‘टिकटकले इन्टरनेट व्याण्डविथ ४० प्रतिशत बढायो, यसबारे पुर्नविचार होस्’

Advertisement

काठमाडौं । दूरसञ्चार क्षेत्रका सरोकारवालाले यस क्षेत्रको विकास र विस्तारमा उल्लेख्य लगानी बढेकोले अबका दिनमा कन्टेन्टतर्फको लगानी विस्तारमा जानुपर्ने बताएका छन् । 

नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा उनीहरुले विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ का कारण नेपालमा पनि इन्टरनेटको प्रयोग बढ्दै गएको र लकडाउन अगाडिको तुलनामा अहिले डाटा उपभोगको प्रवृत्ति पनि परिवर्तन भएकोले कन्टेन्टमा लगानी बढाउन आवश्यक भएको बताए । 

Advertisement

नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक विजयकुमार रोयले ई–लर्निङदेखि भर्चुअल बैठक, अध्ययन सामग्री, मनोरञ्जनजस्ता नयाँ क्षेत्रको जानकारी लिने माध्यम नै इन्टरनेट भएकोले कन्टेन्ट सुधारमा जानु आवश्यक भएको बताए । 

उनले लकडाउनकै समयमा पनि अफवाह फैलाउने खालका कार्य गरेकोले केही अनलाइनलाई प्रेस काउन्सिलको सहकार्यमा बन्द गराइएको बताए । रोयले साइवर निर्देशिका कार्यान्वयनमा ल्याएको तथा ई–शिक्षा प्याकेजमा प्राधिकरणले काम गरेको बताए । कोभिडका समयमा सेवा प्रदायक कम्पनीहरुको सक्रियताका कारण ग्राहकको गुनासो अपेक्षाकृत रुपमा नआएको उनको अनुभव छ । 

कोभिड कारण डाटा उपभोग सहरी क्षेत्रमा अत्याधिक बढेको र ग्रामीण क्षेत्रमा कनेक्टिभिटिकै समस्या रहकोले डिजिटल डिभाइडको समस्या बढेर जाने आशंका समेत बढेको छ । ग्रामीण दूरसञ्चार विज्ञ पवन शाक्यले शहरको तुलनामा गाउँमा केनेक्टिभिटि र कनेन्ट दुबैको अवस्था दयनीय भएको बताए । शहरमा सेवा छनोटको अवसर छ,  कन्टेन्टमा पनि खोज्न र बुझ्न सक्ने जनमानस धेरै छ । अबको फोकस ग्रामीण क्षेत्रमा गर्नुपर्ने अवस्था आएको उनले बताए । यदि ग्रामीण क्षेत्रको सेवामा ध्यान दिन सकिएन भने भोलीका दिनमा गाउँ र सहरमा हुने डिजिटल डिभाइडले ठूलो रुप लिने हुँदा सचेत हुन पनि आग्रह गरे । 

नेपाल टेलिकममा प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले कनेक्टिभिटिको सवालमा कर्णाली, हिमाल, र उच्च पहाडी भेकमा प्राधिकरणअन्तर्गत रहेको ग्रामीण दूरञ्चार कोष परिचालन गरी कनेन्टिभिटिमा सहजीकरण गरिनुपर्ने बताए । धेरै बस्ती भएको क्षेत्रमा सेवा प्रदायकले आफैँ सेवा विस्तार गर्छन्, जहाँ अप्ठ्यारो छ, त्यो ठाउँमा सरकारले सहजीकरण गर्नुपर्ने उनको भनाइ छ । अघिकारीले कोषको रकम ग्रामिण क्षेत्रकै लागि भनेर सबै सेवा प्रदायकबाट आम्दानीको दुई प्रतिशत रकम जम्मा गर्ने गरेकोले सो रकम निर्धारित काममै खर्च गर्नुपर्ने बताए । हाल यो कोषको रकम सरकारले चालू खातामा जम्मा गरेको छ । ग्रामीण क्षेत्रमा कोषको रकम उच्चतम प्रयोग गर्न सकियो भने कन्टेन्टमा पनि एक चरण पार गर्न सहज हुने उनको अनुभव छ । 

एनसेल आजियटाका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ कोभिडपछि ग्राहकहरुमा सेवा लिने प्रवृत्ति परिवर्तन भएको बताए । डाटा सेवा प्रयोग बढेको भन्दै उनले अब एनसेलले यसमा लक्षित गरी आफ्ना कार्यक्रमहरु ल्याउने तयारी गरेको बताए । 

पछिल्लो प्रविधि फाइभजीमा पनि केही सकारात्मक प्रविधिको विकासलाई नेपाली प्रयोगकर्तासम्म अनुभव गराउन ढिला नगर्ने खालको संकेत दिए । उनको कोभिडका समयमा सरकारसँग नजिक रहेर काम गरेको तथा सहयोग रकम समेत उपलव्ध गराएको बताए । उनले व्यवसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत स्कुलशिक्षा, स्वाथ्य सामाग्री, कोभिड सम्वन्धी जनचेतना, फ्रन्टलाइनमा बसेर काम गर्नेहरुलाई सिमकार्ड वितरण लगायतका कार्यहरु गरेको बताए । 

यता इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष भोजराज भट्टले लकडाउनमा इन्टरनेट व्याण्डविथ खपत ४० प्रतिशतसम्म बृद्धि भएको भन्दै उपभोक्ताको रुची र प्रयोग फेरिएको बताए । पछिल्लो समयमा चर्चित बनेको सामाजिक सञ्जाल टिकटकले सेवा प्रदायकहरुलाई व्याण्डविथ व्यवस्थापनमा धौधौ परेको भन्दै यसमा केही सोच्न पनि नियामक निकायसमक्ष आग्रह गरे । 

यसमा प्राधिकरणका निर्देशक रोयले राज्य र उपभोक्तालाई टिकटकले के दियो ? यसको प्रयोग गर्दा र नगर्दा वा भनौं नेपालमा प्रवेश गरेर सिधै सेवा दिने सम्बन्धमा अध्ययन गरिहरेको र छिट्टै केही ठोस निर्णय लिने बताए । 
 

Advertisement

Advertisement