सरकार भाग्यमानीः प्रतिकुल अवस्थामा पनि रेमिटान्स आय उत्साहजनक

Advertisement

काठमाडौं । कामका लागि नेपाली युवा जाने गन्तव्य मुलुकहरूमा पनि कोरोना महामारी फैलिएपछि रेमिटेन्स आय २० प्रतिशतसम्मले घटने अनुमान गरिए पनि एक गैरसरकारी तथ्यांकले ३ प्रतिशतभन्दा बढीले गिरावट नआउने देखाएको छ। वैदेशिक रोजगारीका लागि खाडी मुलुक, मलेसिया, दक्षिण कोरियालगायत मुलुकमा गएका नेपाली युवाको रोजगारी कोरोना महामारीका कारण खोसिएको, तलब र सुविधा घटेको र कतिपय अलपत्र परेको कारण देखाउँदै अर्थशास्त्रीले रेमिटेन्स आय २० प्रतिशतसम्म घट्ने दाबी गरेका थिए। कोरोनाबाट अहिले विश्वका सबैजसो मुलुक प्रभावित छन्।  

गैरसरकारी संस्था नेपाल रेमिटर्स एसोसिएसनको तथ्यांकले रेमिटेन्समा ३ प्रतिशतभन्दा बढी गिरावट नआउने देखाएको छ। एसोसिएसनका अध्यक्ष सुमन पोखरेलले आर्थिक वर्ष २०७६÷७७ को अन्तिम महिना असारमा पनि ८० अर्ब रुपैयाँ रेमिटेन्स आउने देखिएको जानकारी दिए। ‘अहिलेसम्म एसोसिएसनले राखेको सामान्य तथ्यांकअनुसार अन्य महिनासरह असारमा पनि  रेमिटेन्स आएको देखिएको छ,’ अध्यक्ष पोखरेलले भने, ‘यथार्थ र पूर्ण विवरण भने चाँडै नै राष्ट्र बैंकले प्रकाशित गर्नेछ।’ राष्ट्र बैंकले केही ढिलो गरी हरेक महिनाको अर्थतन्त्रको अवस्थाबारे विवरण सार्वजनिक गर्छ। राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले आर्थिक वर्ष २०७६÷७७ को असार महिनाको वित्तीय सूचक सार्वजनिक हुने क्रममा रहेको जानकारी दिए।  

Advertisement

अध्यक्ष पोखरेलले कोभिडको समस्या आएलगत्तै सबैले रेमिटेन्स घट्ने अनुमान गरे पनि अहिले त्यस्तो अवस्था नरहेको बताए। ‘सुरुमा अलि धेरै नै रेमिटेन्स घट्ने अनुमान गरिएको थियो,’ उनले आइतबार भने, ‘पछिल्लो विवरण हेर्दा थोरैले मात्र घट्ने देखिएको छ।’  

कोभिड समस्या आउनुअघि आर्थिक वर्ष ०७५÷७६ मा ८ खर्ब ७९ अर्ब रूपियाँ रेमिटेन्स भित्रिएको थियो। आव ०७६÷७७ को जेठसम्म ७ खर्ब ७३ अर्ब रूपियाँ रेमिटेन्स भित्रिसकेको छ। असारमा ८० अर्ब रूपियाँ रेमिटेन्स भित्रिए गएको आवमा ८ खर्ब ५३ अर्ब रूपैयाँ रेमिटेन्स आउनेछ। यो अघिल्लो वर्षको तुलनामा २६ अर्ब रुपियाँ मात्र कमी हो। यस्तै प्रतिशतमा तुलना गर्दा २.९५ मात्र कम हो।  

कोरोना महामारी फैलिएलगत्तै लकडाउन सुरु गरिएपछि १५–२० प्रतिशतसम्म रेमिटेन्समा कमी आउने अनुमान सम्बद्ध संस्था र विज्ञहरूको थियो। 

नागरिक दैनिकबाट । 

Advertisement

Advertisement