काठमाडौंमा दैनिक सय जना संक्रमित थपिन थालेपछि सरकारले खाली भवन खोज्न थाल्यो

Advertisement

काठमाडौं । उपत्यकामा कोरोना संक्रमण भयावह हुन थालेपछि बल्ल स्वास्थ्य मन्त्रालय आइसोलेसन सेन्टर व्यवस्थापनमा जुटेको छ । काठमाडौं, भक्तपुर र ललितपुरमा दिनमा एक सय जनाभन्दा बढी संक्रमित देखिएपछि आइसोलेसनका लागि खाली भवन खोज्न थालिएको हो । मन्त्रालय सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार पहिला तोकिएका आइसोलेसन भरिएपछि कीर्तिपुरको आयुर्वेद अस्पतालमा क्षमता विस्तार गरेर दुई सय शय्या तयार गरिएको छ ।

त्यहाँ चार दिनअघिसम्म २० जना मात्रै संक्रमित राख्ने गरिएको थियो । ‘यो पनि भरियो भने वरिपरिका अरू खाली भवनमा समेत बेड व्यवस्था गरेर संक्रमित राख्ने योजना छ,’ अधिकारीले भने ।

Advertisement

आयुर्वेद अस्पतालको कोरोना संक्रमित व्यवस्थापन टोलीका संयोजक डा. जितेन्द्र श्रेष्ठका अनुसार कीर्तिपुर नगरपालिकाले क्वारेन्टाइन बनाएको भवनमा आइसोलेसन बनाइएको हो । क्वारेन्टाइन खाली हुनेबित्तिकै वाईफाई, पानी, बत्तीको व्यवस्था गरेर लक्षण नभएका संक्रमितलाई आइसोलेसनमा राख्ने प्रबन्ध मिलाइएको थियो । तीनतले भवनको पहिलो र दोस्रो तलामा संक्रमितलाई राखिएको छ । भवनमा महिलाका लागि ४ वटा र पुरुषका लागि ८ वटा मात्रै शौचालय छन् । कार्यालय प्रयोजनका लागि बनाइएको यो भवनमा बाथरुम एउटा पनि छैन । 

कान्तिपुर दैनिकबाट । 

Advertisement

Advertisement