गुपचुपरुपमा हिमालयलाई ग्राउण्ड ह्याण्डलिङ सेवा दिएको खुलासा, करोडौं रुपियाँ चलखेलको आशंका

Advertisement

काठमाडौं । पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले गुपचुपरुपमा चिनियाँ लगानीको हिमालय एयरलाइन्सलाई ग्राउण्ड ह्याण्डलिङ सेवा दिएका छन् । राष्ट्रिय ध्वजाबहाक जहाज उडाउने नेपाल वायुसेवा निगमले स्थापनादेखि सञ्चालन गर्दै आएको यो सेवा पर्यटनमन्त्री भट्टराई र निगमका कार्यकारी अध्यक्ष सुशील घिमिरे मिलेर गोप्यरुपमा हिमालय एयरलाइन्सलाई दिइएको खुलेको हो । 

यस्तो महत्वपूर्ण निर्णय गर्दा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई समेत कुनै जानकारी नदिइएको प्राधिकरणका अधिकारीहरुले बताएका छन् । अरु दर्जन बढि जहाजहरु थप्ने तयारी गरेको हिमालय एयरलाइन्सलाई ग्राउण्ड ह्याण्डलिङ सेवा दिँदा मुलुकलाई दशौं करोड रुपियाँ नोक्सान हुने जानकारहरु बताउँछन् । हिमालय एयरलाइन्स यति समूहको लगानी रहेको कम्पनी हो । यति समूह थुप्रै अनियमितता र विवादमा पर्दै आएको समूह हो । 

Advertisement

गोप्यरुपमा गरिएको निर्णयको खुलासा हुनासाथै निगमको काँग्रेसनिकट कर्मचारी संघले बिहीबार निगमका कार्यकारी अध्यक्ष घिमिरेलाई ज्ञापनपत्र बुझाएर विदेशी कम्पनीलाई ग्राउण्ड ह्याण्डलिङ सेवा दिने निर्णय फिर्ता गर्न चेतावनी दिएको छ । 

हवाई माफियाको स्वार्थमा निगमलाई धरासायी बनाउने र राज्यलाईसमेत ठूलो नोक्सान हुनेगरी गरिएको यस निर्णयले निगमका कर्मचारीहरुको भविश्यसमेत अन्योलमा परेको भन्दै संघले निर्णय फिर्ता नभए आन्दोलनमा उत्रिन आफूहरु बाध्य हुने चेतावनी दिएको छ । 

निगमको सञ्चालक समितिमा हिमालय एयरलाइन्स र यति एयरलाइन्समा समेत लगानी गर्नेलाई सञ्चालक बनाइएको छ । निगमका कार्यकारी अध्यक्ष घिमिरे पूर्वपर्यटनसचिव हुने । सचिव हुँदादेखि नै निकै विवादित र आलोचित रहँदै आएका उनलाई भट्टराईले आफू मन्त्री हुनासाथै निगम सुधारको सुझावका लागि भनेर कार्यदल बनाई त्यसको संयोजक तोकेका थिए । उक्त कार्यदलले निगमलाई निजीकरण गर्न पनि सुझाव दिएको थियो । घिमिरे निगमको न्यारोबडी जहाज खरीदको कमिशन काण्डमासमेत मुछिएका व्यक्ति हुन् । 

निगमका कर्मचारीहरुले मन्त्रीसँगको मिलेमतोमा निगमलाई धरासायी बनाउने र निजी कम्पनीहरुलाई सोस्ने काममा सुनियोजितरुपमा लागेको बताउँदै ग्राउण्ड ह्याण्डलिङ सेवा विदेशी कम्पनीलाई दिने निर्णयको छानविन र दोषीहरुलाई कारवाही हुनुपर्ने माग पनि गरेको छ । 

उनीहरुले उद्दार उडानका नाममा आफू निकट ट्राभल एजेन्सीहरुलाई टिकट काट्न दिने र त्यसबाट पनि लाखौं रुपियाँ कमिशन लिने काम गर्दै आएको भन्दै यस विषयको पनि छानविन जरुरी रहेको बताएका छन् । 

मन्त्री भट्टराईले यही सेप्टेम्बर १६ तारिखमा हिमालयलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्ना जहाजहरु ग्राउण्ड ह्याण्डलिङ दिने निर्णय गरेका थिए । उक्त निर्णयसँगै बाँकी विदेशी एयरलाइन्सहरुको ग्राउण्ड ह्याण्डलिङ पनि विदेशी कम्पनीलाई दिन बाटो खुलेको छ । 

Advertisement

Advertisement