काठमाडौंवासीको अवज्ञापछि व्यापार व्यवसाय खोल्नदिने काठमाडौं सीडीओको निर्णय

Advertisement

काठमाडौं । राजधानी काठमाडौंका व्यवसायीले आदेश अवज्ञा गरेपछि जिल्ला प्रशासन कार्यालय (सीडीओ) काठमाडौंले व्यापार व्यवसाय सञ्चालनमा लगाएको जोरविजोर प्रणाली हटाएको छ । 

लामो समयको लकडाउन र निषेधाज्ञाबाट पीडित भएका उनीहरुले बन्द खोल्न सरकारसँग माग गर्दै आएका थिए । सरकारले जोरविजोर गरेर व्यवसाय खोल्न आदेश जारी गरे पनि उनीहरुले त्यसलाई अवज्ञा गर्दै व्यवसाय सञ्चालन गर्न थालेपछि बुधबार सीडीओ कार्यालयले नयाँ आदेश जारी गरेको हो । 

Advertisement

काठमाडौं उपत्यका प्रशासनले अर्को आदेश नभएसम्मका लागि यो व्यवस्था हटाइएको जनाएको छ । जिप्रका काठमाडौंको सुचनाअनुसार होटल तथा रेष्टुरेन्ट सञ्‍चालनमा लगाएको रोक पनि हटाइएको छ । निषेधाज्ञा सम्बन्धि आदेशहरुको पुनरावलोकन गर्दै टेकअवेमात्र सञ्चालन गर्न दिइएको होटल तथा रेष्टुरेन्टहरुलाई अर्को आदेश नभएसम्म सञ्‍चालन खुला गरिएको जनाइएको छ । 

उपत्यकामा लगाइएको सवारी साधनको जोरबिजोर भने कायमै राखिएको छ । निजी र सार्वजनिक सवारीको जोरबिजोर प्रणाली अर्को आदेश नभन्जेल कायम रहने छ । काठमाडौं उपत्यकाबाट बाहिर जाने र उपत्यकामा सवारी साधन प्रवेशलाई अर्को आदेश नभन्जेल खुला गरिएको छ । मन्त्रिपरिषद्ले भोली असोज १ गतेदेखि लामो दूरीका यातायात खुलाउने निर्णय गरिसकेको छ । स्वास्थ्य प्रोटोकल कायम राखेर उपत्यकामा आउन जान दिने निर्णय गरिएको छ ।

तर, खुला स्थानमा भिडभाड गर्न भने निषेध नै गरिएको छ । प्रशासनले खुला स्थानमा मानिस जम्मा हुन, भिडभाड गर्न वा सभा, जुलुस गर्न निषेध गरिएको भनेको छ । जात्रा, महोत्सव, भोज गर्न पनि निषेध गरिएको जनाएको छ । 

मठमन्दिर, मस्जिद, चर्च लगायतका धार्मिक तथा सांस्कृतिक स्थलमा नृत्य पुजाबाहेकका गतिविधि सञ्चालन गर्न पनि दिइएको छैन । बढी भिडभाड हुने उद्योग, व्यवसाय अन्तरगतका स्वास्थ्य मापदण्ड विपरित हुने क्रियाकलापहरु गर्न, चाडपर्व लगायतका धार्मिक, सामाजिक र सांस्कृतिक कार्य गर्दा जमघट गर्न र शैक्षिक संस्था सञ्चालन गर्न पनि रोकिएको छ ।

सबै प्रकारका सेमिनार गोष्ठी, तालिम, सिनेमा हल, पार्टी प्यालेस, शैलुन, स्पा, स्मिमिङ पुल, जिमखानासहित भीड हुने क्षेत्रलाई पूर्ण रुपमा निषेध गरिएको छ । त्यसबाहेक अन्य सेवा सुचारु रहने भनिएको छ ।

Advertisement

Advertisement