काठमाडौं । औषधि उद्योगमा परिचित नाम देउराली जनता फर्मास्युटिकल्स प्रालि नगद प्रवाह संकटमा परेको छ । कोरोना महामारी र त्यसलाई नियन्त्रण गर्न लागू गरिएको लकडाउन तथा निषेधाज्ञाका कारण बजारबाट पैसा उठ्न नसक्दा कम्पनीको नगद प्रवाहमा असर परेको हो ।
बजारमा माग ४० प्रतिशतले घट्नु, बार्षिक कारोबारको २० प्रतिशतभन्दा बढि रकम महामारीलाई देखाउँदा सम्वन्धित पक्षले भुक्तानी गर्न आनाकानी गर्नु, जहाजहरु नचल्दा बाहिरबाट कच्चा पदार्थ आयात गर्न नसक्नु जस्ता कारणले उद्योग पटक पटक बन्द गर्दै खोल्दै चलाउनु परेको उद्योगका कार्यकारी निर्देशक हरिभक्त शर्माले जानकारी दिए ।
उनले भने, ‘अहिले निकै गम्भीर बिरामी भयो भने मात्रै अस्पतालहरुले भर्ना लिन्छन् । बिरामीहरु सहजरुपमा गएर आफ्नो उपचार गर्नसक्ने अवस्था नभएपछि औषधिको खपत बढ्ने कुरै भएन् । माग नै नभएपछि औषधि बढि उत्पादन गर्ने कुरा भएन । अर्कोतर्फ औषधि नगदमा बिक्री हुँदैन् । उधारोमा बजारमा गएको औषधिको भुक्तानी आउन सकेको छैन् । यस्तो बेलामा भुक्तानी माग्न पनि समस्या छ । कच्चा पदार्थ आयातमा त्यस्तै समस्या भोग्नु परेको छ ।’
औषधि उद्योगलाई त चल्न यस्तो गाह्रो भएको छ भने अरु उद्योगहरुको अवस्था के होला ? भन्दै शर्माले आफूहरुलाई परेको समस्याबारे सरकारी पक्षलाई पनि जानकारी गराइएको बताएका छन् । उनका अनुसार उद्योगहरु गम्भीर समस्यामा छन् । धेरै आर्थिकरुपमा जर्जजर भएका छन् । नगद प्रवाह मात्रै सहज हुने हो भने पनि उनीहरु रिभाइज हुने प्रयासमा लाग्नेथिए । यो समस्या समाधान गर्न सरकारले छुट्टै कोष बनाएर उद्योगहरु चल्ने बाताबरण बनाइदिनुपर्नेमा त्यसतर्फ सरकारको सदारुपता नदेखिएको बताए ।