बेलायत-नेपाल व्यापार तथा लगानी मञ्चको स्थापना

Advertisement

लण्डन । बेलायतका उद्यमी, व्यवसायी र लगानीकर्ताहरुको यही अगस्त ५ र १० (साउन २१ र २६ गते) तारिख लण्डनमा बसेको बैठकले युके–नेपाल व्यापार तथा लगानी मञ्च गठन गरेको छ । 

संयुक्त अधिराज्यको हाउस अफ लड्र्सका सांसद तथा अल पार्टी पार्लियामेन्ट्री ग्रुप फर नेपालका उपाध्यक्ष लर्ड शेखको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको सोमबार लण्डनस्थित नेपाली राजदूतावासले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ । 

Advertisement

मञ्चको उपाध्यक्षहरुमा लर्ड करण विलिमोरिया, भिस्काउण्ट वेभर्ली, महन्तबहादुर श्रेष्ठ, भगवानजी चौहान र रवीन्द्रजङ्ग लामिछाने रहेका छन् । महासचिवमा आतम सन्धु र कोषाध्यक्षमा विकास नेपाल रहेका छन् । मञ्चको संरक्षकमा बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी छन् । 

सोमबार आयोजित उद्घाटन कार्यक्रममा राजदूत डा सुवेदीले आर्थिक विकासका लागि नेपाल सरकारले लगानीमैत्री नीति कार्यान्वयन गरिरहेको भन्दै युके–नेपाल व्यापार तथा लगानी मञ्च बेलायत र नेपालबीच व्यापार, व्यवसाय र लगानीको प्रवद्र्धनमा कोसेढुङ्गा सावित हुने विश्वाससमेत व्यक्त गरे । 

समारोहमा मञ्चका नवनिर्वाचित अध्यक्ष तथा बेलायती सांसद लर्ड शेखले मञ्चका माध्यमबाट नेपालमा बेलायती लगानी भित्र्याउने र बेलायतमा नेपालको व्यापार अभिवृद्धि गर्ने दिशामा सकारात्मक योगदान गरी नेपालको आर्थिक विकासमा सहयोग पु¥याउन प्रतिबद्ध रहने बताए । उनले लण्डन अन्तर्राष्ट्रिय व्यापार र लगानीको प्रमुख केन्द्र रहेको भन्दै नवगठित मञ्चद्वारा नेपालका व्यवसायीको सम्पर्क र सम्बन्ध बेलायतीसहित अन्तर्राष्ट्रिय व्यापारी र उद्यमीसँग गराउँदै नेपाल सरकारको व्यापार, वाणिज्य तथा लगानीसम्बन्धी नीति तथा कार्यक्रम बेलायतका व्यवसायी र लगानीकर्तासम्म पु¥याउने काममा मञ्च प्रयत्नशील रहने बताए । 

युके–नेपाल व्यापार तथा लगानी मञ्चले आगामी सेप्टेम्बर महिनाको तेस्रो साता नेपालको व्यापार र लगानीमा केन्द्रित रही एक विशेष कार्यक्रम आयोजना गर्ने सोच रहेको उल्लेख गरेको छ ।

Advertisement

Advertisement