चीनको उदयलाई रोक्न नेपाललाई कक्पिट बनाउने पश्चिमी मान्यतालाई नेपालका दलहरुले बुझेनन्

बेलायतपछि अमेरिकी उपनिवेशको यात्रामा जानलाग्यो भारत

प्राडा युवराज सँग्रौला

अन्तर्राष्ट्रिय परिस्थितिमा परिवर्तनका छाँँटकाँट देखिन थालेका छन् । किताव नपढी, दुनियाँले भोगिरहेका तथ्य र तथ्यांकको विश्लेषण नगरी, आफ्नो र अरुका परिस्थितिको तुलना नगरी, तथा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय आवश्यकताको बारेमा राम्रो अन्वेषण नगरी, विश्वको राजनीति कता जाला ? र त्यसले नेपालको भूरणनीतिक अवस्थामा कस्तो असर पार्ला ? भन्ने कुरा यकिन गर्न सकिन्न । केही यथार्थता अहिले प्रकट भएका छ्न् । जस्तैः

१. भारतीय राजनीति र कुटनैतिक सम्बन्धका क्षेत्रमा दुइटा धारहरु प्रष्ट भइसकेका छ्न् । जयशंकरको पश्चिम भक्तीमा आधारित रणनीति र मोदिलगायतका कतिपय मानिसको राष्ट्रियता र एसिया निकटको नीतिका बीचमा टक्करको अवस्था देखिएको छ । भारत फेरि एउटा गल्तीको फट्को मार्दैछ । अब बेलायतबाट अमेरिकी उपनिवेशको यात्रा हो भारतको ।

२. नेपालमा अहिले अमेरिका र चीनको सम्बन्धको बाक्लो प्रभाव निर्माण भएको छ । नेपालमा चीनको कूटनैतिक, व्यापारीक र अन्य सबै सम्बन्धको अवस्था उन्मुलन हुनुपर्छ भन्ने अमेरिकी रणनीति हो । त्यसैले जुन १ २०१९ को इन्डोप्यासिफिक प्रतिवेदनमा नेपालका परराष्ट्र मन्त्रीको ठूलो फोटोसहित अमेरिकी इन्डोप्यासिफिक कमान्डका कमान्डरको नेतृत्वमा नेपालसँग स्थल सेना (ल्याण्ड आर्मी) निर्माण गर्ने दुई चरणको छ्लफल भएको कुरा उल्लेख छ । यति छलफल हुनु नै (यदि भएको हो भने) नेपालले असंलग्नताको सिद्धान्त वा नीति छोडेको मान्यता निर्माण गरेको ब्याख्या हुनसक्छ ।

३. एमसीसीको सम्झौतामा भारतलाई एकलौटी विद्युत बिक्री गर्ने प्रावधान र भारतको पश्चिमसँगको गठबन्धन निर्माण हुने संभावनाले देश अब अमेरिकी प्रवाहमा बग्ने हो भन्ने शंका उत्पन्न हुनु स्वाभाविक हो। हामीले भारत र चीनका बीचमा सन्तुलन गर्न सिकिसकेका छौं । तर चीन र अमेरिका बिचमा सन्तुलन गर्ने हाम्रो अनुभव छैन । र क्षमता पनि छैन् । कतै यस्तो नहोस, यस सन्तुलनमा नेपाल चीनको दृष्टिकोणमा परंरागत छिमेकी स्थानबाट हटेर चीनेले मोनिटरिङ गर्ने देशको हैसियतमा पुगोस् ।

४. अन्तर्राष्ट्रिय सम्बन्धका मान्यताहरु बद्लिएका छन् । मैले मेरो पुस्तक जिओइकोनोमिक्समा पश्चिम केन्द्रीत मान्यताको खण्डन गरेको छु । पावरका आधारमा कुटनैतिक सबन्धको व्याख्या गर्ने युरो–अमेरिकी प्रणाली उपनिवेशी÷प्रभुत्ववादी प्रणाली नै हो । यसले विश्वलाई सधैं विभाजन गर्दै आएको छ ।

५. मैले भनेको छु, हाम्रो जमिन वा भूगोल हाम्रो समस्या होइन् । हाम्रो जमीन वा हाम्रो भूगोललाई आफ्नो रणनीतिक उद्देश्यका लागि प्रयोग गर्ने विदेशी शक्तिको गलत नियत हाम्रो समस्या हो । हामीले अहिलेसम्म नबुझेको कुरा पनि यही हो । सीमाना जोडिएका छिमेकीसँगको सम्बन्ध ब्यबस्थापन गर्न हामीले जानेका छौँ।  भारत र चीनको प्रतिस्पर्धामा हामी जोगिन सक्छौं । तर, एउटा हामीसँग सीमाना जोडिएको र अर्को हामीसँग सीमाना नजोडिएको देशसँगको प्रतिस्पर्धाको ब्यबस्थापन कसरी गर्छौं ?

६. यदि भारत र अमेरिकाको गठबन्धन बन्ने हो भने भारत र अमेरिका एकातिर र चीन एकातिर हुँदा हाम्रो एक चीन नीति र तिब्बत चीनको अभिन्न अङ्ग हो भन्ने मान्यतालाइ कसरी कायम राख्छौं ? अमेरिकी तिब्बत कानुनलाई कसरी ब्यबस्थापन गर्छौं ? भारतको दबाबको पक्षमा अमेरिका इन्डोप्यासिफिक रणनीतिसहित उभिदां हाम्रो सन्तुलनको नीति के हुन्छ ?

हाम्रा सामुन्ने चुनौती थुप्रै छ्न् । इतिहासको अध्यनबाट पश्चिमले साम्राज्यबादी नीति बदेलेको देखिदैन् । भारतले सधैं नेपालको स्वतन्त्रता उस्को ‘निर्देशन’मा चल्नुपर्छ भन्ने मान्यता राख्दै आएको छ । हामी यस मान्यतालाई स्वीकार गर्न सक्दैनौ । भारतको वैदेशिक सबन्ध बेलायती उपनिबेशले ग्रहण गरेका सिद्धान्त भन्दा फरक छैन । नेपालको इतिहास दुईसय बर्षदेखि निरन्तर अपमानित छ । नेपालको आन्तरिक राजनीति भारत र पश्चिमी देशले विभाजित गरेको जातीय बिभाजनद्वारा प्रभावित छ । नेपालको संबिधान बन्दा भारतले आफ्नो भूमिका खोज्ने प्रयास नेपालको स्वतन्त्रता उसले निर्देश गरेअनुसार चल्नुपर्छ भन्ने मान्यताबाटै निर्देशित थियो । र, पश्चिमी मान्यता चीनको उदयलाई रोक्न नेपाललाई कक्पिट बनाउने परिपन्चबाट निर्देशित थियो । तर, नेपालका राजनीतिक दलले यस यथार्थता बुज्नु आवश्यक देखेनन् । हामीले हाम्रो अवस्थाको पुनरावलोकन गर्नु आवश्यक छ ।