कोरोना बीमाः अब निजी ल्याबको रिपोर्टले पनि मान्यता पाउने

Advertisement

काठमाडौं । अब निजी ल्याबको रिपोर्टले पनि कोरोना बीमाको दावी भुक्तानी पाउने बाटो खुल्ने भएको छ । । बीमा समिति र नेपाल बीमक संघका प्रतिनिधीबीच आइतबारको छलफलपछि निजी ल्याबको रिपोर्टलाई पनि मान्यता दिनेबारे छानविन गर्न समिति समेत गठन गर्ने समझदारी बनेको हो । हालसम्म स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायहरुबाट पीसीआर परिक्षण गर्दा कोरोना संक्रमण देखिए मात्रै दावी लाग्ने व्यवस्था थियो । 

बीमा समितिले विज्ञप्ति जारी गर्दै भदौ २१ गतेसम्म बिक्रि गरिएका बीमा पोलिसीहरुका हकमा स्वास्थ्य मन्त्रालय अन्तर्गतका नियकायहरुको रिपोर्टका अनुसार भुक्तानी दिने बताएको छ । त्यस्तै, स्वास्थ्य मन्त्रालयका निकायहरु बाहेकका ल्याबहरुमा गरिएको परिक्षण रिपोर्टमाथी भने समितिका कार्यकारी निर्देशक नेतृत्वको अनुदान व्यवस्थापन समितिले छानविन गरि तयार पारेको सुझावका आधारमा दावी भुक्तानीको निर्णय हुनेछ । 

भदौ २१ गतेपछि जारी हुने बीमालेखका हकमा भने समितिका कार्यकारी निर्देशकको नेतृत्वमा सरोकारवाला निकायको समेत सहभागीतामा अध्ययन गर्ने र निष्कर्षका आधारमा कोरोना बीमा मापदण्ड २०७७ लाई संसोधन गर्ने समझदारी पनि बनेको छ । 

Advertisement

सुरुवातका दिनमा सिमित सरकारी ल्याबले मात्रै परिक्षण गरेको अवस्थामा कोरोना बीमाको मापदण्ड बनाइएको र अहिले निजी ल्याबले समेत परिक्षण गर्न थालेकाले त्यसलाई पनि मान्यता दिने गरि थप सुधार गर्ने बारे समझदारी बनेको बीमक संघका अध्यक्ष तथा शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेले कर्पोरेट नेपाललाई जानकारी दिए । 

कोरोना बीमामा सरकारले ५० प्रतिशत अनुदान उपलब्ध गराउने र सरकारी कर्मचारीहरुको निःशुल्क बीमा गर्ने कार्यक्रम अघि बढिसकेको छ । सरकारी अनुदान रकमको दुरुपयोग हुने सम्भावनालाई मध्यनजर गर्दै कोरोना बीमा मापदण्डमा आवश्यक सुधार गर्न लागिएको हो ।
 

हालसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले ४७ वटा सरकारी तथा निजी ल्याबहरुलाई कोरोनो परिक्षणको अनुमति दिएको छ । अब यी सबै ल्याबका रिपोर्टहरुले मान्यता पाउनेछन् र कोरोना बीमामा दावी गर्न सकिने छ ।  बीमा समितिले प्रेस विज्ञप्ति प्रकाशित गर्दै निजी ल्याबको रिपोर्टलाई पनि मान्यता दिने गरि केहि समयभित्रै अध्ययन सम्पन्न गरि कार्यान्वयनमा ल्याउने बताएको छ ।

Advertisement

Advertisement