युट्युब, फेसबुकको आम्दानी बैंकबाट ल्याउन पाइने, कर तिराउने उपाय

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले युट्युब, फेसबुक लगायतका सञ्जालहरुको आम्दानी बैंक खाताबाटै नेपाल भित्र्याउन कुनै समस्या नरहेको स्पष्ट पारेको छ । राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले बिहिबार सूचना जारी गर्दै बैंक तथा वित्तिय संस्थाहरुमा खाता खोलेर युट्युब तथा फेसबुक लगायतका सञ्जालहरुका गरिएका आम्दानी नेपाल भित्र्याउन सकिने स्पष्ट पारेको हो । 

‘यस प्रयोजनका लागि विशेषतः सूचना प्रविधि सम्बद्ध दक्षता÷विज्ञताको निकासी विक्री वापत प्राप्त हुने रकम, सामाजिक सञ्जालमा सामग्रीहरु राखिए वापत प्राप्त हुने रकम तथा खुद्रास्तरको अन्तरराष्ट्रिय व्यावसायिक÷व्यापारिक कारोबार वापत प्राप्त हुने रकम लगायतका रकमहरु मान्य हुनेछन् ।’, राष्ट्र बैंकले भनेको छ । 

त्यस्तो रकम ‘स्वदेशी बैंकको खातामा विदेशी मुद्रा प्राप्त भए पश्चात् भुक्तानी सेवा प्रदायक (बैंक तथा वित्तीय संस्था समेत) ले सञ्चालन गरेको ग्राहकको वालेट लगायत भुक्तानीका उपकरणमा तोकिएको सीमा सम्मको रकम स्वदेशी मुद्रामा रकमान्तर गर्न सकिने’ व्यवस्था पनि राष्ट्र बैंकले गरिदिएको छ । त्यस्तो विदेशी मुद्रा आर्जन गर्ने क्रममा तोकिए बमोजिमको शुल्क, रोयल्टी लगायत आवश्यक परी सो को भुक्तानी विदेशमा पठाउनु पर्ने भएमा नेपाल राष्ट्र बैंकको अनुमतिमा पठाउन पनि सकिनेछ । 

राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कडेँलले युट्युब तथा फेसबुक लगायतका सामाजिक सञ्जालबाट गरिएको आम्दानी नेपाल ल्याउन मिल्ने की नमिल्ने ? कुन माध्यमबाट ल्याउने भन्ने दुविधा अन्त्य गरिएको बताए । ‘यस अघि पनि केहि बैंकबाट र केहि भुक्तानी सेवा प्रदायक संस्थाहरुबाट त्यस्तो आम्दानी नेपाल आईरहेको थियो । तर ल्याउन पाइने की नपाइने भन्ने दुविधा भने कायमै थियो, हामीले त्यसरी पैसा ल्याउन पाइन्छ भनेका हौं’, कार्यकारी निर्देशक कडेँलले कर्पाेरेट नेपालसँग भने ।  त्यसरी नेपाल भित्र्याइने पैसामा सम्पत्ति शुद्घीकरण तथा आतंकबादी कृयाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी ऐनको पालना भने हुनुपर्ने व्यवस्था पनि राष्ट्र बैंकले गरिदिएको छ । 

कर तिराउने उपाय
सरकारले केहि समयदेखि फेसबुक, युट्युब लगायतका सञ्जालहरुबाट गरिने आम्दानीलाई करको दायरामा ल्याउने तयारी गरिरहेको छ । बैंकिङ च्यानलबाट पैसा ल्याउने व्यवस्था गरिदिएर युट्युबरहरुको आम्दानीलाई करको दायरामा ल्याउन राष्ट्र बैंकले पहल गरेको हो । अर्थमन्त्रालयले प्यान नम्बर अनिवार्य गराउने र त्यस्तो आम्दानीमा कानुन बमोजिम कर लगाउने योजना बनाएको छ । युट्युबरहरुले करोडौ आम्दानी गरेको तर राज्यले कर असुल्न नसकेपछि राष्ट्र बैंक मार्फत करमा तान्ने जुक्ति निकालिएको हो । 
 

Advertisement

Advertisement

Advertisement