सिडिएसका नयाँ सिइओलाई निवर्तमानका सुझावः केवाइसी र ई-भोटिङलाई महत्व दिनुस्

Advertisement

देव प्रकाश गुप्ता/// मैले चार वर्ष २ महिना भन्दा बढी समय सिडिएस एण्ड क्लियरिङ लिमिटेडको नेतृत्व गरेँ । सन २०१५ अक्टोबर १० मा नेतृत्वमा पुगेको थिएँ । सन २०१९ को डिसेम्बरमा मैले छोडेको हुँ । मेरो योजनामा जे जे काम थिएँ । ति सबै काम सम्पन्न गरेँ । पूर्ण डिम्याटको कार्ययोजना उच्च प्राथमिकतमा राखेको थिएँ, त्यो आफैले पुरा गरेँ । आइपीओ भर्नलाई कति सास्ती खोप्नुपर्ने थियो, त्यो मैले भनिरहनु पर्दैन् । अब पूर्ण अनलाइन प्रणालीबाट आइपीओ भर्न सकिन्छ । अर्थात आइपीअ‍ेको कष्टकर युगेको अन्त्य गर्न सफल भइयो । पहिले आइपीओमा मुस्किलले एक लाख ५० हजार आसपासमा आवेदन पर्ने गरेको थियो । अहिले अनलाइन भैसकेपछि त्यो सात लाख नाघ्न थालेको छ । अर्थात आइपीओमा सर्वसाधारण लगानीकर्ताहरुको सहभागीता ठूलो मात्रामा बढाउन सफल भएँ ।

सबै भन्दा झण्झटिलो काम भनेको ‘वेटेड एभरेज’को थियो । त्यो पनि मैले आफ्नै कार्यकालमा सम्पन्न गरेँ । मैले आफ्नो कार्यकालमा प्राथमिक बजारलाई पूर्ण स्वचालित बनाउन सकेँ । यसले लगानीकर्ताहरुलाई निकै ठूलो राहत दिएको छ । र प्राथमिक बजारमा लगानीकर्ताको सहभागीतालाई पनि व्यापक मात्रामा बढाएको छ । दोश्रो बजारमा ‘पोष्ट ट्रेड एक्टिभिटिज’ कारोबारपछिको गतिबिधीलाई पनि पूर्ण स्वचालित बनाईयो । सबै  सेयर डिम्याट गराउनु साहै्र ठूलो चुनौतीपूर्ण थियो, त्यो पनि सफल ढंगले कार्यान्वयन गरियो । 
कार्यकालको अन्तिम समयमा केवाइसी अनिवार्य गराउने निर्णय कार्यान्वयन गराउने प्रयास अघि बढेको थियो । नेपाल धितोपत्र बोर्डले निर्देशिका जारी गरेर पुँजी बजारमा लागु गर्ने भनेर तयारी गरेको जानकारी प्राप्त भएको छ । लगानीकर्तालाई जहाँ गयो त्यहिँ नागरिकता देखाउनुपर्ने झण्झटबाट यसले मुक्ति दिन्छ । 

यो कामलाई नव नियुक्त सिइओले उच्च प्राथमितमा राख्दा हुन्छ । त्यसपछि अर्काे काम भनेको ई–भोटिङको कामलाई अघि बढाउनुपर्छ । लकडाउनको समयमा साधारण सभाहरु ग्र्न नसकिने अवस्था छ । अहिले कोरोना महामारी छ, यस्तो बेलामा अब ई–भोटिङको व्यवस्था कार्यान्वयन गरिनुपर्छ । त्यसको प्रक्रिया पनि मेरै कार्यकालमा केहि मात्रामा अघि बढाईएको थियो । डकुमेन्ट तयार थिए, सफ्टवेयर बनाउने सोँच थियो । सफ्टवेयरमा पनि भारत वा अन्य देशमा चलन चल्तीमा रहेका ल्याएर लागु गर्ने की नयाँ बनाउने भन्ने थियो । आफैंले सफ्टवेयर बनाउन केहि समय लाग्ने देखिन्छ । 

कम्पनीहरुले सञ्चालन खर्च मात्रै व्यहोर्ने वातावरण बन्यो भने त्यस्तो सफ्टवेयर पनि तुरुन्तै लागु गर्न सकिने अवस्था छ । केवाइसी र ई–भोटिङको कामलाई निष्कर्षमा पुर्याउन सक्नु भयो भने नयाँ सिइओको कार्यकाल सफल हुनेछ । (सिडिएस एण्ड क्लियरिङका निवर्तमान सिइओ गुप्तासँग गरिएको कुराकानीमा आधारित) 
 

Advertisement

Advertisement

Advertisement