राजश्व बोर्डको अध्यक्षमा महेश दाहाल नियुक्त, राजश्व परामर्श समिति खारेज

Advertisement

काठमाडौं । सरकारले राजश्व बोर्ड गठन गरेको छ । बोर्डको गठन आदेश पास भएसँगै सोमबार बसेको मन्त्रिपरिषद बैठकले पूर्व सचिव महेश प्रसाद दाहाललाई बोर्डका अध्यक्षमा नियुक्त गरेको हो । सरकारका प्रवक्ता समेत रहेका सञ्चार मन्त्री डा. युवराज खतिवडाले बोर्डको सदस्यमा पूर्व सह सचिव निर्मलहरी अधिकारीलाई नियुक्त गरेको जानकारी पनि दिए । अधिकारी हाल राष्ट्रिय बाणिज्य बैंक सञ्चालक समितिको अध्यक्ष पनि छन् । राजश्व बोर्डले अब राजश्व प्रशासनका काम कारवाही, भावी सुधार योजना, करका दर दायराका बिषयमा अध्ययन गरेर सरकारलाई सुझाव दिनेछ । 

पूर्व अर्थ सचिव डा. शान्तराज सुवेदीले राजश्व बोर्ड गठन गर्ने निर्णय राम्रो भएको तर त्यसलाई अध्ययन र सुझाव दिने अधिकारमै सिमिति गरिएको बताए । ‘परिकल्पना गरिएको भन्दा एक तह कमजोर र अहिलेको अवस्था भन्दा एक तह माथीको बोर्ड गठन भएको छ, यो सकारात्मक कुरा नै हो,’, पूर्व अर्थ सचिव सुवेदीले भने ।

स्थायी संरचनाका रुपमा गठन गरिएको बोर्डले अब राजश्व परामर्श समितिलाई विस्थापन गरेको छ । समितिले राजश्वसँग सम्बद्ध भन्सार, आन्तरिक राजश्व विभाग लगायतका उप समितिहरु गठन गरेर अनुसन्धान गर्न सक्नेछ । 

नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले राजश्व बोर्ड गठन गरिनु स्वागत योग्य कदम भएको बताए ।  ‘संघ, प्रदेश र स्थानीय सरकारका बीचको कर सम्बन्धी विवादहरु समाधानका लागि बोर्ड चाहिन्छ भनेका थियौं, त्यहि बोर्डबाट करका दर र दायराहरु निर्धारण हुनुपर्छ भन्ने हाम्रो माग थियो, सरकारले बार्ड गठन गरेको छ, यो स्वागत योग्य काम हो ।’, गोल्छाले भने । 
 

Advertisement

Advertisement

Advertisement