आयात २२.०७ प्रतिशतले घट्यो, निर्यात १० प्रतिशतले बढ्यो, अर्थतन्त्रका लागि ‘राम्रो संकेत’

काठमाडौं । कोरोना महामारी र निषेधाज्ञाका बीच साउन र भदौमा एक खर्ब ७८ अर्ब ८४ करोड ३४ लाख रुपैयाँको आयात भएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनामा आयात २२.०७ प्रतिशतले घटेर पौने २ खर्बमा रोकिएको हो । आर्थिक वर्ष २०७६।७७ को पहिलो दुई महिनामा त्यस्तो आयातको ग्राफ २ खर्ब २९ अर्ब ५० करोड ६ लाख रुपैयाँ थियो । 

विभागका अनुसार यो अवधीमा निर्यात भने १०.४८ प्रतिशतले बढेको छ । साउन र भदौमा २० अर्ब ४४ करोड १७ लाख रुपैयाँ बराबरको समान निर्यात भएको देखिन्छ । जबकी अघिल्लो आर्थिक वर्ष २०७६।७७ मा त्यस्तो निर्यात जम्मा १८ अर्ब ५० करोड २२ लाख रुपैयाँ बराबरको मात्रै थियो । 

आयात घटेको र निर्यात बढेको अवस्थामा भन्सार राजश्व भने २३.९६ प्रतिशतले घटेको छ । अघिल्लो साउन, भदौमा ६२ अर्ब ९१ करोड रुपैयाँ भन्सार राजश्व संकलन भएको थियो । तर यसपाली भने जम्मा ४७ अर्ब ८३ करोड रुपैयाँ मात्रै राजश्व उठेको छ ।

 भन्सार विभागका महानिर्देशक सुमन दाहालले पहिलो दुई महिनाका सूचकहरुले अर्थतन्त्रका लागि राम्रो संकेत देखाएको बताए । आयात जुन अनुपातमा घटेको छ, सोही अनुपातमा भन्सार राजश्व पनि घटेको पनि उनले बताए । तर निर्यातमा देखिएको वृद्धिले भने अर्थतन्त्रका लागि शुभ संकेत गरेको उनको भनाई छ । 

‘यस्तो विषयमा परिस्थतिमा पनि वैदेशिक व्यापार चलिरहेको छ । भन्सार प्रशासनले अन्तराष्ट्रिय व्यापारमा सहजीकरण र समन्वयको काम गरिरहेको छ । आयात करिब २२ प्रतिशतले घटेको छ, त्यहि अनुपातमा भन्सार राजश्वमा पनि संकुचन आउनु स्वभाविक नै हो ।’, महानिर्देशक दाहालले भने । उनले भन्सार प्रशासनमा सहजीकरण गर्दै आयात निर्यात व्यापारलाई सहज बनाउन आफुले कुनै कसर बाँकी नराखेको पनि बताए । 

असहज परिस्थितिका बीच पनि राम्रा संकेतहरु देखिएको दावी पनि उनले गरे । ‘असहज परिस्थितिका वाबजुद पनि निकासी १० प्रतिशतले बढ्नु भनेको राम्रो हो । आयात घट्दै जानु र निर्यात बढ्दै जानु भनेको अर्थतन्त्रको स्वास्थ्यको दृष्टिकोणले राम्रो संकेत हो । हाम्रो अर्थतन्त्र थप स्वस्थ हुँदैछ भन्न सकिन्छ ।’, महानिर्देशक दाहालले भने ।