सरकारको काम प्रभावकारी बनाउन भन्दै वामदेव र नारायणकाजीलाई मन्त्री नै बनाउने तयारी

Advertisement

काठमाडौं । उपाध्यक्ष वामदेव गौतमलाई संसद् प्रवेश गराउने योजना सफल भएपछि नेकपाका शीर्ष नेताहरू उनलाई मन्त्री बनाउने कसरतमा लागेका छन् । मन्त्रिपरिषद् पुनर्गठनसहितका एजेन्डामा छलफल गर्न शुक्रबार नेकपा सचिवालय बैठक बस्दै छ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभामा मनोनीत भएका गौतमलाई मन्त्री बन्न बाटो खुलेको छ । तर, यसले नेकपामा नयाँ विवादको सुरुवातको सम्भावना बढाएको छ । 

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित वरिष्ठ नेताहरूले नै गौतमलाई मन्त्री बनाउने एजेन्डा प्रवेश गराउने तयारी गरेका छन् । वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल गौतमसँगै प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पनि मन्त्री बनाएर सरकारको काम प्रभावकारी बनाउनुपर्ने पक्षमा छन् । श्रेष्ठ यसअघि नै राष्ट्रिय सभा सदस्य भइसकेका छन् । ०७४ को संघीय चुनावमा गौतम बर्दिया र श्रेष्ठ गोरखाबाट पराजित भएका थिए । 

Advertisement

पेरिसडाँडास्थित पार्टी कार्यालयमा पहिलोपटक बस्न लागेको सचिवालय बैठकमा गौतमसहितका नेतालाई सरकारको जिम्मेवारीमा पठाउने विषयले प्रवेश पाउन सक्ने वरिष्ठ नेता खनालले संकेत गरे । ‘पहिलो– वामदेव कमरेडलाई मेरो बधाई छ । अब शुक्रबारको बैठक हेरौँ । पार्टीले अब दिने जिम्मेवारी उहाँले सफलतापूर्वक सम्पन्न गर्नुहुनेछ ।’ 

नेकपा स्थायी कमिटी बैठकले सरकारका काम प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रस्ताव पारित गरिसकेको छ । तर, कहिलेसम्म र कसरी गर्ने भन्ने ठोस निर्णय सचिवालय बैठकले गर्दै छ । विवाद देखिए मन्त्रिपरिषद् पुनर्गठन केही समय पछाडि धकेलिन सक्ने नेताहरू बताउँछन् । 

नयाँपत्रिका दैनिकबाट । 

Advertisement

Advertisement