नेपालमा पनि इ–कमर्सको बाढी, लोकप्रियतासँगै नियमनको तयारी

Advertisement

काठमाडौं । कोभिड–१९ महामारीले विश्वको अर्थतन्त्र नै अहिले डामाडोल बनाएको छ । तर, संकटको समयमा विश्वकै ठूलो अनलाइन सपिङ प्लेटफर्म अमेजनका संस्थापक जेफ बेजोस महामारीकै बीचमा २ सय अर्ब अमेरिकी डलर सम्पत्तिका मालिक बनेका छन् । त्यस्तै, अर्को ठूलो चिनियाँ अनलाइन सपिङ प्लेटफर्म अलिबाबाले पनि कोभिडकै कहरबीच आकर्षक कमाइ गरेको छ । विश्व बजारको बिजनेस ट्रेन्ड देखेर विश्वका सातौँ धनाढ्य भारतीय व्यवसायी मुकेश अम्बानीले २ खर्ब ४७ अर्ब १३ करोड भारतीय रुपियाँमा फ्युचर ग्रुपको रिटेल विङ्स खरिद गरेका छन् । भारतीय रिटेल बजारमा छिरेको अमेजनसँग आक्रामक प्रतिस्पर्धामा उत्रिन उनले फ्युचर ग्रुपमा लगानी गरेका हुन् ।

कोभिड संक्रमणबाट जोगिन सामाजिक दूरी कायम गर्नुपर्ने बाध्यताले विश्वभर नै अनलाइन सपिङ कल्चर ह्वात्तै बढेपछि इ–कमर्स कम्पनीहरूले यसको प्रत्यक्ष लाभ लिइरहेका छन् । यसले भर्खरै जुर्मुराउँदै गरेको नेपालजस्ता विकासशील मुलुकका अनलाइन कम्पनीहरूलाई पनि फाइदा पुर्‍याएको छ । सोही कारण नेपालमा अहिले नयाँ–नयाँ अनलाइन सपिङ प्लेटफर्मको बाढी नै आइरहेको छ । तर, कोभिडमा ग्राहकको घरघरमै पुगेर आवश्यक सामान डेलिभर सेवाले निषेधाज्ञा तोडेको भन्दै बिहीबार इ–कमर्स कम्पनीका कर्मचारी र सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लियो । उनीहरूलाई निषेधाज्ञाको समयमा होम डेलिभरी नगर्ने सर्तमा केही समयपछि कागज गरेर मात्र रिहा गरिएको थियो । प्रहरीले होम डेलिभरी गर्न रोकेपछि सर्वत्र विरोध भइरहेको छ । अत्यावश्यक सामग्रीहरू डेलिभरी गर्न छुट दिइए पनि रेस्टुरेन्टका परिकार, इलेक्ट्रोनिक्स तथा फेन्सी सामानहरू पनि बिक्री गर्न थालेपछि नियन्त्रण गर्नुपरेको प्रहरीको तर्क छ । चर्को विरोध भएपछि आइतबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा सरोकारवाला निकायहरूकोे बैठक बसेर होम डेलिभरी सेवामा अपनाउनुपर्ने मापदण्ड तत्कालै तयार गरेर पेस गर्न समिति गठन गरेको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा वाणिज्य, स्वास्थ्य र नेपाल प्रहरीका एक–एकजना रहने समितिले इ–कमर्स कम्पनीहरूसँग रायसुझाब लिएर निर्णय गर्ने बताइएको छ ।

Advertisement

११ चैतदेखि सुरु भएको लकडाउनको अवधिमा इ–कमर्स व्यवसायमा कुनै अवरोध थिएन । तर, ४ भदौको निषेधाज्ञापछि सरकारले अचानक रोक लगाउनु भनेको सरकार उल्टो बाटोमा हिँड्न लागेको पूर्वअर्थसचिव रामेश्वर खनाल बताउँछन् । ‘होम डेलिभरी रोकेर सरकारले संसारमै नभएको उल्टो काम ग¥यो, यो सबै अज्ञानताको पराकाष्ठ हो,’ पूर्वअर्थसचिव रामेश्वर खनाल भन्छन्, ‘विश्वभरि नै अनलाइन प्लेटफर्मबाट किनमेल भइरहेका वेलामा नेपालमा पनि सुरक्षित रूपमा होम डेलिभरी गर्न रोक्नुहुँदैन ।’ मान्छे बाहिर निस्किन डराइरहेका वेलामा अनलाइन सपिङ कम्पनीहरूले सुरक्षित तरिकाले उपभोक्ताका घरघरमै सामान पुर्‍याइरहेको उनको भनाइ छ । ‘होम डेलिभरीले संक्रमण फैलिएको प्रमाण भइदिएको भए सरकारको कामप्रति १ प्रतिशतसम्म सहमत हुन सकिन्थ्यो, तर अहिले प्रमाण छैन, विनाप्रमाण होम डेलिभरी बन्द गर्नु पक्कै राम्रो काम होइन,’ उनले भने ।  

नेपालमा अनलाइन व्यापारको दायरा बढ्दै गएपछि सरकारले इ–कमर्सलाई नियमन गर्ने कानुन बनाउँदै छ ।

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement