भ्याट तिर्न त के को आपत्ति हो ? कर नतिरेपछि राज्यले सहुलियत कहाँबाट ल्याएर दिने हो र ?

Advertisement

लेखराज भट्ट
कोरोनाको कहरबाट आम जनजीवनलाई कसरी सहज बनाउने ? आर्थिक गतिबिधीलाई कसरी चुस्तदुरुस्त राख्ने र अर्थतन्त्रलाई कसरी चलायमान बनाउने भन्ने विषय नै यतिबेला हाम्रो सबै भन्दा प्राथमिकतामा छ । परिस्थिति यस्तो बनेको छ की यतिबेला जीवनमुखी हुने की स्वतन्त्रतामुखी हुने भन्ने प्रश्न पनि हाम्रा बिच उब्जिएको छ । पहिला त जीवन बचाउने काम गर्नुपर्छ । फेरी अर्काे कोण आउँछ की जीवनमै समस्या आउने हुन् । त्यहि जीवन जोगाउन आइसीयुको व्यवस्थापन गरिनु परेको हो । त्यसकारण हामीले अलि नयाँ ढंगले सोच्नुपर्ने समय भएको छ ।

हाम्रो उदेश्य उद्योग, व्यवसाय, कृषि सबैलाई सहज ढंगले सञ्चालन हुने वातावरण बनाउने नै हो । जहाँ जहाँ समस्या छन्, त्यहाँ त्यहाँ समाधान गर्दै जाने पनि हो । समस्याहरुको गाँठो फुकाउँदै जाने हो, त्यसको समाधान पनि खोज्दै जाने हो ।  अहिलेसम्म मुलुकको २५ प्रतिशत व्यापार प्रभावित भैसकेको छ । मैले यहि कुरा सीसीएमसीमा पनि राखिसकेको छु ।
फेरी म्याद(डेट एक्सपायर) सकिएको धेरै वस्तुहरु यतिबेला गोदाममा छन् । ति वस्तुहरुलाई अब निकाल्नु पर्यो । व्यवसायीहरुले म्याद सकिएका वस्तुहरु अलग गर्नुपर्छ । व्यवसायीहरुले आफ्नो व्यवसायीकता पनि देखाउनुपर्छ । म्याद सकिएका समानहरुको सूचि तयार पारेर क्षतिको तथ्यांक निकाल्नुपर्छ । त्यसका आधारमा व्यवसायीलाई कति नोक्सानी भएको हो ? समग्रमा राष्ट्रलाई कति नोक्सानी भएको हो भन्ने एकिन हुन्छ । 

तथ्यांक पनि नदेखाई हामीलाई यति क्षति भयो भनेर मात्रै हुन्न । तपाईहरुले भनेकै भरमा त कति क्षति भयो भनेर आँकलन गर्न मुस्किल हुन्छ । यतिबेला हामी लघु, घरेलु तथा साना उद्योगीहरुको स्थिति के हो भनेर अध्ययन गर्दैछौं । ति उद्योगीहरुलाई कहाँनेर सहयोग गर्नुपर्ने हो ? भनेर पनि हेर्दैछौं । फुटपाथमा व्यवसाय गर्ने स्वरोजगार मजदुरहरुको अवस्था के छ ? सटर लिएर व्यवसाय गर्नेहरुको अवस्था के छ ? भनेर पनि अध्ययन गरिरहेका छौं । हामी साना साना कुराहरुबाट अध्ययन थालेर सम्बन्धीत निकायहरुसँग समन्वय गरेर राहत र सहुलियत दिनेबारे अध्ययन गरिरहेका छौं । अध्ययन नै नगरि सहुलियत देऊ भनेर कसैले भन्न सक्दैन् । व्यवसायीको क्षति कति हो ? खोजेको के हो ? त्यति कुरा पनि नबुझि सहयोग गर्नुपर्यो भन्न त सकिन्न नी । त्यस्तो बेलामा समस्या आउँछ, के दिने कति दिने ?

ठूला, मझौला र घरेलु तथा साना उद्यमी व्यवसायीहरुले हाम्रो क्षति यति हो । यति सहयोग गर्नुस भन्न पर्यो नी । करका विषयमा अहिलेसम्म राज्य बोलेको छैन् । भ्याट तिर्न त के को आपत्ति हो ? उपभोक्ताले दिएको पैसा बुझाईदेऊ भनेका हौं । तपाईँहरुले माग्ने पनि राज्यसँग अनि राज्यलाई दिनुपर्ने कर चाँही नदिएपछि राज्यले कहाँबाट ल्याएर दिने हो र ? राज्यले दिने श्रोत के हो भनिदिनु पर्यो नी । अहिले करका विषयमा छलफल भैरहेको छ । भ्याट त उपभोक्ताले जम्मा गरेको पैसा हो, त्यो त बुझाईदिनु परो नी । 

कोरोना महामारीमा सबै भन्दा सक्रिय मन्त्रालय यहि नै हो । हामी डर नमानी काम गरिरहेका छौं । संक्रमित देखिए पनि उपचारमा पठाउँदै काम गरिरहेका छौं । हामी कुनै पनि दिन घर भित्र बसेका थिएनौं । सधै फिल्डमा काम गरिरहेकै थियौं । चीन तर्फका दुई नाकामा केहि असहजता देखिएका छन् । त्यसमा केहि दुई देशिय र केहि स्थानीय समस्या देखिएका छन् । त्यसको समाधानका लागि सह सचिवस्तरमा छलफल अघि बढिरहेको छ । नाका सहज बनाउने काम चाँडै सम्पन्न हुनेछ । दशैं तिहार जस्ता चाडबाडका अवसरमा मात्रै होइन, हरेक दिन दैनिक जीवनलाई कसरी सहज बनाउने भन्नेबारे छलफल गरिरहेका छौं । (राष्ट्रिय व्यवसायी महासंघका पदाधिकारीहरुसँगको छलफलमा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री भट्टले व्यक्त गरेको विचारको सम्पादित अंश) 
 

Advertisement

Advertisement

Advertisement