'पुँजी बजार भारतमा बन्दकी राखे जस्तो भयो, लगानीकर्ताहरु चुप लागेर बस्नु हुन्न'

Advertisement

छोटेलाल रौनियार ///

 नेपालको पुँजी बजारका लागि तयार पारिएको डिजिटल पूर्वाधार कमजोर भएकाले यतिबेला बजारमा समस्या आईरहेको छ । तीन वटा कम्पनीको आइपीओ खुल्दा सीडीएसको मेरो सेयरले काम गर्दैन् । कारोबार व्यवस्थापन प्रणाली(टिएमएस)ले ८० हजार लगानीकर्ताको कारोबार व्यवस्थापन गर्न सक्दैन् । पुँजी बजारको यो हविगत बन्नुमा नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज, सीडीएस, ब्रोकर र वाइको कम्पनी सबै दोषी छन् । त्यसकारण समग्र अर्थतन्त्रको नेतृत्व गर्ने अर्थ मन्त्रालयले धितोपत्र बोर्ड र नेप्सेलाई छलफलका लागि बोलाएर ठिक गरेको छ । 

यो बीचमा नेप्सेका जीएम चन्द्रसिंह साउँद आफ्नोे गुणगानमै मस्त छन् । धेरै कारोबार भयो भनेर मिठाई खाएर बसिरहेका छन् । पुँजी बजारमा कस्तो समस्या आईरहेको छ भन्ने विषय वस्तु ऐना जस्तै छर्लंग छ । तर साउँद भने मिठाईको गुलियोमा भुलेर बसिरहेका छन् । टीएमएसमा बिहिबार र आइतबार लगातार समस्या आयो । वाइकोले सुधार गर्छु भनेको थियो तर त्यस्तो कुनै सुधार देखिएन । वाइकोको केबलमै समस्या छ भन्ने पनि आएको छ । गतिलो केबल समेत राख्न नसक्ने कम्पनीलाई यत्रो पुँजी बजारको डिजिटल प्लेटफर्म किन जिम्मा लगाईएको हो ? 

अर्काे तिर २।३ वटा ब्रोकरले मात्रै टीएमएस लिएको रेकर्ड छ । अनि कसरी कारोबार राम्रोसँग चल्छ र ? नेप्से त कानमा तेल हालेरै बसिरहेको छ । अहिले अनलाइन कारोबार पनि बढेको छ । अनलाइन लिनेहरुको संख्या पनि बढेर ८० हजार पुगेको छ । सीडीएसमा पनि व्यापक समस्या छ । तीन वटा कम्पनीको आइपीओ आउँदा नै मेरो सेयर नखुल्ने कस्तो प्रणाली विकास गरेको हो ? हामी लगानीकर्ताले जहिल्यै समस्या झेल्नुपर्ने हो ?

सीडीएसको सिस्टम भनेको भारतले डोनेट(अनुदान) दिएको प्रणाली हो । अलिकति सुधार गर्नु परेमा पनि भारतसँग अनुमति माग्नुपर्ने अवस्था छ । नेपालको पुँजी बजार त भारतमा बन्दकी राखेको जस्तो भयो । अहिले सीडीएसले दैनिक १० लाख आर्जन गरिरहेको छ । दैनिक १० लाख कमाउने कम्पनीले भारतबाट अनुदानमा ल्याएको प्रणाली चलाउनुपर्ने हो र ? नेप्सेको कुरै नगरौं, नेप्से अरबपति नै भैसकेको छ । ब्रोकरको पनि नाफा धेरै भयो । ब्रोकर कमिसन घटाउन गठित समितिले पनि प्रतिवेदन पनि कार्यान्वयन भएको छैन् । यसमा धितोपत्र बोर्डको पनि मौनता छ । 

उता, बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिनु भन्ने संसदीय समितिको प्रतिवेदन पनि कार्यान्वयन भएको छैन् । बैंकका सहायक कम्पनीले ब्रोकर लाइसेन्स पाएको भए लकडाउन पनि पुँजी बजार बन्द गर्नुपर्ने थिएन् । नेपालको ब्रोकर कमिसन दक्षिण एसियामै सबै भन्दा धेरै छ । हामीले अहिले जुन पूर्वाधारमा पुँजी बजार चलाईरहेका छौं, त्यो साह्रै कमजोर छ । अहिलेकै बजारको गतिबिधी पनि धान्न नसक्ने अवस्थामा छ । १८ लाख डिम्याट खाता छन्, पाँच लाख मात्रै लगानीकर्र्ता छन् भन्ने मान्ने हो भने अहिलेको प्रणालीले धान्दैन् । अहिले ८० हजार लगानीकर्ताले दैनिक सेयर कारोबार गरिरहेका छन् । त्यो संख्या पाँच लाख भयो भने हाम्रो प्रणालीको अवस्था के होला ? आफैं अनुमान लगाउन सकिन्छ । 

पछिल्लो पटक देखिएका समस्याहरुबारे हामीले बोर्डका अध्यक्ष भिष्मराज ढुंगानासँग कुरा गरेका थियौं । उहाँले नै अर्थमन्त्रालयमा समय मिलाएर छलफल गर्न आट्नु भएको हो । 
अर्थमन्त्रालयसँगको छलफल पछि भने समस्या समाधान भएन भने हामी लगानीकर्ता चुप लागेर बस्दैनौं । केहि पक्कै गर्छाै । अहिलेकै अवस्थाले त सेयर बजार जुवाघर जस्तो भयो, खेलाँची भयो । 

टीएमएस बिगारेर भित्रभित्रै चलखेल भैरहेको भन्ने आरोप पनि लागिरहेको छ । ब्रोकरहरुले अहिलेसम्म आफ्नै टीएमएस किन नलिएको ? सीडीएसको लापरवाहीका कारण लगानीकर्ताहरुले इडिआइएस गर्नै पाएनन् । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष रौनियारसँग गरिएको कुराकानीमा आधारित) 

Advertisement

Advertisement

Advertisement