बीमा कम्पनीले सरकारी कर्मचारीलाई बोलाए कोरोना बीमा गर्न

Advertisement

काठमाडौं । बीमा कम्पनीहरुले सरकारी कर्मचारीहरुलाई कोरोना बीमा गराउन बोलाएका छन् । निर्जीवन बीमा कम्पनीका सिइओहरुको संस्था नेपाल बीमक संघले राष्ट्र सेवक कर्मचारीहरुलाई कोरोना बीमा गराउन सार्वजनिक सूचना प्रकाशित गर्दै आग्रह गरेको हो । 

सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्य मार्फत सबै राष्ट्र सेवक कर्मचारीहरुको एक लाख रुपैयाँ बराबरको कोरोना बीमा निःशुल्क गरिदिने व्यवस्था गरेको थियो । 
सोही निःशुल्क बीमा गराउने कार्यक्रम अन्तर्गत बीमा कम्पनीहरुले आव्हान गरेका हुन् । 

२० वटै निर्जीवन बीमा कम्पनीका कुनै पनि शाखाबाट सरकारी कर्मचारीहरुको कोरोना बीमा हुने संघले जनाएको छ । सरकारी कर्मचारीहरुले आफु कार्यरत संस्थाहरु मार्फत त्यस्तो बीमा गराउन सक्नेछन् ।  हालसम्म कोरोना बीमामा सरकारी कर्मचारीहरुको खासै आकर्षण देखिएको छैन् । 

 बीमक संघका महासचिव तथा सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हालसम्म कति सरकारी कर्मचारीको कोरोना बीमा गरियो भन्ने तथ्यांक तयार नभएको बताए ।  २० वटै बीमा कम्पनीका प्रत्येक शाखाहरुले बीमा गरिरहेकाले एकिृत तथ्यांक तयार नभएको पनि उनले जानकारी दिए ।

बीमा समितिले भदौ २८ गतेदेखि कोरोना बीमाको एकल पोलिसी बिक्रिमा रोक लगाएको छ । सामुहिक पोलिसी मात्रै बिक्रि गर्ने र संक्रमण पुष्टि भएपछि २५ हजार भुक्तानी दिने व्यवस्था गरेको छ । त्यस्तै, अस्पतालमा उपचार गरे वापत विलका आधारमा ७५ हजार रुपैयाँसम्म उपचार खर्च उपलब्ध गराउने व्यवस्था गरेको छ । यस अघि निजी ल्याबको रिपोर्टलाई मान्यता नदिने मापदण्डलाई संसोधन गरिसकेको छ । 

Advertisement

Advertisement

Advertisement