटर उपहार स्वरुप प्रदान गरेको भारतीय दूतावासले जनाएको छ । नेपाल र भारतका सेनापतिहरु एकअर्को देशको मानार्थ सेनापति रहने व्यवस्था छ । 

Advertisement

एडभान्स्ड इन्भेसिभ तथा नन् इन्भेसिभ रेस्पिरेटरी सर्पोटका लागि यी भेन्टिलेटरहरु व्यापक रुपमा प्रयोग गर्न मिल्ने गरी डिजाइन गरिएको जनाइएको छ । यी भेन्टिलेटरहरु अस्पतालका आइसीयु, बहु–विशेषतायुक्त अस्पताल तथा विशेष आइसीयु कक्षमा बिरामीको हेरचाहका लागि प्रयोग गर्न सकिन्छ । यसबाहेक विशेष तरिकाले निर्माण गरिएकाले गम्भीर अवस्थाका र सघन उपचार आवश्यक पर्ने बिरामीहरुको ओसारपसारमा यी भेन्टिलेटरहरु सहज र उपयोगी रहेको जनाइएको छ ।

नेपाल भारतबीच सीमा विवादका कारण सम्वन्ध चिस्सिएको बेला भारतीय सेनाले सहयोग गरेको हो । नेपाली सेनालाई मानवीय सहायता तथा राहतका लागि पहिलो सहयोगीको रुपमा लामो समयदेखि भारतीय सेनाले नेपाली सेनालाई सहयोग गर्दै आएको जनाउँदै भारतीय दूतावासले दुई देशका सेनाबीच रहिआएको निरन्तर मानवीय सहयोग अन्तर्गत उक्त भेन्टिलेटरहरु उपहार स्वरुप प्रदान गरिएको जनाएको छ । 
 

Advertisement

Advertisement