राजश्व बोर्डमा आफूहरुलाई नराखेकोप्रति निकासी पैठारी संघको आपत्ति

Advertisement

काठमाडौं । आफूहरुलाई राजश्व बोर्डमा नराखेकोप्रति नेपाल समुद्रपार निकासी पैठारी संघसम्वद्ध व्यवसायीले असन्तुष्टि जनाएका छन् । संघका पदाधिकारीले बिहीबार अर्थसचिव शिशिर ढुँगाना र राजश्व सचिव रामशरण पुडासैनीलाई भेटी आफूहरुलाई बोर्डमा नराखिएकोप्रति गुनासो गरेका हु्न । 

निकासी पैठारी गर्ने व्यवसायीहरुले कर र भन्सारसम्वन्धी थुप्रै समस्याहरु झेल्दै आउनु परेको बताउँदै राजश्व बोर्डमा आफूहरुको प्रतिनिधिलाई पनि सामेल गराउने व्यवस्था गर्न माग गरे । संघका अध्यक्ष सुनिलकुमार वंशलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले संघमा आवद्ध आयात–निर्यातकर्ता व्यवसायीको प्रतिनिधि लामो समयदेखि सरकारका विभिन्न निकायमा सहभागिता जनाउँदै आएको र स्थायी राजस्व बोर्डमा पनि संघलाई सहभागी गराउन माग गरे । 

Advertisement

उनीहरुले प्रधानमन्त्री तथा राष्ट्रपतिबाट हुने विदेश भ्रमणमा सहभागी हुने व्यापारिक प्रतिनिधिमण्डलमा आफूहरुलाई पनि सामेल गराउन आग्रह गरे । आयातमा प्रतिबन्ध लागेका कारण मदिराको चोरी पैठारी बढेको, डिएपीबाट हुने आयातमा तोकिएको रकमको सीमाले उधारोमा सामान आयात गर्न पाउने सुविधाबाट स्वदेशी व्यवसायी वञ्चित भएको उनीहरुको गुनासो थियो । 

सचिवद्धयले व्यवसायीका जायज मागहरुलाई सम्बोधन गरिने बताएका थिए । 
 

Advertisement

Advertisement