बैंकहरुको कर्जा लगानीमा सुधार आउन थाल्यो

Advertisement

काठमाडौं । गएको साता बैंकहरुको कर्जामा केही सुधार देखिएको छ । नेपाल बैंकर्स एशोसियशनले पछिल्लो समय वाणिज्य बैंकहरुको कर्जा लगानीमा सामान्य वृद्धि भएको जानकारी दिएको हो । 

बैंकर्स एशोसियशनका कार्यकारी निर्देशक अनिल शर्माका अनुसार महामारी र लकडाउनका कारण बैंकहरुमा तरलता बढ्ने तर कर्जा नबढ्ने स्थितिमा केही सुधार आएको हो । यसमा क्रमिकरुपमा सुधार आउने आशा बैंकहरुको रहेको बताए । 

Advertisement

संघका अनुसार साउनको तेस्रो साता बैंकहरूको कर्जा लगानी पाँच अर्ब रुपियाँले बढेको छ। साउन २३ गतेसम्ममा २७ वाणिज्य बैंकहरूको कर्जा लगानी २८ खर्ब ७१ अर्ब रुपियाँ रहेको छ । अघिल्लो साता यस्तो कर्जा लगानी २८ खर्ब ६६ अर्ब रुपियाँ थियो।

पछिल्ला दिनहरुमा असुलमा भइरहेको सुधारले कर्जा नबढेको देखिए पनि अब भने विस्तारै कर्जा बढ्न थालेको बेंकहरुको भनाई छ । बैंकहरुले आपूर्तिको तुलनामा माग कम भएको भन्दै ब्याजदर घटाएर एकल अंकमा झारेका थिए । 

त्यस्तै, समीक्षा अवधिमा कर्जामा सुधार देखिएको बेला निक्षेप संकलनमा कमी आएको छ । यद्यपि निक्षेप संकलनको वृद्धि दर साउनदेखि नै कमी आउन थालेको हो । बैंकहरुमा तरलता उच्च रहेको बेला साउन तेस्रो साता बैंकहरुको निक्षेप संकलन ११ अर्ब रुपियाँले घटेको हो । तथ्याँक अनुसार साउन २३ गतेसम्ममा बैंकहरुको कुल निक्षेप ३४ खर्ब ७६ अर्ब रुपियाँ रहेको छ । 

Advertisement

Advertisement