महासंघको सदस्यहरुलाई अपील– महामारी नियन्त्रणमा सरकारको मात्रै भर नपरौं, सबै लागौं

Advertisement

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघले कोरोना भाइरस (कोभिड १९) महामारी नियन्त्रणमा सरकारको मात्रै भर नपर्न र आफ्नो तर्फबाट पनि लागिपर्न आफ्ना सदस्यहरुलाई आव्हान गरेको छ । 

विश्वव्यापी महामारीको रुप लिएको कोभिड–१९ का कारण नेपाल पनि पछिल्लो पटक निकै प्रभावित बन्दै गएको भन्दै महासंघले दिनप्रतिदिन यो फैलिने र मृत्यु हुनेहरुको संख्या बढिरहेको बेला सरकारको एक्लो प्रयासले मात्रै नियन्त्रण संभव नहुने बताएको छ । 

Advertisement

महासंघले भनेको छ, ‘कोरोना संक्रमितहरूको संख्या दिनानुदिन बढ्दै गएको छ भने मृत्यदर पनि निकै बढेको सबैमा विदितै छ । एकाध जिल्लालाई छोडेर सबै जिल्लाहरूमा यसको संक्रमण तेज गतिमा बढी रहेको छ । खासगरी काठमाडौं उपत्यका, तराईका मोरङ, पर्सा बाँके, धनुषा, स्याङजा लगायतका धेरैवटा जिल्ला र नगरहरू अहिले यसको उच्च जोखिममा छन् भने अन्य जिल्लाहरू पनि आक्रान्त हुंदैछन् । यसले मुलुकवासीको स्वास्थ्य सुरक्षा निकै पेचिलो बन्दै गएको छ भने अर्कोतिर हाम्रो अर्थतन्त्रमा पनि यसले गम्भीर धक्का लागेको छ । महामारीको संवेदनशील घडीमा सबैभन्दा पहिलो प्राथमिकता स्वास्थ्य सुरक्षा नै भएको कुरामा दुईमत छैन । जनताको स्वास्थ्य सुरक्षाका लागि कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रण गर्न संघीय, प्रदेश र स्थानीय तीनै तहका सरकारहरू यतिखेर निरन्तर क्रियाशिल रहेका छन् । महामारीको यो समयमा सरकारको मात्र भर नपरी हामी सबैका तर्फबाट पनि हाम्रो उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राखी काम गर्नैपर्छ ।’

कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले चालेका जति पनि कार्यक्रम, योजना, घोषणा छन्, तिनलाई सफल कार्यान्वयनमा लैजान हामी सबैले आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्नुपर्ने टड्कारो आवश्यकता देखिएको उसको तर्क छ । सरकारले गरेका सबै पहललाई आफ्नो तर्फबाट सक्दो सहयोग गर्न आफूहरु प्रतिवद्ध रहेको भन्दै महासंघले मुलुकभरि नै रहेको आफ्नो संजाललाई संक्रमण नियन्त्रणका लागि सरकारले चालेका सबै कार्यक्रमहरूमा परिचालन गर्ने प्रतिवद्धता जनाएको छ । 

महासंघले आफ्ना सबै सदस्यहरूलाई अहिलेको यो अति नै संवेदनशील अवस्थामा सरकारको मात्र भर नपरी आ–आफ्ना तर्फबाट आ–आफ्ना क्षेत्रमा सक्दो सहयोग गर्न आग्रह गरेको छ । महासंघ, संक्रमणबाट ग्रसित भई हाल उपचार गराईरहनु भएका सम्पूर्ण दाजुभाई दिदी बहिनीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै संक्रमणबाट मृत्यु भएका आफन्तजनहरूप्रति हार्दिक समवेदना समेत व्यक्त गर्दछ । 
 

Advertisement

Advertisement