'स्वास्थ्यका मापदण्ड पालना गरेर उद्योग सञ्चालन गर्न पाउनुपर्छ'

Advertisement

सतिश कुमार मोर, अध्यक्ष नेपाल उद्योग परिसंघ(सिएनआई)//////
सिँगो विश्व कोरोना भाइरस महामारीको चपेटाबाट गुज्रिरहेको छ । अधिकांश देशहरुले कोरोना महामारीकै बीच पनि सुरक्षित ढंगले आर्थिक गतिबिधीहरु सञ्चालन गरेर मुलुकलाई टाट पल्टिने अवस्थाबाट जोगाउने प्रयास गरिरहेका छन् । स्वास्थ्यका मापदण्ड पालना गरेर आर्थिक गतिबिधी सञ्चालन गर्ने कुराले निजी क्षेत्र मात्रै होइन, राष्ट्रिय अर्थतन्त्रलाई पनि बचाउन सहयोग गर्छ । हामीले सुरुदेखि नै कोरोनासँग जोगिने र आर्थिक गतिबिधी पनि अघि बढाउनेबारे सरकारसँग आफ्ना धारणा राख्दै आएका छौं । अब कोरोनासँग जुध्ने र आर्थिक क्रियाकलाप पनि सँगै अघि बढाउनुको विकल्प छैन् भन्ने तथ्यलाई सिँगो संसारले स्वीकार गरिसकेको पनि छ ।  

तर नेपालमा भने अझै पनि त्यस्तो वातावरण तयार नभईरहेको हामीले महशुस गरिरहेका छौं । यतिबेला नेपालको औद्योगीक क्षेत्रमा बेहाल छ । यहि अवस्था रहेमा सबै उद्योगहरु रुग्ण हुने अवस्थामा पुग्नेछन् । ६ महिना अघिसम्म राम्रोसँग सञ्चालन भैरहेका उद्योगहरुको यतिबेला बेहाल भएको छ । सरकारले नेपाल राष्ट्र बैंक मार्फत अघि सारेको सहुलियत भनौं वा राहत प्याकेज भनौं अब त्यसले मात्रै कोरोनाको कहरमा छटपटाईरहेका उद्योगहरु बाच्ने अवस्था देखिएन् । 

महामारीसँग जुध्न सरकारले लकडाउन। निषेधाज्ञा जारी गरेको छ । त्यसले मुलुकको अर्थतन्त्रमा अर्काे भयावह अवस्था आउँदैछ । उद्योग, पर्यटन, शिक्षा, हवाई, व्यापार, घरेलु तथा साना उद्योग, उत्पादन मुलक उद्योगदेखि अत्यावश्वक वस्तु उत्पादन गर्ने उद्योगहरु पनि अहिले प्रायः बन्द भैसकेका छन् । अर्थतन्त्रको लाइफलाइन मानिने तराई क्षेत्रका अधिकांश उद्योगहरुमा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमण देखिएका उद्योगहरुलाई मापदण्ड अनुसार सञ्चालन गर्ने अवस्था छैन् । कोराना संक्रमण देखिएका उद्योगहरु स्थानीय प्रशासनले सिधै शिल गर्न थालेको छ । कोरोना देखिएका कर्मचारीलाई आइसोलेशन, क्वारेन्टाइनमा राख्ने, बाँकी कर्मचारी मार्फत उद्योग चलाउने वातावरण बनेको छैन् । स्थानीय प्रशासन, स्थानीय सरकारले सिधै उद्योग शिल गर्दै हिडिरहेका छन् । यस्तो परिपाटीले राम्रो गरिरहेको छैन् । अझै स्थानीय नागरिकहरु त आफैं उद्योग शिल गराउँदै हिड्न थालेको अवस्था छ । 

यस्ता घट्ना क्रमहरु बढ्दै जाने हो भने मुलुकको अर्थतन्त्रले अर्कै रुपरेखा लिन सक्छ । अवस्था झनै भयावह बन्न सक्छ । ‘प्रोटोकल मेन्टेन’ गरेका छौं भनिएका सरकारी कार्यालयहरुमा पनि कोरोना देखिएका छन् । हाम्रा उद्योगहरुमा त सैयौं मजदुरहरु काम गरिरहेका हुन्छन् । त्यहाँ ‘प्रोटोकल मेन्टेन’ गरेरै काम गरिएको छ । तर पनि त्यस्ता उद्योग बन्द गराउने कुरा ठिक भएन् । अहिले स्थानीय तहहरु उद्योग मैत्री भएनन् । डर, त्रासका कारणले हो वा अरु कुनै कारणले उनीहरु उद्योग सञ्चालन गराउने वातावरण बनाईरहेका छैनन् । 

कोरोना महामारीसँगै अर्थतन्त्रलाई पनि अघि बढाउनका लागि जुन खाले सहकार्यको वातावरण हुनुपर्ने हो, त्यस्तो भैरहेको छैन् । देशमा ३ तहका सरकारहरु छन् । तर कुनै पनि सरकारले कोरोना महामारीकै बीचमा पनि अर्थतन्त्रलाई चलायमान गराउनुपर्छ, रोजगारी सृजना गर्नुपर्छ भन्नेबारे गम्भिर चासो दिएनन् । मापदण्ड पालना गरेर उद्योग धन्दा चलाउनुपर्छ, सकेसम्म नयाँ रोजगारी सृजना गर्नु पर्छ, त्यति नभएपनि पुरानो रोजगारीलाई गुम्न दिनुहुन्न । आपूर्ति प्रणालीलाई चुस्त राख्नुपर्छ भन्ने प्रगतिशिल सोँच सरकारहरुसँग रहेनछ । 

सरकार आफैंले सञ्चालन गर्नु भनेका अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग धन्दाहरु पनि सञ्चालन भैरहेका छैनन् । न कच्चा पदार्थको पर्याप्त उपलब्धता छ, न स्थानीय प्रशासनहरुबाट राम्रो सहयोग भैरहेको छ । न त स्थानीय बासिन्दाबाट नै सहयोग पाईएको छ । खाली कोरोनाको बहाना गरेर उद्योग बन्द गराउने काम भैरहेको छ । जीवन सबै भन्दा महत्वपूर्र्ण कुरा हो, बाच्नुपर्छ भन्ने कुरा सबैलाई थाहा छ, जीवनसँग कसैले पनि सम्झौता गर्नु हुन्न र गर्दैनन् पनि । त्यसो भन्दैमा उद्योग धन्दा सधै बन्द गर्ने, व्यापार व्यवसाय सञ्चालन गर्न नदिने काम जारी राख्ने हो त ? कोरोना अलि कम भएपछि के खाने ? के लगाउने ? भोकमरी निम्त्याउन खोजेको हो ?

हामीले सुरु देखि नै भन्दै आएका छौं, स्वास्थ्यका मापदण्ड पालना गरेर उद्योग सञ्चालन गर्न पाउनुपर्छ । त्यसका लागि राज्यले पहल गर्नु पर्छ । स्थानीय तह र प्रशासनले समन्वय गरिदिनुपर्छ । उद्योगीहरुले पनि त्यसका लागि तत्परता देखाउनुपर्छ । नागरिकस्तरबाट पनि यसका लागि सहयोग हुनुपर्छ । पछिल्लो समय सरकारले पनि केन्द्रमा उद्योगी व्यवसायीहरुसँग खासै छलफल गरिरहेको छैन् । हामी चाहान्छौं की सरकारले पुनः एक पटक पहलकदमी लिओस् । स्वास्थ्यका मापदण्ड पुरा गरेर उद्योग सञ्चालन गर्ने वातावरण तत्काल निर्माण गरियोस् ।(परिसंघका अध्यक्ष मोरसँग गरिएको कुराकानीमा आधारित) 
 

Advertisement

Advertisement

Advertisement