आइपीओमा ‘बुक बिल्डिङ्ग’ लागु, प्राथमिक बजारमा नयाँ युग, यस्ता छन् बिशेषता

काठमाडौं । नेपाल  धितोपत्र बोर्डले आइपीओमा ‘बुक बिल्डिङ्ग’ लागु लागु गरेको छ ।  बोर्डले धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम २५ग को व्यवस्था बमोजिम बुक बिल्डिङ्ग विधिबाट प्रारम्भिक सार्वजनिक निष्काशन गर्न सक्ने व्यवस्था अघि सारेको हो । बोर्ड सञ्चालक बोर्डको मिति साउन २२ गतेको बैठकले बुक बिल्डिङ्ग निर्देशिका, २०७७ लागू गर्ने निर्णय गरेको हो ।  यसले नेपालको प्राथमिक सेयर बजारमा नयाँ युगको आरम्भ गर्ने बोर्डका सहायक प्रवक्ता रुपेश केसीले बताए । 

अब उत्पादनशिल क्षेत्रका राम्रा कम्पनीहरुलाई आइपीओ निष्काशनमा आकर्षित गर्न सकिनेछ । एक सय रुपैयाँमै आइपीओ जारी गनुपर्ने बाध्यताबाट राम्रा कम्पनीहरुले मुक्ति पाएका छन् भने एफपीओको मूल्य निर्धारणको विवादबाट नियामक र निष्काशन गर्ने कम्पनीले पनि छुटकारा पाउनेछन् । कतिपय कम्पनीहरु एक सय रुपैयाँमा सेयर निष्काशन नगर्ने भन्दै बसिरहेका थिए । अब भने उनीहरुलाई पनि पुँजी बजारमा भित्र्याउने बाटो खुलेको पनि सहायक प्रवक्ता केसीले कर्पाेरेट नेपालसँग भने । 

यस्ता छन् बिशेषता
-   संगठित संस्थाले निष्काशन तथा विक्री प्रबन्धकको परामर्शमा धितोपत्रको अनुमानित मूल्य तथा मूल्यांकनको आधार र औचित्य समेत खुलाइएको प्रारम्भिक विवरणपत्र तयार गरी योग्य संस्थागत लगानीकर्तासँग छलफल कार्यक्रम संचालन गर्नुपर्ने छ ।
-   न्यूनतम १० योग्य संस्थागत लगानीकर्तासँग खरिद गर्न चाहेको न्यूनतम धितोपत्र संख्या, खरिद आशय मूल्य तथा मूल्यांकनको आधार सहित प्रारम्भिक विवरणपत्रको सम्बन्धमा सुझाव प्राप्त गर्नुपर्ने छ । 
-    संगठित संस्थाले योग्य संस्थागत लगानीकर्ताबाट प्राप्त आशय मूल्यको अध्ययन गरी आधार मूल्य तय गर्नुपर्ने र उक्त आधार मूल्यमा २० प्रतिशत थप गर्दा कायम हुने मूल्य माथिल्लो सीमा र २० प्रतिशत घटाउदा कायम हुने मूल्य तल्लो सीमा हुने गरी मूल्य सीमा निर्धारण गर्नुपर्ने छ ।
-    बोर्डमा धितोपत्र दर्ता भई योग्य संस्थागत लगानीकर्तालाई निष्काशन गर्न तयार गरेको धितोपत्रको मूल्य सीमा सहितको विवरणपत्र स्वीकृत भएपश्चात् योग्य संस्थागत लगानीकर्तालाई बोलकबोल मार्फत् धितोपत्र निष्काशन गर्नुपर्ने छ ।
-    कुनै एक योग्य संस्थागत लगानीकर्ताले निष्काशित धितोपत्रको २० प्रतिशतभन्दा बढी धितोपत्रको लागि बोलकबोल प्रस्ताव पेश गर्न नपाइने तथा कबोल गरेको शत प्रतिशत रकम तोकिएको निष्काशन बैंक खातामा जम्मा गर्नुपर्ने वा आवेदकको बैंक खातामा रोक्का राख्नुपर्ने वा गुड फर पेमेन्ट चेक पेश गर्नुपर्ने छ ।
-    स्टक एक्सचेञ्जले स्वचालित विद्युतीय बोल कबोल (विडिङ्ग) प्रणाली संचालन गर्नुपर्ने र स्वचालित विद्युतीय बोलकबोल प्रणाली संचालनमा नआउञ्जेल संगठित संस्थाले सिलबन्दी बोलकबोलमार्फत् धितोपत्रका लागि आवेदन माग गर्न सक्नेछ ।
-   योग्य संस्थागत लगानीकर्तालाई निष्काशित धितोपत्र पूर्ण रुपमा बिक्री हुदाँ कायम हुने मूल्य (कट अफ मूल्य) निर्धारण गरी कट अफ मूल्य र सो भन्दा माथिल्लो मूल्यमा कबोल गर्ने सबै आवेदनकर्ताहरुलाई माग बमोजिमको धितोपत्र कट अफ मूल्यमा बाँडफाँड गर्नुपर्ने, कट अफ मूल्यमा आवेदन गर्ने लगानीकर्तालाई माग बमोजिमको धितोपत्र बाँडफाँट गर्न नपुगेमा समानुपातिक रुपमा बाँडफाँट गर्नुपर्ने तथा बाँडफाँटमा नपरेको रकम बाँडफाँट भएको तीन कार्य दिनभित्र आर्जित व्याजसहित फिर्ता गर्नुपर्ने वा खाता फुकुवा गर्नुपर्ने छ ।
-   सर्वसाधारण लगानीकर्तालाई कट अफ मूल्यमा १० प्रतिशत छुट दिई धितोपत्र निष्काशन गर्नुपर्ने छ ।
-    सर्वसाधारणले धितोपत्र खरिदका लागि आवेदन दिने र बाँडफाँट हुने धितोपत्र संख्या न्यूनतम ५० कित्ता हुने छ ।