विवेकानन्द, जसले पश्चिमी जगतमा हिन्दूधर्मको शान्ति र भातृत्वको सन्देश फैलाए

Advertisement

शिरीषवल्लभ प्रधान

सेप्टेम्वर ११, १८९३ मा अमेरिकाको शिकागो राज्यमा आयोजित प्रथम विश्व धर्म सम्मेलन अर्थात् वल्र्ड पार्लियामेण्ट अफ रिलिजनमा वेदान्तका प्रखर विव्दान् तथा महान् आध्यात्मिक गुरु स्वामी विवेकानन्दले सम्बोधन गरेका थिए । पूर्वीय दर्शनलाई पश्चिमी जगतमा फैलाउने दिशामा उक्त सम्बोधनलाई एक महत्वपूर्ण कोशेढुंगाकोरुपमा लिइन्छ ।

Advertisement

आफ्ना श्रध्देय गुरु रामकृष्ण परंहंसको हिन्दूधर्मलाई विश्वसामू परिचित गराउने मिशनलाई विवेकानन्दले शिकागोमा आयोजित सो धार्मिक सम्मेलनमा आफ्नो सहभागितामार्फत पूरा गरेर छाडे ।

अमेरिकन ब्रदर्श एण्ड सिस्टर्स बाट सुरु भएको उनको सम्बोधनले त्यहां उपस्थित करीव ६,००० सहभागीहरुको मनमा गहिरो छाप पार्न सफल भयो । त्यस सम्मेलनको उद्घाटनका अवसरमा विवेकानन्दले दिएका वक्तव्यका महत्वपूर्ण अंशहरुः

— मलाई गर्व लाग्छ कि म यौटा त्यस्तो धर्मको प्रतिनिधित्व गर्छु, जसले सहनशीलता र सार्वभौमिक स्विकृतिको पाठ पढाएका छन् । त्यतिमात्र नभै हामी विश्वका सबै धर्महरुलाई सत्यकोरुपमा स्विकार गर्छौं।
— जसरी नदीका विभिन्न धाराहरु विभिन्न स्रोतबाट उत्पन्न भै अन्त्यमा समुद्रमा गै मिल्छन् । त्यसैगरी मानिसहरुले विभिन्न प्रवृत्तिअनुसार विभिन्न मार्गहरु चुन्छन्, जुन हेर्दा कोही सीधा र कुनै बांगाटिंगा देखिन्छन् तर ती सबैको गन्तव्य एउटै ईश्वर हुन्छ।
— विश्वको यसप्रकारको यो पहिलो सम्मेलनले गीतामा उल्लिखित त्यस भनाइलाई साकार गर्दछ जसमा, भगवान् श्रीकृष्ण भन्नुहुन्छः जो मानिस मकहां आउन खोज्छन्, चाहे जुनसुकै रुपमा नै किन नहोस् उसले मलाई प्राप्त गर्नेछ । सबै मानिसहरु विभिन्न मार्गहरुमा रहेर् संघर्ष गरिरहेछन्, जसले आखिरमा मलाई नै प्राप्त गर्दछ ।

— साम्प्रदायिकता, कट्टरपन र हठवादिताले लामो समयसम्म पृथ्वीलाई जकडिरहेको छ, र धर्तीलाई हिंसाले भरिदिएको छ । यसबाट कैयौं पटक यो धर्ती रक्तरन्जित भएको छ, कतिपय सभ्यताको विनाश भएको छ । तर अब तिनीहरुको समय समाप्त भएको छ । यस सम्मेलनको शंखनादले सबै हठधर्मिता र उत्पीडन चाहे ती तरवारले भएको होस् वा कलमले, मानिसहरुवीच बढाइएको यसप्रकारको दुर्भावनाको अन्त्य हुने छ ।

हिन्दूधर्मसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै विवेकानन्दले सो पार्लियामेन्टमा भने (सेप्टेम्वर १९, १८९३) ः

— वर्तमान् विश्वका नवीनतम वैज्ञानिक आविष्कारहरु वेदका उच्च ज्ञानबाटै प्रतिध्वनित भएका हुन् । हिन्दूहरुको पवित्र ग्रन्थ वेदको न कुनै सुरु छ न अन्त्य नै । यी त ईतिहासका विभिन्न कालखण्डमा विभिन्न विव्दान्हरुले आविष्कार गरेका बहुमूल्य सम्पत्तिहरुको संग्रह हुन् । जसरी गुरुत्वको नियम न्युटन भन्दा पहिले पनि थियो र पछि अनन्त कालसम्म पनि हने छ, यस आध्यात्मिक विश्वका नियमहरु पनि त्यस्तै हुन् । यी नियमहरुका आविष्कारकहरु ऋषिमुनिहरु हुन् । मलाई यो भन्दा गर्व हुन्छ कि ती मध्ये केही विव्दान्हरु महिला पनि थिए ।
— वेदका अनुसार यो सृष्टि र सृष्टिकर्ता दुबैको न सुरुवात छ न त अन्त्य नै । वेद पाठ गर्नेहरु दिनहूं यस श्लोक पाठ गर्छन््ः सूर्य र चन्द्रमा ईश्वरले पहिले, पहिले जसरी सृजना गरेका थिए त्यसैगरी अहिले पनि सृजना गरेका हुन् ।
— के म भौतिक तत्वहरुको सम्मिश्रण हूं ? वेदले भन्छ, त्यसो हैन । म त यस शरीर मा बस्ने आत्मा हूं, जसको न जन्म छ, न मृत्यु । मानिस कोही सुखी छन् त कोही दुखी छन्, के त्यो सबै ईश्वरको देन हो? वेदले भन्छ, त्यसो हैन, हामी आफ््नै पूर्व कर्मका कारण सुखी र दुखी हुन्छौं ।

क्रिश्चियन मिशनरीबारे विवेकानन्दले भने (सेप्टेम्वर २०, १८९३)ः
क्रिश्चियनहरुले जहिले पनि स्वस्थ आलोचना सुन्न तयार हुनुपर्छ । तपाईहरु पूर्वी देशमा आत्माको उध्दार गर्न मिशनरीहरु पठाउन मनपराउनुहुन्छ । तर भारतमा जब सुखा परेको थियो र हजारौं मानिसहरु भोकले मरिहेका थिए, त्यसवखत केही सहयोग पाएनन् उनीहरुले । अहिले भारत जस्तो देशलाई चर्चको जरुरत छैन न त कुनै नर्या धर्मको नै जरुरत छ । तिनीहरुसंग धर्मका पर्याप्त साधन छन्, उनीहरुलाई चाहिएको रोटी हो । तिनीहरु रोटी मागिरहेछन् तर हामी ढुंगा दिइरहेछौं ।

बुध्दकाबारे के भने विवेकानन्दले ?

(सेप्टेम्वर २६, १८९३)

म बौध्दमार्गी होइन, तपाईंहरुले सुने जस्तो, तर एकप्रकारले हुँ पनि । यदि चीन, जापान वा श्रीलंकाले बुध्दका शिक्षाको अनुशरण गर्छन् भने हामी हिन्दूहरु प्नि ती महान् आत्मालाई ईश्वरकै अवतार मान्छौं । म यहां बुध्दको आलोचना गर्न आएको भन्ठान्नुहोला तपाईं, तर त्यो सत्य हैन । म उहांलाई ईश्वरको एक अवतारकोरुपमा मान्छु । हिन्दू धर्म र बौध्द धर्मवीचको सम्बन्ध करीव, करीव जुदाइ धर्म र क्रिश्चियन धर्म वीचको जस्तै छ । जिसस क्राइष्ट एक जन्मजात जुदाई धर्मका अनुयायी थिए । तर जुदाइहरुले क्राइष्टलाई स्विकार गरेनन्, उनलाई किलामा टांगेर मारे । तर शाक्यमुनि बुध्द, जो जन्मले हिन्दू थिए, उनलाई हामीले ईश्वर मानेर उनको पूजा गरेका छौं । शाक्यमुनिले कुनै नयां कुरा सिकाएनन् । उनी पनि जिसस जस्तै केही शिक्षा दिन आएका थिए, नष्ट गर्न हैन । बुध्द पनि हिन्दू धर्मकै तार्किक निश्कर्ष पूरा गर्ने उद्येश्यले अवतरण भएका हुन् । तर जसरी ज्यूहरुले वल्ड टेष्टामेण्टलाई बुझ्ने कोशिस गरेनन्, त्यसैगरी बुध्दका आधुनिक अनुयायीहरुले हिन्दूधर्मलाई बुझ्ने कोशिस गरेनन् ।

धर्म परिवर्तनबारे विवेकानन्दले यसो भने आफ्नो अन्तिम सम्बोधनमा (शिकागो, सेप्टेम्वर २७, १८९३)
माटोमा जुन बिरुवाको विउ रोपिन्छ, त्यही फल्ने हो । धर्मका सम्बन्धमा पनि त्यही नियम लागू हुन्छ । क्रिश्चियनले हिन्दू वा बौध्दमार्गी बन्नु जरुरी छैन, नत एकजना हिन्दूले क्रिश्चियन वा बौध्दमार्गी नै बन्नु जरुरी छ। तर सबैले एकअर्काको भावनाको कदर गर्नु र बुझ्नु जरुरी छ । सबैले आ, आफ्नै मौलिकतालाई अपनाउने हो, आफ्नै माटोको नियम अनुसार हुर्कने, बढ्ने हो । यस धार्मिक सम्मेलनले सिकाएको पाठ यही हो कि पवित्रता र शुध्दता भनेको कुनै चर्च वा धर्म विशेषको पेवा हैन । हरेक प्रणालीले सर्वोत्कृष्ट महिला र पुरुषको सिर्जना गरेको छ । यदी यहां कोही मानिस मेरो मात्र धर्म बांचोस् र अरु सबै धर्म मररुन् भन्ने चाहन्छ भन्ने सोच्छ भने म विनम्रतापूर्वक भन्न चाहन्छु, हरेक धर्मको पर्चामा अब छिटै यस्तो नारा लेखिने छः मद्यत गर  न कि झगडा, रचनात्मकता अपनाउ, न कि विनाश, सामन्जस्य र शान्तिलाई अंगाल नकि व्दन्व्द ।
विवेकानन्द भारतको कलकत्तामा जनवरी १२, १८६३ मा जन्मेका हुन् । उनको वाल्यकालको नाम थियो नरेन्द्र दत्त । भनिन्छ, विवेकानन्द सुरुका दिनमा पश्चिमी दर्शनबाट प्रभावित थिए । त्र एकदिन जब उनी दक्षिणेश्वरस्थित कालीको मन्दिरमा गए, त्यहां उनको रामकृष्ण परमहंस, जो एक सिध्द योगी थिए, संग भेट भयो, जसबाट उनको जीवनमा आमूल परिवर्तन आयो । रामकृष्ण कै रेखदेखमा उनले वेदान्तका आध्यात्मिक शिक्षा हासिल गरे । शिकागोको धार्मिक सम्मेलनपछि उनले अमेरिका र बेलायतका विभिन्न ठाउंहरुमा गै वेदान्तका विषयमा प्रवचनहरु गरी ती वर्ष बिताए ।  त्यहाँबाट फर्केर उनले भारतमा रामकृष्ण मिशनको स्थापना गरे । तर उनी धेरै वर्ष बांचेनन्। एनले ३९ वर्षको युवा अवस्थामा जुलाई ४, १९०२ मा देह त्याग गरे । तर यति थोरै समयमा पनि उनले आफ्नो जीवनको उद्येश्य पूरा गरेर छाडे । उनका वेदान्त दर्शनकमा सम्बन्धमा महत्वपूर्ण पुस्तकहरु प्रकाशित भएका छन् । पूर्वीय दर्शनलाई पाश्चात्य विश्वमा चिनाउन र विश्वका विभिन्न धर्महरुवीच समन्वय कायम राख्नमा उनको अतुलनीय योगदान रहेको छ ।

Advertisement

Advertisement