डा. शेखर कोइरालाकै नेतृत्व किन ? बाटो बिराएको काँग्रेसलाई सही बाटोमा ल्याउन

बासुदेव वस्ती

नेपाली राजनीतिक इतिहासको सबैभन्दा पुरानो पार्टी वा लोकतान्त्रिक प्रजातान्त्रिक इतिहास बोकेको एकमात्र पार्टी नेपाली कांग्रेस हो । विक्रम संम्वत २००७ सालमा निरंकुश राणा शासनबाट राजतन्त्र बचाउन, २०४६ सालमा बहुदलीय व्यवस्था ल्याउन तथा पछिल्लो समय २०६२–६३ सालमा राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन नेपाली कांग्रेसले निर्वाह गरेको भूमिका अनुकरणीय छ । 

०५२ सालदेखि मुलुकमा भएको सशस्त्र द्वन्द्वको अन्त्य गर्ने सवालमा होस् वा ०६२–६३ सालपछि जनताद्वारा लेखिएको संविधान निर्माण र कार्यान्वयनमा नेपाली कांग्रेसले खेलेको भूमिका सदैव मुलक र जनताप्रति उत्तरदायी छ । सात दशक बढि राजनीतिक इतिहास बोकेको नेपाली काँग्रेस १४ औं महाधिवेशनको यो संघारमा आइपुग्दा पार्टीलाई विभिन्न चरणमा हाँकेर बर्तमान अवस्था ल्याउनु हुने सबैको महत्वपूर्ण योगदान रहेनभन्दा अन्याय त हुन्छ नै । तथापि, विगत पाँच वर्षयताको राजनीतिक वृत्तमा नेपाली कांग्रेसले प्रथम जननिर्वाचित प्रधानमन्त्री कांग्रेसका संस्थापक श्रद्धेय नेता स्वर्गीय विश्वेश्वरप्रसाद कोइरालाको सिद्धान्त, आदर्श र विचारधारालाई चाहीं अवमुल्यन गरेकै अनुभूत भएको छ । एक सच्चा कांग्रेसी, लोकतान्त्रिक विचारधारालाई आत्मसात गर्ने नागरिकका हिसाबले भन्नुपर्दा अहिले नेपाली कांग्रेस कमजोर भएको छ । बाटो विराएको बटुवा जस्तै भएको छ । 

यसै, सन्दर्भमा पार्टीको यही फागुनमा हुन लागेको १४ औं महाधिवेशनबाट कस्तो नेतृत्व आउला ? कसले वीपीको विचारलाई पुर्नस्थापित गराउला ? अथवा कांग्रेसलाई कसले पूरानै आकारमा ल्याईपुर्याउला ? चर्चा परिचर्चा भइरहनु अस्वभाविक पनि हैन् । कोरोना संक्रमणले विश्वकै अर्थतन्त्र धरासायी भएको परिदृश्यमा नेपाल पनि त्यसबाट अछुतो छैन । र, अब मुलुकलाई आर्थिक रुपमा अगाडी बढाउन पनि सक्षम नेतृत्व आवश्यक छ । वर्तमान सरकार इतिहासकै असफल र असक्षमत सरकारका रुपमा परिभाषित हुँदैगर्दा आउँदो निर्वाचनबाट सक्षम र दिर्घकालिन सोच भएको व्यक्तित्व ल्याउनका लागि पनि नेपाली कांग्रेसले दुरदर्शी नेतृत्व खोज्नै पर्दछ । 

कांग्रेसको १४ औं महाधिवेशनको सन्दर्भमा आमकार्यकर्ताहरु विभिन्न नेतृत्वको सवल र दुर्वल दुबै पक्षको सात्क्षात्कार भइसकेका छन् । वर्तमान नेतृत्वबाट कार्यकर्ता मात्र हैन कांग्रेसकै शुभेच्छुक जनताहरु समेत निराश भएका छन् । र, अब सबैले १४ औं महाधिवेशनबाट कस्तो नेतृत्व आउला ? जिज्ञासा एवं चासो राखिरहेका छन्, जुन अस्वभाविक पनि हैन । 

अहिलेको परिदृश्यमा कांग्रेस सभापतिका आकांक्षीहरु करिबकरिब आधा दर्जनको हाराहारीमा छन् । सबैले आ–आफ्ना दावेदारी प्रस्तुत गरिँरहँदा हामी कांग्रेसीहरुले कसले कस्ता एजेण्डाहरु बोकिरहेका छौं ? विगतमा पदमा रहँदा कसले कार्यकर्ता र जनताका कुरा सुने ? कसले व्यक्तिगत स्वार्थ त्यागेर मुलुक र जनताका लागि राजनीति गरे ? कसले बर्तमान संकट निवारणमा सही कार्यदिशा दिनसक्छ ? र, कांग्रेसलाई मुलुककै पहिलो पार्टी बनाउने आधार कसले तयार गर्दैछ ? भन्ने मुख्य कुरामा ध्यान दिन जरुरी छ । 

कांग्रेसको कमजोरी भनौ वा वर्तमान नेतृत्वको कमजोरी, युवाहरुलाई कहिल्लै समेट्न सकेनन् । भन्ने बेलामा कांग्रेसको मुल खम्बा भनेका युवाहरु भनिन्छ । तर, युवाहरुकै लागि भनेर खोलिएका भातृ सँगठनहरुको नेतृत्व बुढाहरुले गरिरहेका छन्, चाहे त्यो नेपाल विद्यार्थी संघ होस् या नेपाल तरुण दल । पेशागत संघ संगठनकै कुरा गर्दा पनि ५० वर्षभन्दा माथिकाले नेतृत्व गरेका छन् । अबको महाधिवेशनले युवा सहभागिताको विषयलाई चैं घनिभूत रुपमा उठाउनु आवश्यक छ । 

डा. शेखर कोइरालाको संभावना

यो नाम कांग्रेसभित्र ज्वाजल्यमान छ । २०४६ सालयताका हरेक राजनीतिक घटनाक्रममा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहभागी भएर डा. शेखर कोइरालाले पार्टीभित्र पुर्याएको योगदानको कदर गर्ने हो भने अब उनकै नेतृत्वमा कांग्रेस व्यूतिनेमा दुई मत छैन । १० वर्षे सशस्त्र द्वन्द्वलाई शान्तिपूर्ण आन्दोलनमार्फत निमिट्यान्न गर्न स्वर्गीय गिरिजाप्रसाद कोइरालाले शेखर कोइरालालाई जति विश्वास गरे, त्यत्ति अन्य पात्रलाई गर्न सकेनन् । र, डा. कोइरालाले तत्कालिन माओवादीसँग सात राजनीतिक दलहरुबीच १२ बुँदे सम्झौता गर्न गराउन खेलेको सकारात्मक भूमिकाकै कारण आज देश शान्तिपूर्ण राजनीतिमा छ । 

विगत २० वर्ष यताको राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिक, आर्थिक, सामाजिक परिस्थिति र परिवेशलाई प्रत्यक्ष भोग्दै, अनुभूत गर्दै आएका देशका ७७ वटै जिल्लाका नेता कार्यकर्ताहरुसँग समान धारणा बनाएर पार्टी र संगठनलाई विधि तथा प्रक्रियाबाट चलाउनु पर्छ भन्ने एक मात्र ध्येय बोकेर राजनीति गर्ने डा. कोइरालाले अब कांग्रेसलाई काँध थाप्नुको विकल्प छैन । झन पछिल्लो समय पार्टीलाई नितीनियम भित्र भन्दा व्यक्तिवाद हावी भइरहेको छ । त्यसलाई समाप्त पार्न र पार्टीलाई विधि विधानमा चलाउन पनि डा। शेखरको लिडरसीप अनिवार्य छ । 

कार्यकर्तामा उर्जा भर्न डा. शेखर

कांग्रेसको १३ औं महाधिवेशनमा सर्वाधिक लोकप्रिय मत ल्याएका डा. शेखर कोइराला एक मात्र यस्ता पात्र हुन्, जसलाई पुराना र नयाँ दुवै पुस्ताले उत्तिकै रुचाउँछन् । देश विदेशका हरेक राजनीतिक, आर्थिक, सामाजिक परिस्थितिलाई सुक्ष्म विश्लेषण गर्नसक्ने, आमयुवाहरुको विचार र मनोभावनाको प्रतिनिधित्व गर्नसक्ने भनेकै डा. शेखर हुन् । स्पष्टवक्ता, अध्ययनशील र जनताका हरेक सुःख दुःखमा सहयात्री बनेर गाउँघर डुलेका डा. शेखरसँग व्यवस्थापनको कुशल अनुभव समेत छ । दक्षिण एशियाकै उत्कृष्ट स्वास्थ्य संस्था वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग बसाल्ने डा. कोइरालाले कांग्रेसको नेतृत्व गरे पार्टी र मुलुकको विकासमा ठूलो टेवा पुग्नेमा दुई मत छैन । 

पुस्ता हस्तान्तरणको प्रक्रिया

अहिले कांग्रेसमा पुस्ता हस्तान्तरण अपरिहार्य छ । अबपनि कांग्रेसलाई पुरानै पुस्ताले चलाउने हो भने कांग्रेसको अस्तित्व संकटमा छ । र, कांग्रेसभित्रका युवा नेतृत्वहरु अब पार्टीको निर्णायक स्थानमा जान सक्षम पनि भएको छ । पुरानो पुस्ताले नेतृत्व हस्तान्तरण नगरे युवा कार्यकर्ता तथा राजनीतिकर्मी साथीहरु नेतृत्व तहमा जाने संभावना अत्यन्तै न्यून छ । अहिले कांग्रेसका पहिलो पङ्क्तिका नेतृत्वहरु ७० वर्ष कटेको र दोश्रो पंक्तिका नेतृत्वहरु पनि ६०र६५ वर्ष कटिसकेका छन । सक्रिय राजनीतिबाट विश्राम लिने समय भएकाहरुले त्यागको राजनीति गर्न सकेनन् भने पार्टीभित्र युवाहरुको आकर्षण सकिन्छ । 

विश्व राजनीतिमा जहिले पनि दोस्रो पंक्ति नेतृत्व तहमा पुग्न तयारी अवस्थामा रहन्छ तर, विडम्बना नेपाली कांग्रेसमा भने हालको नेतृत्वले युवाशक्तिलाई नेतृत्व तहमा लानको लागि कुनै तयारी गराएको छैन । यस्तो बेला बर्तमान पहिलो वर्गका नेतृत्वले त्यागको राजनीति गरेर सम्मानीत जीवन विताउनु नै कांग्रेसको लागि श्रेयकर हुन्छ ।

हामीले कांग्रेसलाई अब युवाहरुले नेतृत्व गर्नुपर्छ भनिहँदा पुराना पुस्ताहरुको योगदानलाई पनि चटक्कै विर्सन अथवा अवमुल्यन कदापि गर्नु हुँदैन । मुलुकको हरेक राजनीतिक, आर्थिक, सामाजिक परिवर्तनको नेतृत्व कांग्रेसले लिएकाले कांग्रेसलाई आजका दिनसम्म नेतृत्व गरेकाहरुको अनुभव युवाहरुलाई आवश्यक हुन्छ । युवाहरुको जोश जाँगर तथा पुरानाहरुको अनुभवलाई लिएर पार्टी सञ्चालन गर्ने हो भने नेपालको विकासमा नेपाली कांग्रेसको भूमिका माइलस्टोन बन्न सक्छ । र, त्यसका लागि पनि सबैले रुचाउने सर्वमान्य नेताका रुपमा डा। शेखर नै योग्य छन् । 

डा. शेखरको भिजन

नेतृत्वले सांगठनिक रुपमा पार्टी र देशलाई कसरी अगाडी बढाउने स्पष्ट रेखा कोर्न सकेन भने त्यो पार्टी भुत्ते हुन जान्छ । बर्तमान नेतृत्वले पार्टीलाई सिष्टम र पद्दतिमा चलाउनु त परको कुरा पार्टीभित्र रहेका संगठन र कार्यकर्तालाई समेत राम्ररी चलाउन सकेन । पार्टीका मुख्य हतियारका रुपमा रहेका युवा वर्गहरुलाई सक्रिय गराउने उनीहरुलाई मोटिभेट गर्ने कुनै काम नहुँदा कार्यकर्ताहरु भुत्ते भएका छन् । वडा, नगर, क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रमा समेत रहेका युवाहरु चलायमान छैनन् । मुलुकले दिन प्रतिदिन व्यहोरिरहनु परेको संकट निवारणमा होस् अथवा कुनैपनि विषयमा युवाहरुलाई पार्टीले चलायमान गराएको भए त्यसले युवाहरूमा उर्जा भर्दथ्यो । 

डा. शेखर कोइरालाले १४ औं महाधिवेशनबाटै पार्टीलाई व्यापक पुर्नसंचरनाको कुरा उठाएका छन् । पार्टीको स्थानीय तहमा ६० प्रतिशत, प्रदेशमा ५० र केन्द्रमा ४० प्रतिशत युवाहरुको सहभागिता गराउने डा। शेखरको रणनीति अहिलेको परिवेशमा सबैभन्दा श्रेष्ठ रणनीति हो । आगामी निर्वाचनमा पार्टीलाई पुनः एक नम्बरको पार्टी बनाउने सवालमा डा। कोइरालाले युवाहरुको भूमिका बढाउन खोज्नु भएको छ । यसले देशब्यापी रुपमा निष्कृय रहेका युवा पंक्तिलाई जागरुक गराएको छ । 

उहाँले पहिलो र दोश्रो पंक्तिका नेताहरुलाई सम्मानजनक पदस्थापन गरेर तेस्रो पंक्तिका नेता तथा कार्यकर्ताहरुलाई अगाडी ल्याउने उद्घोष गर्दै गर्दा त्यसले कांग्रेसभित्र नेतृत्व तयार गर्ने अभियान चल्नेछ । युवाहरु स्वतःस्फुर्त पार्टीका कार्यक्रमहरुमा सक्रिय रहनेछन् । त्यसमाथि डा। कोइरालाले एक कार्यकाल मात्र सभापति भएर युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने भनिरहँदा त्यसले कांग्रेसलाई पुर्नसंरचनामा जाने आधार पनि तयार हुनेछ । विगतमा नेतृत्वहरुले पार्टी भन्दापनि व्यक्तिगत स्वार्थ हेर्दा कांग्रेसको धरातल कमजोर भएको हो । 

पार्टीमा एक व्यक्ति एक पद अपरिहार्य छ । जसका लागि डा। शेखरले अपनाएका धारणा सर्वस्विकार्य हुनेछ । एक कार्यकाल सभापति भएपछि अर्को कार्यकाल नउठ्ने डा। सभापति भएपछि प्रधानमन्त्री नहुने कोइरालाको प्रतिबद्धता पद र कुर्सीकै लागि मरिहत्ते गरेर लाग्नेहरुका लागि क्रान्तिकारी कदम हो । यस मानेमा उहाँले एक कार्यकाल मात्र सभापतिमा रहने उद्घोष गर्दा त्यसले युवा पंक्तिमा सकारात्मक उर्जा प्रवाह भएको छ । 

इतिहास साक्षी छ, नेपाली कांग्रेसले मुलुकका सबै जसो क्रान्ति र परिवर्तनलाई आत्मसाथ गर्दै आफुलाई जनभावना अनुरुप उभ्याएको छ । २००७ सालमा राणाहरुको पञ्जाबाट राजा र जनतालाई मुक्त गर्न होस् वा २०१७ सालदेखिको पञ्चायती शासनकालको अन्त्य गर्दै बहुदलीय व्यवस्था ल्याउन कांग्रेसले नै नेतृत्व गरेकै हो । समय सापेक्ष जनताको परिवर्तनको चाहनालाई मुर्तरुप दिएकै हो । 

२०५० साल पछि शशष्त्र द्वन्द्वलाई समाप्त पार्न, राजतन्त्रको समुल अन्त्य गर्न, धर्मनिरपेक्षता, संघिय गणतन्त्र स्थापना र संविधान लेखनमा कांग्रेसले जनता र मुलुकमा पक्षमा नउभिएको भए अहिलेपनि हामी आन्तरिक द्वन्द्वमा रुमलिइरहने थियौं वा कुनै परचक्रिको शासनमा थिचिने थियौं । तर, नेपाली कांग्रेस मात्र एउटा यस्तो पार्टी हो जसले जनताका हरेक परिवर्तनमा चाहनामा आफुलाई समय सापेक्ष परिवर्तन गरेको छ । र, आउँदा दिनहरुमा पनि गर्ने नै छ ।

तर, अहिले सक्षम नेतृत्वको अभावमा पार्टी आन्तरिक रुपमा कमजोर तथा नेतृत्व विहिनको अवस्थामा रहेको छ । अब पार्टीलाई प्राण भर्नका लागि पनि १४ औं महाधिवेशनमा नेतृत्व परिवर्तनको आवश्यक्ता छ । त्यसका लागि हामी सबै कार्यकर्ताहरुले यसपल्ट डा। शेखरलाई अगाडी सार्नै पर्छ ।