जस्तै विषम परिस्थितिमा पनि कर तिर्न पछि हट्दैनन् नेपाली जनता, राजश्व संकलन उत्साहजनक

Advertisement

काठमाडौं । विश्व महामारीका रूपमा संसारभर फैलिएको कोरोना भाइरसको प्रभावले मुलुकको आर्थिक गतिविधिमै अवरोध पुर्याएको अवस्थामा राजस्व संकलन उत्साहजनक देखिएको छ ।

सरकारले चालु आर्थिक वर्ष २०७७।७८ को दोस्रो महिनाको ८ भदौसम्म ६७ अर्ब १९ करोड २० लाख रुपियाँ राजस्व संकलन गरेको छ । जसमा कर राजस्वबापत ६४ अर्ब ८२ करोड ७० लाख रुपियाँ उठेको छ । यसैगरी, गैरकर राजस्वबापत २ अर्ब ३६ करोड ५० लाख रुपियाँ उठेको छ ।

Advertisement

सरकारले चालु आर्थिक वर्षमा कुल १० खर्ब ११ अर्ब ७५ करोड ८४ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ । सोही लक्ष्यअनुसार अहिलेसम्म कुल ६ दशमलव ६४ प्रतिशत राजस्व संकलन भएको हो । सोमबारसम्म सरकारले कर राजस्वतर्फ ७ दशमलव १० प्रतिशत र गैरकरतर्फ २ दशमलव ३९ प्रतिशत राजस्व संकलन गरेको महालेखा नियन्त्रक कार्यालयले जानकारी गराएको हो ।

कार्यालयका अनुसार चालु आवको पहिलो महिना साउनमा मात्र सरकारले विभिन्न निकायबाट कुल ५८ अर्ब ८१ करोड रुपियाँ राजस्व संकलन गरेको छ । जसमध्ये कर राजस्वतर्फ ५६ अर्ब ५५ करोड रुपियाँ र गैरकर राजस्वतर्फबाट २ अर्ब २६ करोड रुपियाँ उठाउन सफल भएको छ ।

महालेखा नियन्त्रक कार्यालयले विश्व महामारीका रूपमा संसारभर फैलिएको कोरोना भाइरसको प्रभावले मुलुकको आर्थिक गतिविधिमा नै अवरोध पु(याएको अवस्था र ११ चैतदेखि गरिएको लकडाउनबीच सबै व्यवसाय धराशायी भएको बेलामा पनि यसरी राजस्व उठ्नु उत्साहजनक भएको बताएको छ ।

आन्तरिक राजस्व विभागले पनि चालु आर्थिक वर्षको पहिलो महिना साउनमा लक्ष्यअनुरूपकै राजस्व संकलन भएको जनाएको छ ।

आन्तरिक राजस्व विभागका महानिर्देशक विनोदबहादुर कुँवरले विभागले पनि चालु आर्थिक वर्षको पहिलो महिना साउनमा लक्ष्यअनुरूपकै राजस्व उठाएको बताए । उनले साउनमा करिब ३५ अर्ब रुपियाँ राजस्व संकलन भएको बताए । भदौको पहिलो साता सोमबारसम्म ३ अर्ब राजस्व संकलन भएको भन्दै उनले अहिलेसम्मको अवस्था उत्साहजनक नै भएको बताए ।

राजधानी दैनिकबाट ।

Advertisement

Advertisement