असोज भित्रै स्थिर ब्याजदर कार्यान्वयन गर्न राष्ट्र बैंकको निर्देशन, घर र गाडी किन्नेलाई बम्पर

काठमाडौं । नेपाल राष्ट्र बैंकले असोज महिनामै स्थिर ब्याजदरको व्यवस्था कार्यान्वयन गर्न बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंक नियमन विभागका प्रमुख देव कुमार ढकालले असोज महिनामै स्थिर ब्याजदर सम्बन्धी व्यवस्था कार्यान्वयन गर्न बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन दिएका हुन् । 

राष्ट्र बैंकले भदौ २८ गते चालु आर्थिक वर्षको मौद्रिक नीतिको एकिकृत निर्देशन जारी गर्दै भदौ व्यक्तिगत प्रकृतिका आवधिक कर्जाहरुका हकमा स्थिर ब्याजदर कायम गर्नुपर्ने व्यवस्था गरेको थियो । अब सो व्यवस्था असोज मसान्तभित्रै लागु हुनेछ र ऋणीहरुले स्थिर ब्याजदरमा कर्जा प्राप्त गर्न सक्नेछन् । 

यो व्यवस्थासँगै अब घर र गाडी खरिद कर्ताहरुले ब्याजदर बढिरहने झण्झटबाट मुक्ति पाएका छन् । अब आवधिक प्रकृतिको यस्ता कर्जा लिनेहरुका लागि सुरुमै स्थिर ब्याजदर तोकिनेछ । कात्तिक महिनाबाट भने ऋणीहरुले स्थिर ब्याजदरमा कर्जा प्राप्त गर्न सक्नेछन् । बैंक तथा वित्तिय संस्था त्यस्तो कर्जाको ब्याजदर दर नेपाली महिनाको मसान्त अवधीमा प्रकाशित गर्नुपर्छ । बाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले कात्तिक महिनाबाट स्थिर ब्याजदरमा आवधिक प्रकृतिको कर्जा प्रदान गर्नुपर्नेछ ।