दुईचार पैसा चन्दा फ्याक्दैमा परोपकारी भइदैनः भीम उपाध्याय

Advertisement

सरकारले अनाथ वा अपाङ्गलाई राम्ररी हेर्ने गरेको भए पुष्पा जस्ति समाजसेवीहरू आफ्नो गृहस्थी छाडेर किन तम्सिनु पर्थ्यो र ? लहैलहैमा भावुकतावस उत्ताउलो बन्न खोज्ने, असंवेदनशील सरकारी निकाय र अधिकारीहरू, कसैको हजार सत्कार्य नदेखेर एउटा मात्र गल्ती पाउँदा केके न रडॉको मच्चाउने, तर आफू चैँ त्यस्ता परोपकारी काम गर्न हिम्मत गर्न नसक्ने, दुईचार पैसा चन्दा फ्याक्दैमा कति न ठूलै महान परोपकारी काम गरेँ भन्ठान्नेहरूको पछिपछि जनता कुद्नु झन् वाक्कलाग्दो छ ।
 
खटेर काम गर्नेहरूको अगाडि गफ गर्नेहरूको जबसम्म बोली बिकिरहने छ, नेपाली समाज परोपकारी हुने कुनै गुन्जायस हुने छैन । 

शिला झैँ खोज्नुपर्ने केही सीमित त्यागी असल मान्छेहरूका पछि चियो गर्दै लागेर छिद्र वा खोट खोज्दै हिड्नु हिनभावनाग्रस्तहरूको चरित्र हुन्छ । आफू सिन्को नभाच्ने, केही गर्न पनि नसक्ने, तर अरूको काममा पनि खोट मात्र खोजी रहने समाजले मानिसलाई अघि बढाउन र परोपकारी काम गर्न प्रोत्साहित गर्दै गर्दैन । हजार असल काम गरिरहेको मान्छेको एउटा भए पनि खोट खोज्दै शैतानीकरण गर्ने र हजार खराबी गर्नेको एउटा राम्रो कामलाई देवत्वकरण गर्ने समाज प्रगतिशील हुँदैन, भएको मानिदैन ।

Advertisement

समाज कृतघ्न बन्ने तिर जानबाट रोक्नैपर्छ, कृतज्ञ बन्न प्रोत्साहित गर्दै रहनुपर्छ । मिडियाको कुरालाई सीमाभित्र राखेर  मनन् गर्नुपर्छ । छापिएका, बोलिएका, भनिएका देखाईएका सबै कुरालाई सतप्रतिश सत्य ठानेर मत बनाउन हुँदैन । असलको संरक्षण तथा जगेर्ना गर्नुपर्छ । समाजमा उपयोगी र असल बन्नका लागि सबैलाई सबैले  प्रोत्साहित गरिरहनुपर्छ ।

अहिले सोसल मिडियाले गर्दा सामान्य कुरालाई एम्प्लिफाई गरिदिएर ठूलो पर्सेप्सन बनाउने गर्छ । समाजमा यस्ता हजारौँ घटना भइरहेका हुन् विगतदेखिनै । गल्ती सबैबाट हुन्छ, नियत र मनसाय असल रहेको गल्ती क्षम्य हुन्छ पनि । गल्ती अनुसारको सजाय दिन सकिन्छ, तर जिम्मेवार समाजसेवीहरूलाई नचाहिदो निरूत्साहित पार्न हुँदैन । त्यसले समाजलाई र आफैँलाई बढी खति गर्छ । पुष्पाजीले गर्दै आएको आमाको जिम्मेवारीको काम अरूले गर्न सक्ने खालको पनि छैन । यहॉ दर्जन बच्चाहरूले अकस्मात आमा गुमाएका छन् । यसमा बच्चाको दोष छैन, आमा त आमा नै हो नि । 

आमाबिहीन बच्चाको कल्पना गरौँ अनि बल्ल हामीमा मानवता जाग्नेछ । गल्तीका कारण आमा र बच्चाहरूको नाता र जिम्मेवारी टुट्न पाउनु त  हुदैन नि । आमालाई बच्चा फिर्ता दिएर बच्चाहरूलाई आमा पुनः दिलाउनु सबै नेपालीको कर्तब्य र धर्म हो । जिम्मेवार समाज त्यही हुन्छ । 

नेपालमा कसैको एउटा सानो गल्ती भेटियो भने उसले गरेको हजार वटा राम्रो कामको वास्ता नगरेर खेद्नु खेदिन्छ । बदमासहरूले हजार वटा नराम्रा काम गरेर पनि एउटा राम्रो काम गर्यो भने वाहवाह गर्दै पुज्नु पुजिन्छ । यसलाई निरूत्साहित गर्नैपर्छ । 

अब अरू नियमित कानुनी कार्यवाही हुँदै गरोस् तर बच्चाहरू आमालाई तत्काल फिर्ता दिइनुपर्छ । सरकारी जागिरेले परोपकारी संस्था चलाउनै सक्दैन । यसका लागि परोपकारी भावना, त्याग, बात्सल्य, ममता, मातृभाव, जीवन उत्सर्ग गर्ने क्षमता र गुण भएको ब्यक्तित्वको खॉचो पर्छ । यस्ता कामहरू प्राविधिक वा पैसाका कुरा हैनन्, सेवाभाव, मानवीय भावना, संवेदना र संगठन संचालन क्षमताको विषय हुन् ।

एउटा बच्चा जन्माएपछि न्युनतम २० वर्षको सघन हेरचाह, शिक्षा, पालनपोषण, निरन्तरको गाईडेन्स गर्नुपर्ने दीर्घकालीन प्रोजेक्ट बन्छ । बिहे गर्ने, बच्चा जन्माउने वा अर्काका १ दर्जन बच्चा अपनाएर, पालेर, हुर्काएर,  सक्षम,  शिक्षित नागरिक बनाएर ससम्मान बॉच्न सिकाउँदै हिम्मतका साथ समाजमा शिर ठाडो पारेर जीवन जिउन तयार पार्ने लरोतरो चानचुने काम हैन । मानिसलाई जीवन जिउन सक्षम बनाउने कामको बारेमा चर्चा गर्दा हावामा कोही कुद्नु हुँदैन ।

(उपाध्याय नेपाल सरकारका अवकाश प्राप्त सचिव हुन् ।)

Advertisement

Advertisement