साधारण सभाबाट स्वाप रेसियो पास भएसँगै सेयर कारोबार खुल्ने

Advertisement

काठमाडौं ।  दुई संगठित संस्थाहरुले साधारण सभाबाट सेयर स्वाप रेसियोसहित मर्जर तथा प्राप्तिमा जाने निर्णय गर्ने वित्तिकै दुबै कम्पनीको छुट्टा छुट्टै सेयर कारोबार खुलाउने प्रस्ताव नेपाल धितोपत्र बोर्डले गरेको छ । र एकिकृत कारोबार गरेको सात कार्यदिन भित्र संयुक्त सेयर कारोबार हुने व्यवस्था पनि बोर्डले अघि सारेको छ ।

नेपाल धितोपत्र बोर्डले सूचीकृत संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिकाको मस्यौदा मार्फत स्वाप रेसियोसहित मर्जर तथा एक्जिजिशनमा जाने निर्णय साधारण सभाबाट गर्ने वित्तिकै दोश्रो बजारमा सेयर कारोबार खोल्ने र एकिकृत व्यवसायीक कारोबार थालेको एक साताभित्रै संयुक्त सेयर कारोबार खुल्ला गरिसक्ने व्यवस्था अघि सारेको हो । 

बोर्डका सहायक प्रवक्ता रुपेश केसीका अनुसार हालसम्म एकिकृत व्यवसायीक कारोबार आरम्भ गरेको १५ दिनभित्र सेयर कारोबार खुल्ला गर्नुपर्ने व्यवस्था थियो ।  मर्जर वा एक्विजिशनमा जाने कम्पनीहरुले प्रारम्भिक सम्झौता(एमओयु)मा हस्ताक्षर गरेपछि  सेयर कारोबार रोक्का हुने र एकिकृत व्यवसायीक कारोबार थालेको १५ दिनभित्र सेयर कारोबार खुला हुने व्यवस्था छ । बोर्डले त्यस्तो व्यवस्थामा पनि सुधार प्रस्ताव गरेको छ ।

हालसम्म एमओयु देखि एकिकृत व्यवसायीक कारोबारका लागि करिब ९ महिना लाग्ने गरेको र सो अवधीमा सेयर कारोबार रोक्का हुने गरेको थियो । तर अब भने करिब २ महिना मात्रै सेयर कारोबार रोक्का हुने गरि निर्देशिकाको तयारी गरिएको पनि केसीले कर्पाेरेट नेपाललाई जानकारी दिए । हालसम्म मर्जर,एक्विजिशनमा जानका लागि प्रारम्भिक सम्झौता गरेपछि मात्रै डीडीए गर्दा हुने व्यवस्था थियो । तर अब भने एमओयु भन्दा अघि नै सम्बन्धीत कम्पनीहरुले आ आफ्नो डीडीए गरिसक्नुपर्नेछ । अर्थात डीडीए गरेपछि मात्रै मर्जर।एक्विजिशनको छलफल अघि बढाउन पाइनेछ । 

त्यति मात्रै होइन, अब मर्जर तथा एक्विजिशनमा जाने कम्पनीहरुको स्वाप रेसियो पनि धितोपत्र बोर्डबाट स्वीकृत गराउनुपर्नेछ । संसार भर सूचिकृत संगठित संस्थाहरुको स्वाप रेसियो धितोपत्रको नियमन निकायलबाट स्वीकृत गराउनुपर्ने व्यवस्था रहेको र सोही अनुसार नेपालमा पनि प्रस्ताव अघि सारिएको पनि केसीले बताए ।  यसअघि बैंक तथा वित्तिय संस्थाहरुको स्वाप रेसियो नेपाल राष्ट्र बैंक र बीमा कम्पनीहरुको स्वाप रेसियो बीमा समितिले हेर्ने गरेको थियो । अन्यका हकमा त्यस्तो कुनै व्यवस्था थिएन् । ‘सूचिकृत संस्थाहरुको मर्जर तथा एक्विजिशन प्रक्रियालाई सहज र पारदर्शी बनाउन निर्देशिका अघि सारेका हौं, यसले लामो समयसम्म सेयर कारोबार रोकिने समस्याको हल गर्नेछ’, बोर्डका सहायक प्रवक्ता केसीले भने । 

Advertisement

Advertisement

Advertisement