'आत्मनिर्भर उन्मुख उद्योग भनेर पनि फुटवेयरलाई राज्यले प्राथमिकता दिएन्'

रामकृष्ण प्रसाईँ ////
कोरोना महामारीका कारण देशमा ६ महिना भन्दा बढी अवधी लकडाउन र निषेधाज्ञा भयो । अहिले बल्ल लकडाउन खुलेको छ । जनजीवन सामान्य तर्फ अघि बढ्दैछ र सबै क्षेत्रले विस्तारै उठ्ने प्रयास गरिरहेका छन् । यद्यपी कोरोना संक्रमणको त्रास भने कायमै छ । लकडाउन र निषेधाज्ञा क्रमशः खुल्दै गएको भए पनि व्यापार व्यवसायभ ने तंग्रीन सकिरहेको छैन् । 

त्यसमा पनि हाम्रो फुटवेयर क्षेत्र भनेको अनावश्यक आवश्यकता जस्तो देखिएको छ । मान्छेलाई जुत्ता चप्पल नलगाई पनि नहुने तर किनिहाल्नै पर्ने बाध्यता पनि नभएको वस्तुका रुपमा रह्यो । ६ महिनाका बीचमा जुत्ता चप्पलको माग नै भएन् । तीन चार महिना मात्रै आयु भएका हवाइ लगायतका चप्पलहरुको बाहेक अन्य उत्पादनको कुनै डिमाण्ड नै भएन् । 
मैले भर्खरै पनि केहि साथीहरुसँग कुरा गरेको थिएँ । दशैं तिहार, छठ लगायतका चाडपर्वहरुको बजारलाई क्यास गर्न पनि मुस्किल छ भन्ने गुनासो छ ।

दशैं, तिहार लगायतका चाडबाडको बजारलाई क्यास गर्न १५।२० दिनको मात्रै समय छ । मान्छे बोलाउने नयाँ उत्पादन गर्नुपर्ने अवस्था छ । बजारमा समान बिक्छ की बिक्दैन भन्ने पनि एकिन छैन् । महिनौंदेखि कच्चा पदार्थ ल्याइएको छैन् । तयार भएका समान कहाँ कसरी, कुन च्यानलबाट लगेर बेच्ने भन्ने योजना पनि छैन् । शिखर सुजको कुरा गर्ने हो भने हामी चार पाँच वटा युनिटमध्ये केहि युनिटहरुबाट केहि उत्पादन गर्दैछौं । बिराटनगरको युनिट बन्द अवस्थामा छ । अरु युनिटहरुबाट भने केहि न केहि उत्पादन गरेर दशैं अघि नै बजारमा पठाउने योजना छ । 

शिखर सुजले आफ्ना कामदारहरुलाई पनि दशैं खर्च जुटाउने वातावरण बनोस् । गोदाममा रहेका कच्चा पदार्थहरुको उपयोग पनि होस् । नयाँ जुत्ता लगाउन चाहने उपभोक्ताहरुले पनि नेपाली उत्पादन उपयोग गर्न पाउन भन्ने योजना हो । दुई चार दिनमा कुल क्षमताको २५ प्रतिशत जति उत्पादन गरेर बजारमा पठाउँदैछौं । साउनदेखि छठसम्मको अवधीले ३० देखि ४० प्रतिशतसम्मको हिस्सा ओगट्छ । अहिले त्यसको १० देखि १५ प्रतिशत बजारमा मात्रै लिन सकियो भने पनि ठूलो उपलब्धि हुनेछ । त्यतिबेला कोरोनापछि सबै भन्दा फस्टाएको व्यवसाय जुत्ता चप्पलकै हो भन्न सकिन्छ ।

 हाम्रो अहिलेको मुल ध्येय भनेको गोदाममा रहेका कच्चा पदार्थहरुको उपयोग गरौं, महिनौदेखि घरमै बस्न बाध्य भएका कामदारहरुलाई दशैं मान्न पुग्ने आम्दानीको व्यवस्था गरौं भन्ने नै हो । अहिले उद्योग चलाएर कमाउने भन्ने सोच हुँदै होइन्, खाली मजदुर तथा कामदारहरुले रमाइलोसँग दशैं मनाउने वातावरण बनोस भन्ने मात्रै हो ।

अहिले कुनै पनि क्षेत्रमा त्यस्तो व्यवसाय हुने सम्भावना छैन् । अबको दुई/तीन महिना संघर्षपूर्ण नै छ । नेपालमा फुटवेयरमा ५० अर्ब भन्दा बढीको लगानी छ । नेपालमा बार्षिक ८ देखि ९ करोड जोर जुत्ता खपत हुन्छ । ५० प्रतिशत हिस्सा नेपाली उत्पादनको छ । नेपाली उद्योगहरुले बार्षिक १५ देखि १६ करोड जोरसम्म उत्पादन गर्न सक्ने क्षमता राख्छन् । पूर्वाधारका हिसाबले हामी आत्मनिर्भर भएर पनि ठूलो मात्रामा निर्यात गर्न सक्ने हैसियतमा छौं । अहिले ५० प्रतिशत बजार नेपाली उत्पादनहरुले ओगटेका छन् । 

अहिले देशभर फुटवेयर क्षेत्रमा करिब एक लाख नेपालीको रोजीरोटी जोडिएको छ । उद्योग पुरै ठप्प भएका छन् । मजदुरहरु काम बिहिन बन्न पुगेका छन् । तर राज्यले हामीले हेरिरहेको छैन् । कपडा उद्योग चाँही आवश्यक पर्ने तर जुत्ता नपर्ने भन्ने हुन्छ ? राज्यबाट अहिले पनि हामी उपेक्षित छौं । हामीले जतिसुकै योगदान गरेपनि राज्यले हामीलाई प्राथमिकतामा राखेर नीति निर्माण गरेन् । त्यसमा हाम्रो पनि लबिङ पुगेन होला । तर पनि सरकारहरुले हाम्रो योगदानलाई कहिल्यै बुझेनन् । बजेटदेखि मौद्रिक नीति हुँदै बैंकहरुको कर्जा नीतिलाई सम्म हेर्ने हो भने पनि हामी प्राथमिकतामा छैनौं । 

कपडाले मान्यता पाउँदा, सहयोग पाउँदा जुत्ता चप्पलले चाँही केहि पनि नपाउने ? नेपाल राष्ट्र बैंकले केहि समय अघि ल्याएको मौद्रिक नीतिले पनि फुटवेयर क्षेत्रलाई कुनै सम्बोधन गरेन । बैंक, राज्य, राजश्व सबैले हेपेको क्षेत्र भनेकै यहि हो । अर्थमन्त्रीले आत्मनिर्भर उन्मुख उद्योगमा फुटवेयरलाई समावेश गर्नु भएको थियो । आत्मनिर्भर उन्मुख १२ उद्योग भित्र राखेर पनि सहुलियत दिनुपर्छ भन्ने चाँही उहाँले पनि सोच्नु भएनछ । –शिखर सुजका प्रबन्ध निर्देशक प्रसाईसँग गरिएको कुराकानीमा आधारित)