स्टक डिलरलाई सेयर बजारमा बाटो खुल्यो, यस्ता छन् सेयर किनबेच गर्न पाउने सर्तहरु

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले स्टक डिलर कार्य सञ्चालन सम्बन्धी कार्यविधि जारी गरेको छ । भदौ १ गतेदेखि लागु हुने कार्यविधि अनुसार पहिलो स्टक डिलर कम्पनीका रुपमा नागरिक स्टक डिलर कम्पनीले सेयर बजारमा प्रवेश पाउँदैछ । नेपालको पुँजी बजारको विकासका लागि कोशेढुंगाका रुपमा हेरिएको स्टक डिलरको प्रवेश र त्यसलाई व्यवस्थित गर्न कार्यविधि ल्याईएको हो । 

कार्यविधिले कस्ता कम्पनीका कति सेयर खरिद गर्न पाउने लगायतका स्पष्ट व्यवस्थाहरु अघि सारिदिएको छ । जस अनुसार स्टक डिलर कम्पनीले २० करोड भन्दा कम चुक्ता पुँजी भएका कम्पनीहरुको सेयर किनबेच गर्न पाउने छैन् । त्यस्तै, न्युनतम एक हजार कित्ता सेयर किनबेच गर्नैपर्नेछ । त्यस्तो कम्पनी विगत ३ वर्षदेखि निरन्तर नाफामा भएको हुनुपर्नेछ भने न्युनतम १० हजार जना लगानीकर्ता सहभागी रहेको कम्पनी हुनुपर्नेछ । 

 यस्ता छन् अरु सर्तहरु 
एक वर्षको कारोबार दिनमध्ये कम्तिमा पनि ८० दिन कारोबार भएको हुनुपर्नेछ । न्युनतम २० करोड चुक्ता पुँजी भएको कम्पनी हुनुपर्नेछ । यस्ता कम्पनीहरुको सेयर किनबेच गर्ने अनुमित मागेर नेप्सेमा निवेदन दिनुपर्छ । नेप्सेमा कम्तिमा ५० लाख रुपैयाँ धरौटी राख्नुपर्नेछ । धरौटीको अधिकतम २५ गुणासम्म मात्रै कारोबार गर्न सकिनेछ । दैनिक रुपमा आफ्नो नेटवर्थको अधिकतम ६० प्रतिशतसम्म मात्रै कारोबार गर्न सक्नेछन् । 

८ अर्ब भन्दा बढी चुक्ता पुँजी भएका कम्पनीहरुको अधिकतम ५० हजार कित्तासम्म सेयर किनबेच गर्न पाउनेछन् । पाँच अर्बदेखि ८ अर्बसम्म चुक्ता पुँजी भएका कम्पनीहरुको अधिकतम ४० हजार कित्तासम्म सेयर किनबेच गर्न पाउनेछन् । २ अर्बदेखि ५ अर्बसम्म चुक्ता पुँजी भएका कम्पनीहरुले अधिकतम ३० हजार कित्तासम्म सेयर किनबेच गर्न पाउनेछन् ।

एक अर्बदेखि २ अर्बसम्म चुक्ता पुँजी भएका कम्पनीहरुको अधिकतम २५ हजार कित्ता, ५० करोडदेखि एक अर्बसम्म पुँजी भएका कम्पनीहरुको २० हजार कित्ता, २० करोडदेखि ५० करोडसम्म पुँजी भएका कम्पनीहरुको अधिकृतम १० हजार कित्ता सेयर मात्रै किनबेच गर्न पाउनेछन् । 
पहिलो स्टक डिलर
नेपालकै पहिलो स्टक डिलरका रुपमा आउन लागेको नागरिक स्टक डिलरका प्रबन्ध सञ्चालक इन्द्र कुमार कट्टेलले आगामी १५ दिनभित्रै कारोबार थाल्ने बताए । पाँच अर्ब चुक्ता पुँजी रहेको कम्पनीले धितोपत्र बोर्डबाट अनुमति लिएर नेप्से र सीडीएसमा सिस्टम इन्टिग्रेशनको काम गरिरहेको छ ।

 ५ अर्ब छ । कम्पनीमा नागरिक लगानी कोषको ५१ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको १० प्रतिशत र नेपाल टेलिकमको ९ प्रतिशत सेयर स्वामित्व रहेको छ । ३० प्रतिशत लगानी भने सर्वसाधारणका लागि छुट्याईएको छ । सर्वसाधारणले आइपीओ मार्फत ३० प्रतिशत सेयरमा लगानीको अवसर पाउनेछन् । कम्पनीले केहि वर्षभित्रै ५० अर्बको पोर्टफोलियो बनाउने लक्ष्य तय गरेको छ ।