पन्द्र दिन कर्फ़्यू लगाउन सुझाव दिने काठमाडौंका मेयरहरुको तलब भत्ता बन्द गर्न व्यवसायीको माग
फाइल फोटो

Advertisement

काठमाडौं । व्यवसायीहरुले १५ दिन कर्फ़्यू लगाउन सुझाव दिने काठमाडौंका मेयर उपमेयरहरुको तलब भत्ता बन्द गर्न सुझाव दिएका छन् । चैतदेखिको तीन महिना लामो लकडाउन र त्यसपछिको निषेधाज्ञाले अर्थतन्त्र थिलोथिलो भएको अवस्थामा फेरि १५ दिन कर्फ़्यू लगाउन उपत्यका नगरपापालिका फोरमले सुझाव दिएपछि व्यवसायी रुष्ट भएका हुन् । 

व्यवसायी प्रवलजंग पाण्डेले फोरमको सुझावप्रति आलोचना जनाउँदै सामाजिक सञ्जालमा लेखेको प्रतिक्रियामा अर्का व्यवसायी विप्लवमान सिंहले कर्फ़्यू लगाउन सुझाव दिने काठमाडौंका मेयरहरुको तलब भत्ता बन्द गर्नुपर्ने जनाएका हुन् । 

Advertisement

सिंह लेख्छन्, ‘यिनीहरू पागल हुन् । यिनीहरूको तलब भत्तापनि रोक्नु पर्छ । अनि थाहा हुन्छ लकडाउन के हो ? भनेर । अर्का व्यवसायी प्रवलजंग पाण्डेले १५ दिन कर्फ़्यू लगाउन सुझाव दिने नगरपालिका फ़ोरमले अधिल्लो १४ दिनको सटडाउनमा कोभिड नियन्त्रणमा के गर्यो ? भनी प्रश्न गरेका छन् । 

उनले भनेका छन्, ‘१५ दिन कर्फ़्यू लगाउदा के गर्ने भनेर योजना जनता समक्ष प्रस्तुत गरेको भए हुने थियो । दायित्व पुरा गर्न नपरेपछि जे बोले पनि भयो नि ।’

फोरमको बुधबारको बैठकले कोरोना महामारी नियन्त्रणमा आउनुको सट्टा बढ्ने क्रम जारी रहेको भन्दै १५ दिन कफ्र्यु लगाउन सरकारलाई सुझाव दिएको थियो । काठमाडौं उपत्यकाभित्रका मेयरहरुको संस्थाको बैठकमा मेयरहरु उपस्थित नहुँदा उपमेयरहरुले प्रतिनिधित्व गर्छन् ।  

फोरमले निषेधाज्ञा थप कडा बनाउन कर्फ़्यू लगाउनुपर्ने निष्कर्ष निकाल्दै फोरमको बैठकले त्यसो गरेमात्रै कोरोना भाइरस नियन्त्रणमा आउन सक्ने बताएको छ । निषेधाज्ञामा मानिसहरु बाहिर निस्किन नछोडेकाले कर्फ़्यू नै उत्तम हुने फोरमको तर्क छ । 

Advertisement

Advertisement