यति समूहको लगानी रहेको हिमालयलाई दोस्रो अन्तर्राष्ट्रिय उडानको लाइसेन्स

Advertisement

काठमाडौं । हिमालय एयरलाइन्समार्फत अन्तर्राष्ट्रिय उडान गरिरहेको यती समूहलाई सरकारले दोस्रो अन्तर्राष्ट्रिय उडानको लाइसेन्स दिएको छ । २०६४ सालमा यती समूहले फ्लाई यतीको नाममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट लाइसेन्स लिएको थियो, जुन लाइसेन्सबाटै तिब्बती एयरलाइन्सको सहकार्यमा २०७१ मा हिमालय एयरलाइन्स स्थापना गरिएको थियो । 

हाल हिमालयले ४ वटा जहाजमार्फत १० वटा गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । हिमालय एयरलाइन्समा बहुमत सेयर अहिले पनि यती समूहकै रहेको छ । सोही समूहको यती एयरलाइन्सलाई पर्यटन मन्त्रालयले अन्तर्राष्ट्रिय चार्टर उडानको लाइसेन्स जारी गरेको छ । 

Advertisement

पर्यटन मन्त्रालयले गत १७ वैशाखमा अन्तर्राष्ट्रिय उडानको लाइसेन्सका लागि सार्वजनिक सूचना जारी गरेको थियो । यतीले २९ जेठमा आवेदन दिएको थियो । पर्यटन मन्त्रालयले बनाएको नयाँ कार्यविधिअनुसार पाँचवटा जहाजमार्फत पाँच वर्षसम्म नियमित उडान गर्ने कम्पनीले अन्तर्राष्ट्रिय उडानमा विस्तार गर्न पाउने प्रावधान छ । सोहीअनुसार माग गरिएको आवेदनमा यती समूहको मात्रै आवेदन परेको थियो । कार्यविधिमा एकै कम्पनीले लाइसेन्स लिएर अन्तर्राष्ट्रिय उडान गरिरहेको अवस्थामा अर्को लाइसेन्स दिन मिल्ने–नमिल्ने उल्लेख गरिएको छैन । 

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement