मुकेशको प्रस्ताव– अब हामी दुवैको उच्चस्तरीय छानबिन हुनुपर्छ, कुलमानजी ! तयार हुनुहुन्छ ?

Advertisement

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक मुकेश काफ्लेले प्राधिकरणका वर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई उज्यालो नेपाल नामको पार्टी खोल्न र आउँदो चुनावमा बिजयी भएर प्रधानमन्त्री बन्न सुझाव दिएका छन् । 

प्राधिकरणको कार्यकारी निर्देशक हुँदा लोडसेडिङ घटाउनुको सट्टा उल्टै इन्भर्टर व्यापारीहरुसँग मिलेर लोडसेडिङ बढाएको आरोप खेप्दै आएका काफ्लेले बुधबार सगरमाथा टेलिभिजनलाई अन्तरवार्ता दिँदै भने, ‘उहाँलाई जनताले यत्रो मन पराउनु भएको छ । सारा देश उहाँसँग छ । विद्युत प्राधिकरणको कार्यकारी निर्देशक भनेको त सामान्य विशिष्ठ श्रेणीको पद हो । उहाँ किन यसमा मरिहत्ते गरिरहनु भएको छ । मेरो सल्लाह के छ भने एउटा दल खोल्नुस् । त्यो पार्टीको नाम उज्यालो नेपाल भनेर राख्नुस् । पार्टीको नाम पनि मैले सल्लाह दिए । अरु पार्टीमा जानुभयो भने साँसदको टिकटभन्दा केही दिँदैनन् । मन्त्री बन्न पनि गाह्रो छ । जनता साथमा छन् । दुई बर्षपछि चुनाव छ । चुनाव लड्नुस । प्रधानमन्त्री बन्नुस् । विद्युत प्राधिकरण जस्ता धेरै संस्था घाटामा छन् । प्राधिकरण जसरी सुधार्नुस् । देश बनाउनुस् । मेरो शुभकामना छ । 

Advertisement

लोडसेडिङ अन्त्यमा आफ्नो कार्यकालमा भएका काम नै प्रमुख कारण भएको दावी गरेका काफ्लेले कस्को कार्यकालमा राम्रो काम भएको हो ? छानविनका लागि सरकारले उच्चस्तरीय छानबिन समिति बनाएर समितिले दिएको सुझावका आधारमा मात्रै प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति गर्नुपर्ने चुनौति दिए । आफू र कुलमानलाई तुलना गरेर सामाजिक सञ्जालमा आफ्नो चर्को आलोचना हुनु कुलमानको प्रचारमुखी कार्यशैली भएको आरोप लगाउँदै उनले यस्ता हल्लाको सत्यतथ्य बाहिर आउन पनि उच्चस्तरीय छानविन जरुरी रहेको बताए । 

काफ्लेले भने, ‘कुलमानजीले सबै कुरालाई मेरो कार्यकालसँग तुलना गरेर हेर्नुभयो । मेरो कुलमानजीसँग के अनुरोध छ भने मेरो कार्यकाल र उहाँको कार्यकालमा भएका महत्वपूर्ण राम्रा कामहरुको उच्चस्तरीय छानविन समिति गठन गरेर छानबिन होस् । त्यो छानबिनमा तपाईंले भनेका कुराहरु पनि आउन । हिजो लोडसेडिङ किन भयो ? इन्भर्टर र जेनेरेटर ब्यापारीबाट कस्ले कति खाए ? मैले कतै गल्ती कमीकमजोरी गरेको रहेछु भने सजाय भोग्न तयार छु । यसमा कुलमानजीको धारण के हो ? उहाँ तयार हो ? उहाँको चार बर्षे कार्यकालमा भएका पीपीए, ठेक्कापट्टाको निष्पक्ष छानबिनमा उहाँको निश्चितरुपमा सहयोग हुन्छ । मेरो अनुरोध छ प्रधानमन्त्रीले मन्त्रिपरिषदबाटै यस्तो समिति बनाएर छानबिन अघि बढाइदिनुपर्छ । 

लोडसेडिङ अन्त्य गरेका कारण जनतामाझ लोकप्रिय रहेका कुलमान घिसिङको यही भदौ २९ गते चार बर्षे कार्यकाल सकिँदै छ । उनलाई सोही पदमा दोहोर्याउनुपर्ने भन्दै सामाजिक सञ्जालमा चर्को आवाज उठिरहेको छ भने घिसिङभन्दा अघि कार्यकारी निर्देशक रहेका काफ्लेको आलोचना भइरहेको छ । आफ्लेले भने लोडसेडिङ अन्त्यको जग आफूले बनाएको तर घिसिङले त्यसैमा टेकेर सस्तो लोकप्रियताको लागि प्रचार गर्ने काममा लागेको आरोप लगाएका छन् । 

भिडियोः 

Advertisement

Advertisement