कामना सेवा र क्वेस्ट कलेजबीच मानव संशाधन विकासका लागि सहकार्य

Advertisement

काठमाडौं । कामना सेवा विकास बैंक र ग्वार्कोस्थित क्वेस्ट इन्टरनेशनल कलेजबीच बैंकलाई आवश्यक पर्ने दक्ष जनशक्ति निर्माणको लागि सहकार्य गर्नेसम्बन्धी समझदारी पत्रमा मंगलबार हस्ताक्षर भएको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र क्वेस्ट कलेजका प्रिन्सिपल उदयराज पौडेलले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।                             

Advertisement

२०६४ सालदेखि आफ्नो वित्तीय कारोबार शुरु गरेको यस बैंकले देशका विभिन्न स्थानमा १२४ वटा शाखा तथा केन्द्रीय कार्यालयमार्फत नौ सय बढी व्यक्तिलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ । साथै, क्वेस्ट इन्टरनेशनल कलेज सन् २००९ मा पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी व्यवस्थापन तर्फ बिबिए, बिएचएम र एमबिएका शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । हाल यस कलेजमा सात सय बढी विद्यार्थी अध्यनरत छन् । 

कामना सेवाले आफ्ना कर्मचारीको व्यवस्थापन तथा कार्य क्षमता, दक्षता र उत्प्रेरण अभिवृद्धि गर्दै व्यावसायिक तथा व्यक्तिगत लक्ष्य प्राप्ति गर्ने अवसर प्रदान गर्ने क्रममा क्वेस्ट कलेजले अध्यापन, अनुसन्धान तथा तालिममार्फत उक्त लक्ष्यमा योगदान पुराउने र कामना सेवाले क्वेस्ट कलेजका विद्यार्थीलाई इन्टरशिपको व्यवस्था गर्ने समझदारी पत्रको प्रमुख उद्देश्य रहेको छ । 

यस समझदारीमार्फत बैंकका कर्मचारीले क्वेस्ट कलेजको कुनै पनि डिग्री कार्यक्रम तथा तालिममा सहभागी हुँदा विशेष सुविधा तथा अध्ययन शुल्कमा छुट दिने व्यवस्था गरिएको जनाइएको छ । 

यस सहकार्यले मानव संशाधन विकासमा शैक्षिक क्षेत्र र उद्योग, व्यवसाय तथा वित्तीय क्षेत्रबीच देखिएको खाडल क्रमशः पुर्दै जाने अभियानको सुरुवाती कदम भएको बैंकको भनाई छ । 

Advertisement

Advertisement