राजश्व अनुसन्धानको एक्सनः  ३६ करोड  ८९ लाख राजश्व छलि गर्नेहरु विरुद्ध मुद्दा दर्ता

Advertisement

काठमाडौँ । राजश्व अनुसन्धान विभागले झुट्टा तथा नक्कली मूल्य अभिबृद्धि कर बिजक प्रयोग गरी ३६ करोड  ८९ लाख ६५ हजार ५ सय ७२ रुपियाँ राजश्व छली गर्ने फर्महरु विरुद्ध मुद्दा दायर गरेको छ । 

विभागले काठमाडौँ महानगरपालिका ३२ मा रहेको विग प्लान सप्लायर्स÷विग प्लान ब्याग उद्योग, भक्तपुर स्थित एपी ट्रेड एण्ड सप्लायर्स र बनेपा स्थित सम्मानित ट्रेड कन्सर्नका सञ्चालन तथा प्रोप्राइटर तथा मुख्य कारोबार रामप्रसाद चौलागाई सहित ३ जना बिरुद्ध २५ करोड ५७ लाख ९७ हजार ६८ रुपियाँ को बिगो असुल गरी जरिवाना र कैद माग दाबी सहित आइतबार उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हो । 

Advertisement

ती फर्महरुले वस्तु तथा सेवा खरिद नै नगरी झुट्टा तथा नक्कली मूल्य अभिबृद्धि कर बिजक मात्र खरिद गरी मूल्य अभिबृद्धि कर र आयकर समेतको राजश्ज चुहावट गरेको पाइएको विभागले आज प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ । 

त्यसैगरी चितवनको भरतपुर २ स्थित सन्तोषी निर्माण सेवा प्रालिका सञ्चालक÷प्रबन्ध निर्देशक केशबराज कँडेल समेत ३ जनाबाट ६ करोड २२ लाख ७४ हजार २ सय २८ रुपियाँ बिगो असुल गरी जरिवाना र कैद माग दाबी सहित भदौ ११ गते उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको विभागले जनाएको छ । 

उक्त कम्पनीले समेत वस्तु तथा सेवा खरिद नै नगरी झुट्टा तथा नक्कली मूल्य अभिबृद्धि कर बिजक मात्र खरिद गरी मूल्य अभिबृद्धि कर र आयकर समेतको राजश्ज चुहावट गरेको पाइएको छ ।  
त्यसैगरी ललितपुर महानगरपालिका १३ स्थित स्काई लाइन ट्रेडर्स एण्ड सप्लायर्सका प्रोप्राइटर वीरेन्द्रकुमार चौधरी, यति इन्टरनेशनलका प्रोप्राइटर उषाकुमारी चौधरी र रिवाज इन्टरनेशनल प्रालिका सञ्चालक हर्ष चौधरी समेतबाट ५ करोड ८ लाख ९४ हजार २ सय १६ रुपियाँ बिगो असुल गरी जरिवाना र कैद माग दाबी लिई साउन २२ गते उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको समेत विभागले आजै विज्ञप्ति प्रकाशित गरी जनाएको छ । 

यी फर्महरुले समेत वस्तु तथा सेवा खरिद नै नगरी झुट्टा तथा नक्कली मूल्य अभिबृद्धि कर बिजक मात्र खरिद गरी मूल्य अभिबृद्धि कर र आयकर समेतको राजश्व चुहावट गरेको पाइएको विभागले जनाएको छ ।  

Advertisement

Advertisement